राजा हुसैन
महोत्तरी। सोनमा गाउँपालिका–१ मा रहेको सरकारी पोखरी संरक्षण अभावका कारण दिनप्रतिदिन जीर्ण बन्दै गएको छ। सरकारी स्वामित्वमा रहेको उक्त पोखरी हाल सम्बन्धित विद्यालयको मातहतमा भए पनि प्रभावकारी व्यवस्थापन नहुँदा अस्तित्व संकटतर्फ धकेलिँदै गएको देखिएको छ।
स्थानीयका अनुसार लामो समयदेखि उचित सरसफाइ र संरक्षणको अभावमा पोखरी झारपातले पूर्ण रूपमा ढाकिएको छ भने वरपर फोहोर थुप्रिँदै गएको छ। जसका कारण वातावरणीय प्रदूषण मात्र नभई स्थानीय बासिन्दाको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्ने खतरा बढेको छ।
स्थानीयवासीहरूले विगतदेखि नै जिम्मेवार निकायको बेवास्ता हुँदै आएको गुनासो गरेका छन्। उनीहरूका अनुसार पूर्व मेयर राजकुमार यादवको कार्यकालमा पनि पोखरी संरक्षणमा कुनै ठोस पहल भएन भने वर्तमान मेयर विशेश्वर प्रसाद यादवको कार्यकालमा समेत अवस्था सुधार हुन सकेको छैन।

त्यस्तै, लगातार दुई कार्यकाल निर्वाचित वडाध्यक्ष अशोक कुमार यादवले समेत यस विषयमा आवश्यक चासो नदेखाएको आरोप स्थानीयले लगाएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र यादव तथा ठेकदार राम जीवन यादवमाथि पनि आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।
स्थानीयका अनुसार उक्त पोखरी सरकारी स्कुलको मातहतमा रहेकाले यसको संरक्षण, सरसफाइ र दीर्घकालीन व्यवस्थापनको प्रमुख जिम्मेवारी विद्यालय प्रशासन र स्थानीय तहकै हो। तर जिम्मेवार निकायबीच समन्वय अभाव हुँदा समस्या झन् जटिल बन्दै गएको उनीहरूको भनाइ छ।

स्थानीय बासिन्दाले तत्काल सरोकारवाला निकाय—गाउँपालिका, वडा कार्यालय तथा विद्यालय व्यवस्थापन समितिले संयुक्त रूपमा पहल गरी पोखरीको संरक्षण, सौन्दर्यकरण र नियमित अनुगमन गर्न माग गरेका छन्।






