जनकपुरधाम । घरेलु हिंसा, विभेद, दुव्र्यवहार जस्ता विषय सामान्यतया ठूलाबडाका बहसमा सीमित हुन्छन् । समाजमा बालिका तथा किशोरीहरूले भोगिरहेका समस्याहरु प्रायः उनीहरूको आवाज बिना नै छलफल पनि हुन्छ । तर यसपटक यिनै मुद्दा बालिका तथा किशोरीहरूले आफ्नै हातले कोरेका चित्र र सिर्जनामार्फत सार्वजनिक गरेका छन् ।
जनकपुरधाममा आयोजित तीनदिने ‘आर्ट इज पावर’ कार्यशालामा भने बालिका तथा किशोरीहरूले आफ्ना अनुभव, चिन्ता र सपनालाई आफैंले चित्र र सिर्जनामार्फत अभिव्यक्त गरेका छन् । उनीहरूको क्यानभासमा केवल रङ मात्र थिएन, त्यहाँ हिंसा, विभेद, असमानता, जलवायु संकट र परिवर्तनको आकांक्षा पनि स्पष्ट देखिन्थ्यो ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सामुदायिक परिवार कल्याण संघले सञ्चालन गरेको सशक्त बालिका परियोजना अन्तर्गत धनुषाको विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकाका ११ देखि १८ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कार्यशालामा सहभागी गराइएको थियो । तीन दिनसम्म उनीहरूले आफूले देखेका, भोगेका र महसुस गरेका सामाजिक तथा वातावरणीय मुद्दालाई चित्रकला र साहित्यका माध्यमबाट प्रस्तुत गरेका छन्् ।

प्रदर्शनीमा राखिएका चित्रहरूले घरेलु हिंसा, बालविवाह, लैङ्गिक विभेद, दुव्र्यवहार र शिक्षा तथा अवसरमा असमान पहुँचजस्ता समस्यालाई चित्रण गरेका थिए । कतिपय चित्रमा बालिकाहरूले समाजले उनीहरूमाथि लगाउने सीमारेखा र त्यसलाई तोड्दै अगाडि बढ्ने चाहनालाई कलात्मक रूपमा प्रस्तुत गरेका थिए ।


तर यसपटक प्रदर्शनीको अर्को महत्वपूर्ण पक्ष जलवायु परिवर्तनसँग सम्बन्धित सिर्जना रहेको छ । बालबालिकाले आफ्नो वरिपरि देखिएका वातावरणीय समस्यालाई पनि चित्रमार्फत उजागर गरेका थिए। बढ्दो गर्मी, लामो खडेरी, पानीका स्रोत सुक्दै जानु, अनियमित वर्षा, बाढी–डुबान, फोहोर व्यवस्थापनको समस्या र हरियाली घट्दै गएको अवस्थालाई उनीहरूले आफ्ना चित्रमा उतारेका थिए ।
कतिपय चित्रमा सुख्खा जमिन, चर्किएको खेत, पानीको अभावमा संघर्ष गरिरहेका समुदाय र रुखविहीन वातावरण देखाइएको थियो भने केही चित्रले बाढी र डुबानका कारण प्रभावित जनजीवनलाई चित्रण गरेका थिए । बालबालिकाले जलवायु परिवर्तन केवल विश्वव्यापी बहसको विषय मात्र नभई आफ्नो दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको समस्या भएको सन्देश दिएका थिए ।
कार्यशालाको उद्देश्य बालबालिकालाई सिर्जनात्मक अभिव्यक्तिको माध्यम उपलब्ध गराउनु मात्र नभई उनीहरूले भोगिरहेका सामाजिक र वातावरणीय समस्याबारे समुदायलाई सचेत गराउनु पनि रहेको कार्यक्रम संयोजक मोमताज राय भाटले बताए । कला उनीहरूका लागि मनोरञ्जनको माध्यम मात्र नभई आफ्नो आवाज नीति निर्माता, अभिभावक र समाजसम्म पु¥याउने शक्तिशाली उपकरण बनेको उनको भनाई थियो ।
कार्यक्रमको समापन समारोहमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दासले बदलिँदो समयसँगै परम्परागत शिक्षाभन्दा सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए । मधेशमा बेरोजगारी बढ्दै जानुको एक कारण व्यवहारिक सीपको अभाव रहेको उल्लेख गर्दै उनले युवालाई रोजगार र उद्यमशीलतासँग जोड्ने शिक्षा प्रणाली आवश्यक रहेको धारणा राखे । उनले कला र सिर्जनशीलतालाई पनि सीप विकासको महत्वपूर्ण पक्षका रूपमा हेर्नुपर्ने बताए ।
त्यसैगरि, कार्यक्रममा मधेश प्रदेशका महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रुपा यादव ले सहभागी किशोर–किशोरीसँग अन्तरक्रिया गर्दै उनीहरूको जिज्ञासाको जवाफ दिएकी थिइन् । सहभागीहरूले बालिका अधिकार, शिक्षा, रोजगारी, लैङ्गिक समानता र वातावरण संरक्षणका विषयमा आफ्ना प्रश्न तथा धारणा राखेका थिए ।
प्लान इन्टरनेशनल नेपालकी शिखा थापाले कला कार्यशालाले बालिकाहरूको आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई आफ्ना भावना र अनुभव अभिव्यक्त गर्ने अवसर प्रदान गरेको बताइन् ।







