LIVE
कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड | नीति तथा कार्यक्रम सर्वसम्मत पारित, टुक्रे योजना भन्दा ठूला आयोजनामा लगानी | नेपाल पत्रकार महासंघ धनुषाद्वारा जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना | एसईईमा जफत गरिएका मोबाइल नष्ट गरिएको घटनामा सर्वोच्चद्वारा जवाफ माग | मिसावटयुक्त खाद्य पदार्थले उत्पदान गर्ने मधेश प्रदेशका ४१ उद्योग विरुद्ध मुद्दा | दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय | मधेस आन्दोलनका शहिद परिवार तथा घाइतेहरुले गरे मधेस भवन अगाडि प्रदर्शन | मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरूद्वारा जनकपुरधाममा प्रदर्शन | परीक्षामा जफत गरिएको मोबाईल नष्ट गर्ने प्रशासनको निर्णय विवादमा, विद्यार्थिहरु आन्दोलित | जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा |

जनकपुरधाम । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर विवाद चर्किरहेका बेला संस्थापन पक्षप्रति असन्तुष्ट नेताहरूले मधेश प्रदेशमा छुट्टै प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गरेका छन् ।

पुर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पुर्व उपसभापति विमलेन्द्र निधि निकट नेता तथा अन्य असन्तुष्ट समूहको पहलमा जनकपुरधाममा आयोजित भेलामा मधेश प्रदेशका आठवटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । आठ जिल्लामध्ये महोत्तरीका सभापति नागेश्वर यादव र बाराका सभापति राजेशप्रसाद राय यादव पनि भेलामा सहभागी भएका थिए ।

बाराका सभापति राजेशप्रसाद राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्वउपसभापति विमलेन्द्र निधि सहभागी थिए ।

कार्यक्रममा पुर्वकेन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, गुरुप्रसाद बराल, पूर्वसहमहामन्त्री उमाकान्त चौधरी, संविधानसभा सदस्य प्रेमकिशोर शाहलगायत नेताहरूको उपस्थिति रहेको थियो।

यद्यपि, भेलामा संघीय संसद् तथा मधेश प्रदेशसभाका सांसदहरूको उपस्थिति देखिएन। विशेष महाधिवेशनको विपक्षमा रहेका समूहहरूले केही दिनअघि मधेश प्रदेशस्तरीय भेलाको संयोजनको जिम्मेवारी पूर्वसांसद आनन्द ढुंगानालाई दिएका थिए ।

भेलालाई सम्बोधन गर्दै पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको एकता कायम राख्न भेला आयोजना गरिएको दाबी गरे। उनले भने, ‘पार्टीभित्र एकता नभएकै कारण हामी एकताको पक्षमा जोड दिइरहेका छौं। यदि एकता कायम भएको भए यो प्रदेशस्तरीय भेलाको उद्देश्य फरक हुन्थ्यो।’

कांग्रेसले विगतमा जनताको अधिकार, शासन व्यवस्था परिवर्तन तथा संविधान निर्माणका लागि सञ्चालन गरेका आन्दोलनहरू पार्टीभित्रको एकताकै कारण सफल भएको उनले बताए। ‘जब–जब नेपाली कांग्रेस कमजोर हुन्छ, तब–तब मुलुकमा अधिनायकवादी र तानाशाही प्रवृत्ति बलियो बन्छ। कांग्रेसभित्रको एकता कमजोर भएकै कारण आज यस्तो अवस्था सिर्जना भएको हो,’ निधिले भने।

कार्यक्रममा बोल्दै आनन्द ढुंगानाले विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले पार्टीको एकता कायम गर्न पर्याप्त चासो नदिएको आरोप लगाए। उनले भने, ‘कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट्दा तपाईंहरूले उठाएका विषय सही छन्, यसबारे छलफल गर्छौं भन्ने आश्वासन दिइन्छ । तर ती विषय सम्बोधन गर्ने दिशामा ठोस पहल भएको देखिएको छैन। त्यसैले पार्टी एकता कायम गर्न यो प्रदेशस्तरीय भेला आयोजना गरिएको हो ।’

पूर्वसहमहामन्त्री उमाकान्त चौधरीले पनि लामो समयदेखि कांग्रेसमा योगदान पु¥याएका नेता तथा कार्यकर्ताको सम्मान र उचित मूल्यांकन हुनुपर्ने धारणा राखे । महोत्तरीका सभापति नागेश्वर यादवले पार्टीभित्रको आन्तरिक द्वन्द्वकै कारण गत निर्वाचनमा कांग्रेस कमजोर बनेको दाबी गरे।

उनले भने, ‘पार्टीको एकता कायम रहेको भए यस्तो अवस्था आउने थिएन। यो कांग्रेस छोड्ने अभियान होइन, न कुनै पदका लागि गरिएको विवाद हो। लामो समयदेखि पार्टीमा योगदान दिँदै आएका कार्यकर्ताको सम्मान हुनुपर्छ भन्ने मात्र हाम्रो उद्देश्य हो।’
कांग्रेसभित्र विशेष महाधिवेशनको बहससँगै बढ्दो असन्तुष्टि र गुटीय ध्रुवीकरणका बीच आयोजित यो भेला संस्थापन पक्षमाथि राजनीतिक दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ ।

असन्तुष्ट पक्षले प्रदेशस्तरमै आफ्नो शक्ति प्रदर्शन गर्दै पार्टी नेतृत्वलाई स्पष्ट सन्देश दिन खोजेको नेताहरूको भनाइ छ ।

पछिल्लो समय कांग्रेसभित्र विशेष महाधिवेशन, संगठनात्मक संरचना तथा नेतृत्वको भूमिकालाई लिएर मतभेद बढ्दै गएकाले पार्टीको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको छ ।

सम्बन्धित खबर