LIVE
भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन | मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह |

जनकपुरधाम । भारी वर्षाको चेतावनीसँगै बाढी, डुबान र नदी कटानको जोखिम बढेपछि मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षा तथा विपद् व्यवस्थापन संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ । सम्भावित विपद्पछि उद्धारका लागि पर्खिनुभन्दा जोखिमयुक्त क्षेत्रको पहिचान, जनशक्ति परिचालन र आवश्यक सामग्री पूर्वतयारीमा राख्ने रणनीति अपनाइएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखिएको प्रदेश प्रहरीले जनाएको छ । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीका अनुसार प्रदेशका सबै सुरक्षा संयन्त्रलाई विपद् व्यवस्थापनका लागि ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिएको छ ।

प्रदेशका आठवटै जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई सम्भावित जोखिमयुक्त क्षेत्र पहिचान गरी स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरेर सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको उनले बताए । बाढी, डुबान तथा अन्य विपद्का बेला तत्काल परिचालन गर्न सकिने गरी जनशक्ति र आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखिएको उनले बताए । बाढी,डुबान तथा जेमिखयुक्त क्षेत्रका प्रहरी माईकिङग गरेर महिला, बालबालिका, वृद्ध नागरिक, महत्वपुर्ण कागजात तथा बहुमुल्य समानहरु अन्त्य सुरक्षित स्थानमा सार्न अनुरोध गरिरहेको छ र सोही अनुसार धेरैले सार्ने काम गरिरहेको उनले बताए ।

राजमार्गमा निर्माणाधीन पुल, सडक तथा अन्य जोखिमयुक्त संरचनामा आकस्मिक बाढी आउन सक्ने सम्भावनालाई समेत ध्यानमा राख्दै निगरानी बढाइएको छ । प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगञ्ज र जनकपुरधामलाई पनि उद्धार तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले समेत सुरक्षा निकायलाई उच्च सतर्कतासहित परिचालन हुन निर्देशन दिएको छ । बैठकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच प्रभावकारी समन्वय गर्दै सम्भावित क्षति न्यूनीकरण र उद्धार कार्यलाई चुस्त बनाउने निर्णय गरेको छ ।

प्रदेशमा जोखिमको प्रकृति भने जिल्ला अनुसार फरक छ । रौतहटमा बागमती र लालबकैया, धनुषामा कमला, जलाद र औरही, सिरहामा कमला, बलान तथा स्थानीय खोला र सप्तरीमा सप्तकोशीसहित खाँडो, महुली, जिता र बलान नदी तथा खोलाको बहाव बढ्दा तटीय बस्ती प्रभावित हुने जोखिम छ ।

सर्लाहीमा बागमती, लखनदेई र मनुसमारा तथा महोत्तरीमा रातु, मडाहा, बिग्ही र अङ्कुशी नदीका कारण बाढी तथा कटानको जोखिम रहने गरेको छ । बारा र पर्सामा भने चुरे क्षेत्रबाट बग्ने खोलामा अचानक आउने बाढी, कटान र पानीको तीव्र बहाव प्रमुख जोखिमका रूपमा देखिन्छन् । मधेश प्रदेशको राजधानि जनकपुरधामलगायत प्रदेशका शहरी क्षेत्रमा भने नदीको बाढीभन्दा वर्षाको पानी निकास नहुँदा डुबानको समस्या दोहोरिने गरेको छ । यसले मधेशमा बाढीको जोखिम केवल ठूला नदीसँग मात्र सीमित नभई सहरी जलनिकास, स्थानीय खोला र कमजोर संरचनासँग समेत जोडिएको देखाउँछ ।

यसैबीच, स्थानीय तहहरूले पनि सम्भावित विपद्लाई ध्यानमा राख्दै नागरिकलाई पूर्वसावधानी अपनाउन आग्रह गरेका छन् । धनुषाको हंसपुर नगरपालिका र बटेश्वर गाउँपालिकाले असोज ९ देखि ११ गतेसम्म भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेका छन् ।

हंसपुर नगरपालिकाले हावाहुरीका क्रममा उड्न सक्ने टिन, होर्डिङ बोर्डलगायतका सामग्री सुरक्षित स्थानमा राख्न तथा घरका छाना र झ्यालढोका सुरक्षित बनाउन आग्रह गरेको छ । विद्युतका पोल तथा तार, रुख र कमजोर संरचनाको आसपास नबस्न तथा हावाहुरी चलेका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि अनुरोध गरिएको छ ।

महोत्तरीमा जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई उद्धार टोली, राहत सामग्री र हेभी उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । प्रशासनले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनलाई आधार बनाउँदै असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले तत्काल आवश्यक पूर्वतयारी गर्न स्थानीय तहलाई आग्रह गरेको हो । पर्सामा पनि जिल्ला विपद् व्यवस्थापन समितिले शुक्रबारदेखि आइतबारसम्म हुनसक्ने अति भारी वर्षा, बाढी, डुबान, मेघगर्जन, चट्याङ तथा हावाहुरीको जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ अनुसारका रणनीति तत्काल कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली भारतको आन्ध्र प्रदेश र दक्षिण ओडिशा तट हुँदै उत्तर–पश्चिमतर्फ सर्दै गएको छ । उक्त प्रणालीको प्रभावका कारण कोशी, मधेश तथा बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । मौसम प्रणालीको प्रभावसँगै छोटो अवधिमा ठूलो पानी परेमा मधेशका नदी तथा खोलामा बहाव बढ्नुका साथै सहरी क्षेत्रमा डुबान र चुरेबाट आउने आकस्मिक बाढीको जोखिम बढ्न सक्ने देखिएको छ ।

सम्बन्धित खबर