जनकपुरधाम । मधेश प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि स्थानीय उद्यमशीलताको प्रवद्र्धन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।
ग्लोबल इन्टरप्रेन्योरशिप सप्ताह २०२६ को अवसरमा शनिबार जनकपुरधाममा आयोजित ‘अर्थतन्त्र निर्माणमा उद्यमीहरूको भूमिका’ विषयक प्यानल संवादमा सहभागी वक्ताहरूले उद्यमीलाई आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनीहरूले मधेश प्रदेशमा उद्यमशीलताको पर्याप्त सम्भावना रहे पनि नीतिगत जटिलता, संस्थागत कमजोरी, लगानीमैत्री वातावरणको अभाव तथा दक्ष जनशक्तिको कमीले अपेक्षित रूपमा उद्योग तथा व्यवसाय विस्तार हुन नसकेको धारणा राखे ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन प्राध्यापक प्रा.डा. बिनोद साह, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका कार्यकारी निर्देशक प्रदीप दत्त, महिला उद्यमी सुनैना ठाकुर र मोनास्टिक एजुकेशन ग्रुपका अध्यक्ष डा. सोनु कुमारले उद्यमशीलताको विकास, निजी क्षेत्रको भूमिका र मधेशको आर्थिक सम्भावनाबारे विचार राखेका थिए । संवादको सहजीकरण आर्थिक पत्रकार समाज नेपालका सदस्य तथा प्रदेश संयोजक हदिस खुद्दारले गरेका थिए । कार्यक्रममा उद्घाटन मन्तव सञ्चार उद्यमी नविन साहले राखेका थिए ।

वक्ताहरूले युवामा उद्यमशील सोच विकास गर्न विद्यालय तथा विश्वविद्यालय तहदेखि नै व्यावहारिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । परम्परागत शिक्षाले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र तयार पारिरहेको भन्दै उनीहरूले शिक्षालाई सीप, प्रविधि, उत्पादन र बजारसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । उद्यम सुरु गर्न चाहने युवालाई पुँजी, प्रविधि, बजार र आवश्यक परामर्श उपलब्ध गराउन सरकार तथा निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा मधेश प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री युवराज भट्टराईले उद्यमीहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा उनले आफ्नो नेतृत्वमा ल्याइएको आर्थिक वर्ष २०८३/०८४ को बजेटमा नवउद्यमीलाई प्रोत्साहन र प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम समेटिएको दाबी गरे ।
प्रदेशलाई आर्थिक रूपमा समृद्ध बनाउन सरकारको एकल प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै उनले उद्योगी, व्यवसायी, वित्तीय संस्था तथा अन्य सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए । निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीले मात्र प्रदेशको आर्थिक विकासले गति लिने उनको भनाइ थियो ।
कार्यक्रममा उद्यमशीलता, नवप्रवर्तन तथा स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउँदै आएका छ जना उदाउँदा उद्यमीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा आशिका गिरी, काजल झा, बृजकिशोर मल्लिक डोम, जुली कुमारी झा, ललित नारायण झा र उत्सव गुप्ता रहेका छन् ।

उनीहरूलाई क्रमशः आशुतोष बहुउद्देशीय तथा साना घरेलु उद्योग, दामी आट्र्स, बाँसको शिल्प, प्रियांशु बाख्रा तथा मखाना फार्म, लक्ष्मी बहुउद्देशीय मत्स्य तथा पशुपक्षी पालन फार्म र बिबिएस चायवालामार्फत उद्यमशीलतामा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । उद्यमीहरूको छनोट इकोनोमिक प्रोग्रेस एण्ड इनोभेसन सेन्टर (इपिआईसि) ले सञ्चालन गर्दै आएको मासिक कार्यक्रम ‘आगु बढू–उद्यमी किस्सा’ अन्तर्गत दस्तावेजीकरण गरिएका उद्यमशील यात्राका आधारमा गरिएको आयोजकले जनाएको छ ।
इपिआईसिको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, नेपाली युवा उद्यमी मञ्च जनकपुरधाम र समृद्धि फाउन्डेसन काठमाडौंको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । सन् २०२४ देखि मधेश प्रदेशमा यो सप्ताह मनाउँदै आएको इपिआईसिका संस्थापक तथा कार्यकारि निर्देशक आन्नद साहनीले बताए । उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तनलाई प्रोत्साहन तथा स्थानीय उद्यमीको योगदान पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको थियो ।
ग्लोबल इन्टरप्रेन्योरशिप सप्ताह सन् २००८ देखि हरेक वर्ष नोभेम्बरमा मनाइने विश्वव्यापी अभियान हो । हाल विश्वका १६० भन्दा बढी देशमा मनाइने यस अभियानले उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्दै आएको छ ।





