अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा खुसी व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय ऐरी र सार्कीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिए ।
एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली टोलीलाई बधाईसमेत दिएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको हो । जितसँगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ ।
‘अन्य प्रदेश सरकारबाट पनि खेलाडीलाई प्रोत्साहन मिल्ने हामीले आशा गरेका छौं’, उनले भने, ‘सङ्घ, प्रदेश र स्थानीय तह सबैबाट खेलाडीको भविष्य सुनिश्चितका लागि सक्दो सहयोगको आवश्यकता छ ।’सुदूरपश्चिम प्रदेश सरकारले यसअघि यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका सुदुरपश्चिमका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको थियो । नेपाली यू–१९ टोली हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको थियो । नेपाल सन् २०२४ मा हुने आइसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका सुदूरपश्चिमका पाँच खेलाडीलाई जनही एक लाख तथा प्रशिक्षक र व्यवस्थापकसहित चार जनालाई जनही ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । यू–१९ क्रिकेट टोलीमा सुदूरपश्चिमबाट दीपक बोहरा, दीपक बोहरा (बी), मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द सहभागी थिए । यस्तै टोलीमा मुख्य प्रशिक्षक जगत टमाटा, सहायक प्रशिक्षक धीरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवा रहेका थिए ।