LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । जनकपुरधाममा चक्कु प्रहार गरी आमिन साफीको हत्या गरिएको घटनाले नयाँ मोड लिएको छ । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका युवक मोहम्मद इर्साद खानसँगै उनका आमाबुवाविरुद्ध पनि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–५ का २२ वर्षीय इर्साद, उनका बुबा मोहम्मद समिम खान र आमा सैमुन खातुनविरुद्ध मृतकका काका रियाज साफीले शनिबार जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जाहेरी दर्ता भएको पुष्टि गरेका छन् ।

गत असोज २२ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–५ स्थित जानकी मन्दिरपछाडि रहिमपथ नजिकै भएको चक्कु प्रहारमा २४ वर्षीय आमिनको मृत्यु भएको थियो । घटनामा २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका थिए । उनको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ ।
आक्रमणका क्रममा आमिन र इम्तियाजको छाती तथा पेटमा धारिलो हतियार प्रहार गरिएको थियो । घटनालगत्तै प्रहरीले इर्साद र उनकी ४२ वर्षीया आमा सैमुनलाई पक्राउ गरेको थियो ।

पुराना मुद्दा र आपराधिक गतिविधिमाथि प्रश्न

आमिनको हत्यापछि इर्सादको विगतका गतिविधि र परिवारको सम्भावित भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ । पीडित परिवार र स्थानीयवासीले इर्साद लामो समयदेखि लागुऔषध दुर्व्यसन तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएको र उनकी आमाले संरक्षण गर्दै आएको आरोप लगाएका छन् । यद्यपि, यी आरोपको पुष्टि अनुसन्धानबाट हुन बाँकी छ ।

इर्सादमाथि यसअघि पनि धारिलो हतियार प्रहारका घटनामा संलग्न रहेको आरोपमा दुईवटा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा चलिरहेको जनाइएको छ । २०८२ फागुन ३ गते र २०८३ जेठ ७ गते भएका खुकुरी प्रहारका घटनामा उनीविरुद्ध मुद्दा रहेको बताइएको छ ।

त्यस्तै, सामाजिक सञ्जालमार्फत विभिन्न समुदायलाई लक्षित गरी घृणाजन्य अभिव्यक्ति दिने, गालीगलौज गर्ने तथा हातहतियार प्रदर्शन गर्ने गरेको आरोपसमेत उनीमाथि लाग्दै आएको छ ।

निष्पक्ष अनुसन्धान र कारबाहीको माग

घटनामा पक्राउ परेकी सैमुनलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग पीडित परिवारले गर्दै आएको छ । घटनाको अनुसन्धान प्रभावित पार्न राजनीतिक दबाब र आर्थिक चलखेल भइरहेको आरोप पनि पीडित परिवारले लगाएको छ । यद्यपि, यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

आमिनको हत्यापछि उठेका यी प्रश्नले घटनामा प्रत्यक्ष संलग्न भनिएका व्यक्तिको पक्राउमा मात्र अनुसन्धान सीमित नराखी जाहेरीमा उल्लेख गरिएका आरोप, सम्भावित संलग्नता र उपलब्ध प्रमाणको निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

यस घटनाले मधेश प्रदेशमा लागुऔषध दुर्व्यसन र आपराधिक गतिविधिको नियन्त्रणसम्बन्धी बहसलाई समेत पुनः सतहमा ल्याएको छ । पछिल्लो समय प्रदेशमा लागुऔषधको दुर्व्यसन र कारोबार बढ्दै गएको जानकारहरूको भनाइ छ । उनीहरूका अनुसार लागुऔषधको समस्या र त्यससँग जोडिएका आपराधिक गतिविधिलाई प्रहरीले गम्भीरतापूर्वक नलिँदा यस्ता गतिविधिमा संलग्न व्यक्तिको मनोबल बढ्न सक्छ ।

लागुऔषध दुर्व्यसन नियन्त्रण, कारोबारमा संलग्नमाथि कानुनी कारबाही र सम्भावित आपराधिक घटनाको समयमै अनुसन्धान गर्न सुरक्षा निकाय थप प्रभावकारी हुनुपर्ने जानकारहरूको सुझाव छ । आमिन हत्या प्रकरणमा पनि आरोपको निष्पक्ष छानबिन, प्रमाणका आधारमा दोषीमाथि कारबाही र अनुसन्धानलाई प्रभावमुक्त राख्नु नै पीडित परिवारले न्याय पाउने आधार बन्नेछ ।

सम्बन्धित खबर