LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

महोत्तरीको लोहारपट्टी नगरपालिकामा एक मजदुरले काम गरेको पैसा माग्दा ठेकेदारले पोलमा बाँधेर मोसो दलेर कुटपिट गरेको अमानवीय घटना सार्वजनिक भएको छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नादाफले काम गरेबापतको पैसा माग्दा ठेकेदार स्थानीय आनन्द मिश्रले गाउँको चोकमा रहेको पोलमा बाँँधेर मोसो दलेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । २३ चैतमा मिश्रले नदाफलाई कपाल मुण्डन गरी गाउँको बीच बजारमा रहेको पोलमा बाँधेर अमानवीय व्यवहार गरेका थिए ।

मिश्रलाई नियन्त्रणमा लिएर प्रहरीले अपमानजनक तथा अमानवीय व्यवहार कसुर मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । मिश्रले नदाफमाथि गरेको अमानवीय गतिविधिको भिडियो सामाजिक सञ्जालबाट थाहा पाएपछि प्रहरीले पीडितका हजुरबुबा गफुर नदाफको जाहेरीका आधारमा मिश्रलाई नियन्त्रणमा लिएको महोत्तरीको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

ठेकेदार मिश्रले लोहारपट्टी नगरपालिका– ६ मा शिव आश्रम निर्माणको कामको ठेक्का लिएका थिए । मिश्रले उक्त काम गर्न नदाफलाई दैनिक ज्यालादारीमा राखेका थिए । काम गरेको ४–५ दिनपछि नदाफले आफूहरूको रमजान पर्व रहेको भन्दै मिश्रसँग ज्यालासहितको हिसाब माग गरेका थिए । तर, ठेकेदारले एक–दुई दिन भन्दै पैसा दिएनन् । पैसा पटकपटक माग्दा पनि पैसा नदिएको झोँकमा नदाफ आफ्नो पारिश्रमिकबराबरको सामानहरू पंखा, फलाम काट्ने मेसिन, आरीलगायतका सामानहरू लिएर आफ्नो घर आए ।

त्यसको भोलिपल्ट मिश्रले नदाफलाई फोन गरेर सामानहरू किन लगेको भनेर भन्दा आफ्नो पैसा बाँकी रहेको र पैसा नदिएकाले सामानहरू ल्याएको मिश्रलाई जवाफ फर्काए । त्यसपछि मिश्रले सामानहरू ल्याऊ, शिव आश्रम आऊ र आफ्नो पैसा लिएर जाऊ भनेर नदाफलाई बोलाएका थिए । त्यहीँ बोलाएर नदाफलाई कुटपिट गरी हात बाँधेर चोकमा ल्याएका थिए । ठेकेदार मिश्रले नदाफमाथि सामान चोरीको आरोप लगाउँदै पोलमा बाँधेर कुटपिट गरेका थिए ।

यता, घटनामा पक्राउ परेका मिश्रलाई छुटाउन नेपाली कांग्रेस महोत्तरीका केही नेताहरू सक्रिय देखिएका छन् । नदाफलाई बाँधेर कुटपिट तथा अमानवीय व्यवहार गर्ने मिश्रलाई बचाउन केही कांग्रेस नेताहरू उल्टै नदाफलाई नै चोरीको घटनामा फसाउन प्रहरी प्रशासनलाई दबाब दिने गरेको पीडित परिवारको आरोप छ ।

पीडित परिवारले ती नेताहरूकै दबाबमा मंगलबार प्रहरीले नदाफलाई पनि आफ्नो नियन्त्रण लिएको बताएका छन् । प्रहरीले भने स्थानीय केही व्यक्तिले नदाफको विरुद्धमा जाहेरी दिएकाले पक्राउ गरेको जनाएको छ । यता, पीडित परिवारजनले न्यायका लागि मानवअधिकार आयोगसहित विभिन्न संघसंस्थालाई गुहार लगाएका छन् ।

सम्बन्धित खबर