अयोध्याबाट जनकपुरधाम आएको रेल अयोध्या फर्कियो
जनकपुरधाम । भारतको अयोध्याबाट जनकपुरधाम आएको सरयु कमला एक्सप्रेस मंगलबार दिउँसो पुनः अयोध्या फर्किएको छ । जनकपुरधाम र अयोध्याबीच नियमित रेल सेवा सञ्चालन गर्ने तयारी गरिए पनि भारतीय पक्षमा देखिएको प्राविधिक समस्याका कारण सञ्चालन मिति अनिश्चित बनेको छ ।

मंगलबार बिहान पौने १० बजे जनकपुरधाम आइपुगेको उक्त रेल दिउँसो १ बजेर ३० मिनेटमा अयोध्या फर्किएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल्वे कर्मचारीसहित करिब ४ सय यात्रु लिएर जनकपुरधाम आएको रेल साढे तीन घण्टाको बसाइपछि फर्किएको हो ।
रेलमा १ हजार १ सय यात्रु आउने भनिए पनि अधिकांश यात्रु बाटोमै झरेका कारण करिब ४ सय मात्रै जनकपुरधाम पुगेको पराजुलीले बताए ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको उक्त रेल सेवा आगामी शनिबारदेखि सातामा एक दिन सञ्चालन गर्ने तयारी थियो । तर, भारतीय पक्षमा देखिएको प्राविधिक समस्याका कारण नियमित सञ्चालनको मिति निश्चित हुन नसकेको पराजुलीले जानकारी दिए ।
‘हाम्रोतर्फबाट कुनै समस्या छैन, भारतीय पक्षमा केही प्राविधिक समस्या देखिएको हो । भोलिसम्म समस्या समाधान भए शनिबारदेखि नै रेल सञ्चालन हुन्छ, नभए अर्को शनिबारदेखि सुरु हुनेछ,’ उनले भने ।
जनकपुरधामदेखि अयोध्यासम्मको भाडादरसमेत निर्धारण हुन सकेको छैन । भाडादर भारतीय पक्षले नै निर्धारण गर्ने जानकारी दिँदै पराजुलीले जनकपुरधाममा टिकट काट्ने व्यवस्था मात्रै गरिएको बताए । भारतीय पक्षबाट औपचारिक जानकारी प्राप्त भएपछि टिकट बिक्री सुरु गरिने उनको भनाइ छ ।

यसैबीच, रेल चढेर जनकपुरधाम आएका यात्रुहरूलाई नेपाल रेल्वे कम्पनीको अगुवाइमा भव्य स्वागत गरिएको थियो । स्वागत समारोहमा यात्रुहरूका लागि खाजा, खाना तथा निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिएको थियो । उनीहरूलाई जानकी मन्दिरसहितका धार्मिक तथा पर्यटकीय स्थलको दर्शन गराउन २५ वटा बससमेत व्यवस्थापन गरिएको थियो ।
रेल सेवा सञ्चालनसँगै भारतीय पर्यटकको आवागमन सहज बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई २४ घण्टासम्म भन्सार छुट दिन माग गरेका छन् ।
मंगलबार बिहान रेल जनकपुरधाम आइपुगेको अवसरमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम आउने भारतीय पर्यटकका सवारीसाधनलाई २४ घण्टासम्म भन्सार छुटको व्यवस्था गर्न नेपाल र भारतका प्रधानमन्त्रीसँग आग्रह गरे । मधेश प्रदेशको राजधानी जनकपुरधाममा भारतीय पर्यटकको आवागमन सहज बनाउन यस्तो व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री यादवले मधेश प्रदेशका विभिन्न जिल्लामा बन्द रहेका छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्नसमेत माग गरे । छोटी भन्सार बन्द हुँदा सीमावर्ती क्षेत्रका सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपरेको उनले बताए ।
जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालन हुनु नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिएको उल्लेख गर्दै उनले यो सेवा धेरै पहिल्यै सुरु हुनुपर्ने बताए । नेपालको राजनीतिक अस्थिरताका कारण लामो समयसम्म सञ्चालन हुन नसकेको रेल सेवा अहिले सुरु हुनु सकारात्मक भएको उनको भनाइ थियो । रेल सेवा सञ्चालनका लागि पहल गरेको भन्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद दिए । साथै, जनकपुरधाम र अयोध्याबीच हवाई सेवा पनि सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
स्वागत समारोहमा जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेललगायतको उपस्थिति थियो ।





