LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

 काठमाडौं । अघिल्लो महिना आईसीसी क्रिकेट विश्वकप लिग टूको प्रदर्शनसँगै नेपाल टिमप्रति अपेक्षा ह्वात्तै बढेको छ । नेपालले अर्को सातादेखि एसीसी प्रिमियर कप खेल्दा स्वाभाविक रूपमा प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहनेछ ।

यो उपाधिले एसिया कप क्रिकेटमा ऐतिहासिक सहभागिता मात्रै गराउँदैन भारत र पाकिस्तान जस्ता विश्व महारथी टिमसँग खेल्ने सपना पनि साकार पार्नेछ ।

लिग टू शृंखलामा एक महिनाको बीचमा १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अविश्वसनीय प्रदर्शन गरी विश्वकप छनोटमा स्थान बनाएको नेपाल टिमले दुई साता विश्राम गरेको थियो । नेपाली टोली फेरि प्रशिक्षणमा जुटिसकेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा प्रशिक्षणरत २० खेलाडीबाट प्रशिक्षक मोन्टी देशाईले प्रतियोगिताका लागि १५ जनाको टिम घोषणा गर्नेछन् ।

‘अहिले देशकै इच्छा भनेको गगनचुम्बी भएर उड्नु हो । हामीले उहाँहरूलाई खुसी बनाउन त्यसरी नै खेल्नुपर्छ’ मोन्टीले भने, ‘हाम्रो अहिलेको पहिचान भनेको निडर प्रतिस्पर्धी भएर खेल्नु हो । हामीले यसरी खेलेरै नतिजा ल्याउनुपर्छ ।’

दुई महिनाअघि मात्र नेपाल टिमको जिम्मेवारी सम्हालेका मोन्टीको रणनीति ‘ह्याप्पी ड्रेसिङ रुम’ र ‘वान बल ब्याटल’ हो । यही रणनीतिमा नेपालले छोटो समयमै आफूलाई निडर प्रतिस्पर्धीका रूपमा एशोसिएट क्रिकेटमा स्थापित गराएका छन् ।

प्रशिक्षक देशाई पनि सन्तुलित र स्थिर टिमसहित सकारात्मक नतिजा पस्कन चाहन्छन् । ‘हामी केही क्षेत्रमा सुधारका लागि काम गरिरहेका छौं’ प्रशिक्षक मोन्टीले अनलाइनखबरसँग भने, ‘व्यक्तिगत रूपमा खेलाडीको क्षमता बढाउँदै त्यसलाई टिमको जितमा कसरी प्रयोग गर्ने भनेर योजना बनाइरहेका छौं ।’

एसीसी प्रिमियर कपमा १० टिमको सहभागिता छ । समूह ए नेपालसँगै ओमान, कतार, मलेशिया र साउदी अरब छन् । नेपालले लामो समयदेखि कतार र साउदीसँग एक दिवसीय खेलेको छैन ।

अर्को समूहमा बहराइन, हङकङ, कुवेत, सिंगापुर र यूएई छन् । समूह चरणमा हरेक टोलीले एकअर्कासँग खेलेपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । र, प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कप खेल्नेछ ।

प्रतियोगिताको उपाधि जितेर सन् २०२३ को सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा पुग्नु नेपालको लक्ष्य हो । ५ वैशाखमा मलेशियासँगको खेलमार्फत नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । ८ वैशाखमा ओमान, ११ गते साउदी अरेबिया र १४ गते कतारसँग खेल हुनेछ ।

नेपाललाई घरेलु मैदानको साथ रहनेछ । तर नयाँ प्रतिस्पर्धीसँग नयाँ माहोलमा खेल्नुपर्ने भएकाले त्यसअनुसार रणनीति बनाउनुपर्ने टिमका सबभन्दा सिनियर खेलाडी ज्ञानेन्द्र मल्ल बताउँछन् । ‘फरक टिम छ र फरक परिस्थितिमा खेल्नुपर्छ । कति टिमसँग हामीले लामो समयदेखि खेलेका छैनौं । त्यसले अलिकति परिवर्तन पक्कै हुन्छ । लिग २ मा नियमित खेलेका टिमसँग खेल्दाको रणनीति र यो प्रतियोगितामा फरक हुन्छ’, ज्ञानेन्द्रले भने ।

प्रशिक्षक देशाईले पनि लिग टूमा जस्तो एउटै टिमसँग फरक परिस्थितिमा खेल्ने सुविधा एसिया कप क्वालिफायरमा नभएको बताए । यद्यपि नयाँ प्रतिस्पर्धीसँग खेल्न उत्साही रहेको उनले सुनाए । ‘नयाँ प्रतिस्पर्धीसँग खेल्न म उत्साहित छु’ उनले भने, ‘प्रतियोगिता अघि हाम्रो वार्मअप खेल पनि छ ।’

घरेलु मैदानमा नेपाल एकदिवसीय क्रिकेटमा १० खेलयता अपराजित छ । २८ कात्तिकमा यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल हारेयता नेपालले घरेलु मैदानमा लगातार जितिरहेको छ ।

समूह चरणका तीन खेल त्रिवि मैदानमा भए पनि साउदी अरेबियासँग नेपालले मूलपानी मैदानमा खेल्नेछ । ‘मैले सधैं भन्ने कुरा भनेको एउटै हो वान बल ब्याटल, यो प्रतियोगितामा पनि हामी यही नै गर्छौं’ प्रशिक्षक मोन्टी प्रष्ट छन्, ‘खेलाडीले आफ्नो क्षमता र सीपको प्रयोगसँगै त्यो अनुभव पुनः देखाउनुपर्छ ।’

अलराउण्डर दीपेन्द्रसिंह ऐरी पनि विगतको प्रदर्शनलाई नै निरन्तरता दिने लक्ष्यसहित तयारी गरिरहेको बताउँछन् ।

एकदिवसीय क्रिकेटमा दीपेन्द्रको ब्याटिङ औसत छ । बलिङ र फिल्डिङमा उनी शानदार देखिन्छन् । आफ्नो कमजोरीलाई ध्यानमा राखेर आउने खेलमा केन्द्रित रहेको उनले बताए । दीपेन्द्र भन्छन्, ‘एक–एक खेल गरेर खेल्ने हो । जसरी पहिला खेलिरहेका छौं, त्यही अनुसार खेल्ने हो । जित्दै जाने नै लक्ष्य हुन्छ ।’

२० जनाको प्रारम्भिक टिममा नेपाललाई यू–१९ विश्वकपमा छनोट गराउन कप्तानी भूमिका खेलेका देव खनाल पनि छन् । उनी ९ महिनापछि सिनियर टिममा फर्किएका हुन् । किशोर महतो, सूर्य तामाङ, श्याम ढकाल, प्रतिश जिसी लगायत युवा खेलाडीले बन्द प्रशिक्षणमा सिकिरहेका छन् । कमलसिंह ऐरी, सन्दीप जोरा, अर्जुन साउद पनि अन्तिम टिममा स्थान बनाउन प्रयासरत छन् । उनीहरूबारे प्रशिक्षक देशाई भन्छन्, ‘नयाँ आएका खेलाडीको पनि जोश राम्रो छ । उनीहरूले पनि भविष्यमा नेपाली क्रिकेटलाई राम्रोसँग अघि बढाउन सक्नेछन् ।’

लिग टू शृंखलाको अन्तिम दुई खेलमा बेन्चमा रहेका ज्ञानेन्द्र टिमका सबभन्दा पाका खेलाडी हुन् ।

झण्डै दुई दशकदेखि सक्रिय खेलाडीका रूपमा रहेका उनले टिमको हितका आधारमा आफ्नो भूमिका निर्धारण हुने बताए । ‘मैले जुनसुकै भूमिकामा रहे पनि टिमको फाइदा र हितकै लागि सोचिरहेको हुन्छु । जिम्मेवारी यही हो जस्तो लाग्छ’ उनले भने ।

 

 

सम्बन्धित खबर