
जनकपुरधाम । चाडपर्वलाई दृष्टिगत गरी मधेश प्रदेश प्रहरीले नयाँ सुरक्षा योजना लागु गरेको छ ।
चाडपर्व सुरु भएसँगै प्रहरीले सुरक्षा व्यवस्थामा पनि कडाइ गरेको छ । चाडपर्वका बेला आपराधिक क्रियाकलाप, सवारी दुर्घटना न्यूनीकरणदेखि धार्मिक सद्भाव बिथोल्ने जस्ता क्रियाकलापलाई नियन्त्रण गरी प्रदेशका ८ वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको मधेश प्रदेश कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।
‘आठवटै जिल्ला सदरमुकाममा कुनै आपराधिक क्रियाकलाप भएको खण्डमा दुई मिनेटमै घटनास्थलमा पुग्ने गरी सुरक्षा व्यवस्था मिलाएका छौँ,’ पोखरेलले भने, ‘ग्रामीण क्षेत्रमा कुनै घटना भए जतिसक्दो चाँडो त्यहाँ पुग्ने गरी सुरक्षा व्यवस्था मिलाएका छौँ ।’ चाडपर्वमा यात्रुहरुसँग बढी भाडा असुल गर्ने सवारीसाधनलाई कारबाही गर्ने तथा बढी मूल्यमा मालसमान बेच्ने, कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्न प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा भइरहेको उनले बताए ।
धार्मिक सद्भाव बिथोल्ने गतिविधिलाई नियन्त्रण गर्ने, सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्याउने स्टेटस वा पोस्टलाई निगरानी गर्ने र त्यस्तालाई अविलम्ब पक्राउ गरी कानुन अनुसार कारबाही गर्न सबै जिल्ला प्रहरी कार्यालयहरुलाई निर्देशन दिइएको उनले बताए । चाडपर्वको समयमा मधेशका जिल्लाहरुमा चोरी, डकैतीलगायतका घटना बढी हुने भएकाले त्यस्ता घटना नियन्त्रण गर्न मोबाईल टोली परिचालनदेखि सादा पोशाकमा पुरुष तथा महिला प्रहरीसमेत परिचालन गरिएको उनले जानकारी दिए ।
मठमन्दिर, मान्छेको चहलपहल बढी हुने र आर्थिक कारोबार हुने बैंक तथा वित्तीय संस्थामासमेत प्रहरीले निगरानी बढाएको उनले जनाए । ‘चाडपर्वका बेला खुला सीमाको फाइदा उठाउँदै हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीमा क्षेत्रमासमेत प्रहरी निगरानी बढाउनुको साथै भारतबाट फर्केका नेपालीलाई सीमावर्ति क्षेत्रमा सहजताका लागि हेल्प डेक्सहरुसमेत सञ्चालन गरिएको प्रवक्ता पोखरेलले बताए ।
त्यसैगरि, चाडपर्वलाई लक्षित गरेर मधेश प्रदेशका जिल्लामा पर्ने पूर्वपश्चिम राजमार्गको जंगल क्षेत्रमा प्रहरीले रात्रि गस्ती पनि बढाएको छ । विगतमा चाडपर्वको मौका छोपेर राजमार्गमा गुड्ने रात्रि बस लुटपाट हुने गरेका घटनालाई मध्यनजर गर्दै जंगल क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको उनले बताए । सर्लाहीको बाँके, बाराको जंगल क्षेत्र सहितमा प्रहरीले विशेष गस्ती बढाएको उनले जनाए ।
राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले फूलपातीदेखि टाइमकार्ड लागु गर्ने तयारी गरिरहेको उनले बताए । सप्तरीको भारदहदेखि बाराको अमलेखगन्जसम्म दुई सय ३५ किलो मिटर दूरीमा प्रहरीले टाइमकार्ड लागु गर्ने उनले बताए ।
यता, मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले पनि चाडपर्वको अवसरमा प्रदेशको शान्ति सुरक्षा कडा बनाउन तथा भयरहित वातावरणमा चाडपर्व मनाउने वातवारण बनाउन प्रहरीलाई निर्देशन दिएका छन् । मन्त्री समिमले शान्ति सुरक्षा कडा बनाइ सर्वसधारण जनतालाई सुरक्षाको अनुभूति दिलाउने गरी कार्य गर्न प्रदेश प्रहरीलाई निर्देशन समेत दिएका हुन ।