जनकपुरधाम । वरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमलको राष्ट्रिय जकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । नेपाली, मैथिली, अंग्रेजी तथा हिन्दी भाषाका साहित्यकार, भाषाविद् तथा लामो समय त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापन गरेका वरिष्ठ साहित्यकार डा.विमलको मंलवार विहान निधन भएको थियो । ८१ वर्षको उमेरमा मंगलबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा उनको निधन भएको परिवारले जनाएको छ ।
उनका कान्छा छोरा विभाष लाभका अनुसार सोमबार राति करिब साढे ११ बजेसम्म परिवारसँग कुराकानी गरिरहेका विमलको स्वास्थय अवस्था अचानक बिग्रेका थिए । त्यसपछि तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लगिए पनि उपचारकै क्रममा उनको निधन भएको हो ।

उनको पार्थिव शरीरलाई जनकपुरधामको स्वर्गद्वारीमा हिन्दु परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ । डा. विमलको निधनको खबर पाएलगतै संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गणेश), धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का साँसद मनिष झा जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोकस्थित आफ्नै निवासमा अन्तिम श्रद्धाञ्जली दिएका थिए । डा.विलमको सम्मानमा जनकपुरधाम उपमहानगरपालिकाले दिउँसो अन्तिम दर्शन तथा नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरेको छ ।

दाहसंस्कार अघि नेपाल प्रहरीले डा.विमलको पार्थिक शरिरलाई सलामी दिएका थिए । जनकपुरधामका उपमहानगरपालिकाले बुधवार उहाँको निधनमा शोक विदा दिएको छ ।
मैथिली विकास कोष, जनकपुरधामका संस्थापक अध्यक्षसमेत रहनुभएका डा. विमलको पहिलो कथा १५ मार्च १९६३ मा ‘मिथिला मिहिर’ पत्रिकामा प्रकाशित भएको थियो । त्यसयता उहाँ निरन्तर कथा, कविता, नाटक, गजल, उपन्यास, समालोचना तथा बालसाहित्यलगायत विभिन्न विधामा सक्रिय रहनुभयो ।

उहाँका प्रमुख कृतिहरूमा ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘बौआक पोथि’, ‘सुरुज उगवासँ पहिने’ (गजल संग्रह), ‘डा. बिमलका कथाहरु’, ‘सरबरिआ गाउँको कथा’ र ‘फिस्टी रानी’ लगायतका कृति रहेका छन् । उहाँका रचनाहरू गोरखापत्र, मधुपर्क, गरिमा लगायतका पत्रपत्रिकामा समेत प्रकाशित छन् ।
डा.बिमलले नेपाल टेलिभिजनबाट प्रसारित ‘हंसा चलल परदेश’ टेलिफिल्ममार्फत पनि साहित्यिक योगदान दिनुभएको थियो। उहाँ विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट सम्मानित हुनुका साथै पहिलो पटक नेपाल विद्यापति भाषा साहित्य पुरस्कार प्राप्त गर्ने व्यक्तित्वसमेत हुनुहुन्थ्यो। गरिमा, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा, सिद्धि श्री लगायतका प्रतिष्ठित सम्मान उहाँले प्राप्त गर्नुभएको थियो ।
चार दशकभन्दा बढी प्राध्यापन, सिर्जना र साहित्यिक नेतृत्वमा सक्रिय डा. बिमललाई मैथिली साहित्यका उज्ज्वल नक्षत्रका रूपमा लिइन्छ । उहाँको निधनले नेपाली तथा मैथिली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकारहरूले बताएका छन् ।
डा.विलमका आफ्नै भाई समेत रहेका मधेश प्रदेशका प्रमुख डा.सुरेन्द्र लाभ कर्णले उहाँलेको निधनले नेपालले एक मुर्धन्य सम्पति गुमाएको बताए । नेपाली, मैथलि, हिन्दी तथा अंग्रेजी भाषा साहित्यमा उहाँको अतुल्यि योगदान रहेको स्मरण गर्दै उनले निधनले साहित्य क्षेत्रमा अपुर्ण क्षति भएको बताए ।






