
जनकपुरधाम । धनुषाकी आरती साह मृत्यु प्रकरणमा अभियुक्त बनाईएका उनका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ ।
साहलाई प्रहरी सोमवार विहान जनकपुरधामको सगुन होटलबाट पक्राउ गरेको हो ।
गत मंसिर २० गते सर्वोच्च अदालतले आरतीका पति साहलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । भने सोही मुद्दामा सर्वोच्चले उनका सासुरा मदन मोहन सुडीलाई १ लाख थरौटीको छोड्न आदेश दिएको थियो । सोही आदेश अनुसार प्रहरीले साहलाई पक्राउ धनुषाका प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले जानकारी दिए । पक्राउ गरिएका साहलाई आवश्यक प्रक्रिया पुरा गरि कारागार पठाउने उनले बताए ।
गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका– ९ थापाचोक स्थित आफ्नै घरमा झुण्डेको अवस्थामा आरती मृत भेटिएकी थिइन् । परिवारजनले आरतीलाई उपचारको लागि स्थानीय एक अस्पतालमा लगेपछि घटना वारे प्रहरीले जानकारी पाएका थिए । यता, आरतीको माइती पक्षले दाइजोको कारण आरतीका श्रीमान र ससुराले हत्या गरेको भनेर जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए ।
सो घटनामा जिल्ला अदालतले आरतीका पति र सासुरालाई पुर्व पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर गत १८ असोजमा सो मुद्दामा उच्च अदालतले आरोपित दुई जनालाई साधारण रिहा गर्न फैसला गरेका थिए । त्यसपछि पीडित परिवारजनले आर्थिक प्रभावमा प्रहरीले मुद्दालाई कमजोर बनाएको आरोप लगाउदै घटनाको पुनः छानबिनको लागि काठमाण्डौस्थित माईतीघरमा लामो समय धर्ना दिदै आएका थिए । सञ्चारमाध्यमहरुले सो विषयमा चासो लिएपछि तत्कालिन धनुषाका प्रहरी उपरीक्षक विश्वराज खण्ड्का समेत हेडक्वाटरमा तानिएका थिए ।