जनकपुरधाम । जनकपुरधाम–२ की पुजा साहकी लागि पछिल्ला दिनहरू सामान्य छैनन् । रात पर्छ, उनी सुत्ने प्रयास गर्छिन् । तर आँखामा निद्रा आउँदैन। आँखा बन्द गर्दा श्रीमान् अजय सिंहकै अनुहार सम्झिन्छिन्। मोबाइल हातमा लिन्छिन्। अजयको नम्बर हेर्छिन्। फोन गर्छिन्। घण्टी जाँदैन। फोन उठ्दैन। फेरि प्रयास गर्छिन्। हरेक असफल प्रयाससँगै मनमा आशंका थपिन्छ ।
कहिलेकाहीँ अपरिचित नम्बरबाट फोन आउँदा पनि पूजा झस्किन्छिन्। सायद अजयकै खबर पो हो कि ! केही वर्षअघि अजयसँग प्रेम विवाह गरेकी पूजाको दैनिकी भोटेकोशीमा बाढी आएयता एकाएक फेरिएको छ । घरमा कामकाज भइरहे पनि उनको ध्यान त्यहाँभन्दा बढी मोबाइलमै हुन्छ । श्रीमानको फोन आउला कि, कसैले उहाँको अवस्थाबारे खबर गरिदेला कि भन्ने प्रतीक्षामै उनको अधिकांश समय बितिरहेको छ ।

‘मेरो बुढा कस्तो अवस्थामा हुनुहुन्छ ? त्यहाँ के हुँदैछ ? केही जानकारी पाएको छैन,’ रुँदै पूजा भन्छिन्, ‘प्लिज, जसरी भए पनि उहाँको अवस्थाबारे जानकारी पाउँ । प्लिज मलाई उहाँसँग कुराकानी गराइदिनुस्।’ अजय रसुवाको माथिल्लो त्रिशूली जलविद्यत–१ आयोजनामा कार्यरत थिए । बाढी आउनुअघिसम्म उनी परिवारको सम्पर्कमा थिए। तर, भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि उनी एकाएक सम्पर्कविहीन बने। त्यसयता उनको मोबाइल लगातार बन्द छ।
अजय कहाँ छन् ? सुरक्षित छन् कि छैनन् ? अस्पतालमा छन् कि उद्धारको प्रतीक्षामा ? पूजासहित उनको परिवारसँग यी प्रश्नको कुनै जवाफ छैन। त्यसैले अहिले पूजा प्रहरी र सम्बन्धित निकायसँग मात्रै होइन, सामाजिक सञ्जालमार्फत पनि अजयको अवस्थाबारे जानकारी गराइदिन अपिल गरिरहेकी छन्। अजयलाई कसैले देखेको भए, उनीसँग सम्पर्क भएको भए वा उनको अवस्थाबारे कुनै सूचना भए आफूलाई जानकारी गराइदिन उनले आग्रह गरेकी छन्।
उनका लागि सामाजिक सञ्जाल अहिले सूचना खोज्ने अर्को माध्यम बनेको छ । कुनै पोस्टमा अजयको नाम देखिन्छ कि, कसैले उनको फोटो वा अवस्थाबारे केही लेखेको छ कि भनेर उनी पटक–पटक मोबाइल हेर्छिन्।
‘एकपटक उहाँको आवाज मात्रै सुन्न पाए पनि हुन्थ्यो,’ पूजा भन्छिन्, ‘उहाँ सुरक्षित हुनुहुन्छ भन्ने थाहा पाए मात्रै पनि मेरो मन शान्त हुन्थ्यो।’ अजय सम्पर्कविहीन भएपछि पूजाको घरमा दिन त बितिरहेका छन्, तर सामान्य जीवन फर्किएको छैन। परिवारका सदस्यसँग बोल्छिन्। तर, केहीबेरमै उनको हात फेरि मोबाइलमा पुग्छ। फोन आएको छ कि छैन, कुनै नयाँ सूचना आएको छ कि छैन—उनी हेरिरहन्छिन्।
मोबाइलको स्क्रिनमा आउने हरेक अपरिचित नम्बरले उनलाई केही क्षणका लागि आशा दिन्छ। तर, फोन अरू कसैको रहेछ भन्ने थाहा पाएपछि त्यो आशा फेरि निराशामा बदलिन्छ ।
अजयसँगको सम्बन्ध केवल वैवाहिक सम्बन्धमा सीमित छैन। प्रेमबाट सुरु भएको उनीहरूको सम्बन्धले वर्षौँको साथ पाएको छ। त्यसैले अचानक सम्पर्क टुटेपछि पूजाका लागि यो प्रतीक्षा अझ कठिन बनेको छ ।
१६२ परिवार अझै प्रतीक्षामा
पुजाको पीडा उनको परिवारमा मात्रै सीमित छैन। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि मधेश प्रदेशका १६२ जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण प्रहरीले सार्वजनिक गरेको थियो। पछिल्लो अद्यावधिक अनुसार तीमध्ये ३० जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्। अझै १६२ जना सम्पर्कविहीन छन्।
अपर त्रिशूली, त्रिशूली हाइड्रोपावर, मौलुङ हाइड्रोपावरलगायतका आयोजनासँग सम्बन्धित व्यक्तिहरू पनि सम्पर्कविहीनको सूचीमा छन् । आफ्ना मान्छे सम्पर्कविहीन भएपछि परिवारका सदस्यहरू प्रहरी कार्यालयदेखि अस्पतालसम्म धाइरहेका छन्। कतै आफ्नो मान्छेको नाम भेटिन्छ कि, कतै फोटो देखिन्छ कि, कतै कसैले ‘उहाँ सुरक्षित हुनुहुन्छ’ भनेर खबर गरिदिन्छ कि भन्ने आशामा उनीहरू भौँतारिरहेका छन्।
प्रहरीले घरपरिवार तथा आफन्तबाट प्राप्त निवेदन र फोनमार्फत प्राप्त सूचनाका आधारमा सम्पर्कविहीनको प्रारम्भिक विवरण तयार पारिएको जनाएको छ। नयाँ सूचना प्राप्त भएसँगै विवरण अद्यावधिक गर्ने तथा बेपत्ता व्यक्तिको खोजी र अवस्था पहिचान गर्ने काम जारी रहेको प्रहरीको भनाइ छ । तर, परिवारका लागि ‘सम्पर्कविहीन’ भन्ने दुई शब्द निकै भारी बनेको छ । यो न मृत्युको खबर हो, न जीवनको पुष्टि। त्यसैले पुजा अझै आशामै छिन्। सामाजिक सञ्जालमा उनको अपिल जारी छ ।






