LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम ।  सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसप० का मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले बिहीबार शर्मासहित सात जनालाई जन्मकैद हुने फैसला सुनाएको हो ।

सोही मुद्दामा लामो समयदेखि फरार रहेका एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका लक्ष्मी महतो कोइरी र अर्का प्रतिवादी पवन कापडलाई भने सफाइ दिइएको छ । कापड यो मुद्दामा पुर्पक्षका लागि थुनामा थिए ।

प्रदेशसभा सांसद शर्मासँगै जिल्ला अदालतले जलेश्वर नगरपालिकाका पूर्वमेयर तथा लोसपाका नेता शंकर शाही भनिने रामशंकर मिश्र, लोसपाका नेता तथा जलेश्वर अस्पताल विकास समितिका पूर्वअध्यक्ष सुरेश पाण्डे, प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको छ । उनीहरूलाई कर्तव्य ज्यान मुद्दाको ज्यानसम्बन्धी महलको १ र १३ नम्बर कसुर गरेको र सोही महलको कसुर ठहर भई जन्मकैदको फैसला भएको जिल्ला अदालतकी स्रेस्तेदार नुतन शर्माले जानकारी दिइन् ।

त्यस्तै, विकलाई चढाइएको एम्बुलेन्समा आगजनी मुद्दामा यी सातै जनालाई जनही ६ महिना कैदसहित क्षतिपूर्ति बापत दामासाहीको हिसाबले १० लाख रुपैयाँ तिर्नुपर्ने आदेश दिइएको छ ।

यो मुद्दामा अभियुक्त भई फरार रहेका रमेश प्रसाद साह, सतेन्द्र चौधरी भन्ने सविन्द्र चौधरी, चन्देश्वर साह मेहत्तरी, राजु चौधरी भन्ने राजा चौधरी, देवेन्द्र चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओम कुमार भगत, रविन्द्र राम चमार, रंजित साह, विकी साह, फुले यादव, रोहित कुमार शर्मा, ललवा भन्ने लालबाबु बिन, शम्भु साह, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादवको हकमा मुद्दा मुलतवीमा राखिएको छ । कौशल कुमार यादव संविधानसभा सदस्य र प्रदेश सांसद भइसकेका छन् ।

यो कर्तव्य ज्यान मुद्दामा २८ जनाविरुद्ध जाहेरी परेको थियो । यसअघि जिल्ला अदालतले २८ र २९ साउन २०७५ मा यो मुद्दाको सुनुवाइ गर्दा नेता शर्मा, पूर्वमेयर मिश्र र पाण्डेलाई सधारण तारेखमा छोडेको थियो ।

के थियो घटना ?

घटना २०७२ को हो । नेपालको संविधान जारी हुने अन्तिम प्रक्रियामा रहँदा मधेशवादी दलहरू त्यसको विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनको रापतापकै बीचमा २५ भदौ २०७२ मा हेटौँडाबाट महोत्तरीको जलेश्वरमा ड्युटीका लागि आउँदै गरेका असई बीक आन्दोलनकारीको कुटपिटमा परी घाइते भएका थिए ।

घाइते विकलाई उपचारका लागि जलेश्वर अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एम्बुलेन्समा जनकपुर लगिँदै थियो । त्यही क्रममा महोत्तरीको सोनुषडामा विक रहेको एम्बुलेन्समा आन्दोलनकारीले पुनः आक्रमण गरे । सोही आक्रमणमा परी विकको मृत्यु भएको थियो भने एम्बुलेन्समा पनि आगजनी भएको थियो ।

सांसद शर्मालाई जन्मकैद भएकोबारे प्रतिक्रिया दिँदै लोसपाका महासचिव परमेश्वर साहले फैसला भर्खर सुनेकाले छलफल गरेर अगाडि बढ्ने बताए । ‘यो फैसला भर्खर हामीले सुनेका छौँ । यो विषयमा छलफल गरेर अगाडि बढ्छौँ,’ साहले भने ।

प्रदेश सांसद शर्मा, पूर्वमेयर मिश्र र पाण्डेविरुद्ध किटानी जाहेरी नपरेको साहले बताए । अदालतले सफाइ दिएका कोइरीविरुद्ध भने किटानी जाहेरी परेको उनको भनाइ छ । पोलुवा जाहेरी परेकाहरूमाथि जन्मकैदको सजाय भएकाले यसबारेमा छलफल गरेर अगाडि बढ्ने साहको प्रतिक्रिया छ । अदालतको फैसलाप्रति उनले असहमति समेत व्यक्त गरे ।

सम्बन्धित खबर