जनकपुरधाम । गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा परीक्षार्थीबाट जफत गरिएका करिब ५०० मोबाइल फोन र स्मार्ट घडी जिल्ला प्रशासन कार्यालय सिरहाले नष्ट गरेपछि अभिभावक, विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।
प्रशासनले मोबाइल नष्ट गरेपछि अभिभावक, विद्यार्थी र विद्यार्थी संगठनहरुले सोमवार जिल्ला प्रशासन अगाडी विरोध प्रदर्शन गरेका हुन् । नष्ट गरिएको मोबाइल फोनको उचित क्षतिपूर्ति, विद्यार्थी माथिको दमन अन्त्य गर्न तथा पीडित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गरेको अनेरास्ववियु मधेश प्रदेश संयोजक सतिशचन्द्र सिंह बताए ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार परीक्षाका क्रममा सात वटा आईफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा पाँच वटा स्मार्ट वाच बरामद गरिएको थियो । प्रशासनले ती उपकरणहरूको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको जनाएको छ । परीक्षा मर्यादा कायम राख्न तथा भविष्यमा दुरुपयोग हुन नदिन उपकरण नष्ट गरिएको प्रशासनको दाबी छ । तर अभिभावकहरूले मोबाइलसँगै आफ्ना महत्त्वपूर्ण कागजात, पारिवारिक तस्बिर, भिडियो तथा सम्पर्क विवरणहरू पनि सधैंका लागि गुमेको भन्दै निर्णयप्रति आपत्ति जनाएका छन ्। उनीहरूको भनाइमा परीक्षा हलमा मोबाइल लैजान नपाउने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिएको भए यस्तो अवस्था नै आउने थिएन ।
सिरहा गोलबजारका अभिभावक तारकेश्वर यादवले आफ्नो भान्जाको जन्मदर्ताको फोटो मोबाइलमै सुरक्षित राखिएको र मोबाइल नष्ट भएसँगै त्यो पनि हराएको बताए । ‘मूल कागजात हराएपछि मोबाइलमा राखिएको जन्मदर्ताको फोटो नै आधार थियो। अहिले पुनः कागजात बनाउन झन्झट बेहोर्नुपरेको छ,’ उनले भने । विद्यालय प्रशासन र जिल्ला प्रशासन कार्यालयमा पुगेर मोबाइल फिर्ता गराउन प्रयास गरे पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।
मोबाइल जफत गरिएकी एक विद्यार्थीले परीक्षा अवधिभर मानसिक तनाव भोग्नुपरेको बताइन ्। ‘मोबाइलमा आफन्तका धेरै नम्बर थिए। घरमा के भइरहेको छ भन्ने चिन्ता लाग्थ्यो। केही दिन निकै तनाव भयो,’ उनले भनिन् ।
अर्का एक अभिभावकले चिटचोरीमा संलग्न नभएका विद्यार्थीहरूको मोबाइलसमेत जफत गरेर नष्ट गरिएको भन्दै आपत्ति जनाए । ‘गल्ती गरेको भए कारबाही स्वीकार्य हुन्थ्यो। तर मोबाइल साथमा भएकै कारण फोन नष्ट गर्नु उचित होइन,’ उनले भने । मोबाइलमा रहेका परिवारका फोटो र भिडियोहरू पनि सँगै नष्ट भएकोमा उनले दुखेसो पोखे ।
स्थानीय नवीन यादवले पनि विद्यार्थीको गल्तीका कारण अभिभावकले दुःख गरेर किनेको सम्पत्ति नष्ट गर्नु उचित नभएको बताए । ‘परीक्षा केन्द्रमा बन्देज गरिएको मोबाइल लैजान हुँदैनथ्यो,’ उनले भने, ‘परीक्षा कोठामा प्रवेश गर्नु अगावै खानतलासी गर्र्ने प्रहरी, शिक्षक, कर्मचारीले कसरी मोबाइल लैजान दिए ? उनीहरूमाथि कारबाही हुनुपर्दैन ?’ प्रतिप्रश्न गर्दै उनले भने । मर्यादित परीक्षाका लागि तोकिएको मापदण्डविपरीतका गतिविधि गर्ने विद्यार्थीमाथि कानुनी कारबाहीको बाटो हुँदहुँदै मोबाइल नै नष्ट गरिनु व्यक्तिको सम्पत्तिमाथिको हस्तक्षेप भएको उनको भनाइ छ ।
यस विषयमा लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले केही अभिभावकहरूले आफूलाई भेटेर मोबाइल फिर्ता गराउन पहल गरिदिन आग्रह गरेका थिए । तर उनले प्रशासनले जफत गरेका दिने वा नष्ट गर्ने विषय परीक्षा व्यवस्थापनसँग सम्बन्धित निर्णय रहेकोले आफुहरुले केहि गर्न नसक्ने भन्दै पठाएका थिए ।
शिक्षक महासंघका पुर्वअध्यक्ष बाबुराम थापाले परीक्षा केन्द्रभित्र मोबाइल लैजान नपाइने नियम स्वाभाविक भए पनि जफत गरिएका मोबाइल नष्ट गर्नु कठोर र असान्दर्भिक कदम भएको टिप्पणी गरे । ‘परीक्षा अनुशासन कायम गर्न अन्य वैकल्पिक उपायहरू पनि अपनाउन सकिन्थयो,’ उनले भने ।
कानुन व्यवसायीहरूले समेत प्रशासनको निर्णयमाथि प्रश्न उठाएका छन् । सिरहाका अधिवक्ता चन्दनकुमार कर्णका अनुसार मोबाइल व्यक्तिगत सम्पत्ति भएकाले त्यसलाई नष्ट गर्ने निर्णय अपरिपक्क निर्णय रहेको बताए ।
उनले भने,‘ यदि यो विषयलाई लिएर अभिभावक अदालत पुगे भने निर्णयमा संलग्न व्यक्तिविरुद्ध कारबाही र क्षतिपूर्ति दाबीसमेत हुन सक्छ । व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु राज्यको दायित्व हो ।’
यता जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने शिक्षा ऐनको व्यवस्था तथा जिल्ला परीक्षा समन्वय समितिको निर्णयअनुसार मोबाइल नष्ट गरिएको स्पष्ट पारे । जफत गरिएका सामग्री कानुनी रूपमा लिलामी गर्न सकिने भए पनि मोबाइल जस्ता संवेदनशील उपकरण पुनः दुरुपयोग हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नष्ट गर्ने निर्णय गरिएको उनले बताए ।
‘जफत गरिएका मोबाइल लिलामी गर्नुपर्ने व्यवस्था भए पनि भविष्यमा दुरुपयोग नहोस् भन्ने उद्देश्यले नष्ट गर्ने निर्णय गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
सिरहाका प्रशासनका अनुसार मधेश प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइए कडा कारबाही गरिने चेतावनी दिएपछि जिल्ला परीक्षा समन्वय समिति सिरहाले मोबाइल व्यवस्थापनका लागि छुट्टै उपसमिति गठन गरेको थियो । शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय समितिले बरामद उपकरण व्यवस्थापनको जिम्मा पाएको थियो । मोबाईललाई नष्ट नै गर्ने निर्देशन दिएको भन्ने विषयमा बुझन खोज्दा तत्कालिन शिक्षा मन्त्री शर्माको मोवाईल स्वीचअप रहेको छ ।
समितिका अनुसार जफत गरिएका मोबाइलहरू जिल्ला प्रहरी कार्यालय परिसरमा २४ घण्टा पानीमा डुबाएर राखिएको थियो। त्यसपछि पुनः प्रयोग गर्न नसकिने अवस्थामा पु¥याई फुटाएर नष्ट गरिएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका सूचना अधिकारी पुष्कर गैरपिप्लीका अनुसार गत वर्ष जिल्लाबाट एसईई परीक्षामा ११ हजार ३७ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये साधारणतर्फ १० हजार ६२५ र प्राविधिक धारतर्फ ४१२ विद्यार्थी थिए। नियमिततर्फ ६५.४४ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।







