LIVE
छठ मनाउन मधेश झरे कांग्रेस सभापति थापा, सर्लाही हुँदै वीरगञ्ज पुग्ने | मधेशमा छठको रौनक, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै | मधेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान | कमला नदीमा डुबेर धनुषाका २४ वर्षीय युवकको मृत्यु | प्रदेश सरकारले भीमफेदी दुर्घटनामा मृत्यु भएका परिवारलाई जनही एक लाख दिने | मधेश सरकार जोगाउन कुनै सौदावाजी गर्दैनौ ः महामन्त्री पौडेल | टिपरको ठकरले स्कुटी चालकको घटनास्थलमै मृत्यु | प्रादेशिक अस्पतालको शवगृह नजिकै पुरुषको शव फेला, मृतकका आफन्तद्वारा विरोध प्रदर्शन | मधेशका मुख्यमन्त्री यादवले २८ कात्तिकमा विश्वासको मत लिने | चाडपर्वले बजारमा बढ्यो किनमेलको पहलपहल, महँगीले उपभोक्ता मारमा |

जनकपुरधाम । लोकआस्था, प्रकृति पूजा र सामाजिक सद्भावको अनुपम संगम मानिने छठ पर्व आज आइतबार तराई मधेशका जिल्लाहरूमा श्रद्धा र उल्लासका साथ मनाइँदैछ ।

चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिँदैछन् । शनिबार विधिवत् रूपमा खरना सम्पन्न गरेका व्रतालुहरू आज बिहानैदेखि छठ पूजाका लागि आवश्यक सामग्री र प्रसाद तयार गर्न व्यस्त छन् । छठ पर्वका लागि श्रद्धालुहरूले घरनजिकैका पोखरी, नदी तथा जलाशयमा घाट निर्माण गरी पूजाको तयारी गरेका छन् ।

जनकपुरधामका गंगासागर, धनुषसागर, दशरथ तलाउ, अगजासरलगायत प्रमुख पोखरीहरूमा आकर्षक घाट निर्माण गरिएको छ । घाटहरूलाई विद्युत् बत्तीले झिलिमिली पारिएको छ भने पूजास्थलहरूलाई विशेष रूपमा सजाइएको छ ।
छठ पूजामा व्रतालुहरूले नयाँ वस्त्र धारण गरी बाँसको चोयाबाट बनेका सुपली र ढकियामा विभिन्न फलफूल तथा प्रसाद सजाएर सूर्यलाई अर्घ दिने गर्छन् ।

सुपलीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा नरिवल, भिजाएको केराउ, पातसहितको मूला लगायतका सामग्री राखिन्छन् । छठ पर्वमा व्रत बस्ने महिला तथा पुरुषले पर्व सुरु हुनुअघि नै माछामासु तथा अन्य तामसी भोजन त्याग गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्। चतुर्थी तिथिमा नित्यकर्मपछि शुद्ध शाकाहारी भोजन गर्ने परम्परा छ । पञ्चमी तिथिमा दिनभरि निराहार बसेर साँझ पूजा गरी प्रसादका रूपमा खीर तथा फलाहार ग्रहण गर्ने विधिलाई खरना भनिन्छ ।

षष्ठीका दिन व्रतालुहरू निराहार तथा निर्जल व्रत बस्छन् । बिहानैदेखि ठेकुवा, भुसुवा, लड्डुलगायतका परिकार तयार गरी बाँसको डालोमा सजाइन्छ । साँझ सूर्यास्त हुनुअघि व्रतालुहरू नदी, पोखरी तथा अन्य जलाशयमा पुगेर घण्टौँसम्म पानीमा उभिई अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । त्यसपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ । करिब ३६ देखि ४० घण्टासम्म निराहार व्रत बस्ने परम्परा यस पर्वको विशेषता हो ।

केही दशकअघिसम्म नेपालको तराई तथा भारतको बिहार र उत्तर प्रदेशलगायत क्षेत्रमा सीमित रहेको छठ पर्व पछिल्लो समय देशका पहाडी जिल्लाहरूमा समेत लोकप्रिय बन्दै गएको छ । काठमाडौंसहित देशका विभिन्न सहरमा पनि छठ मनाउनेहरूको संख्या बढ्दै गएको छ । छठ पर्व प्रकृति पूजा, सामाजिक एकता र लोकआस्थासँग जोडिएको पर्व भएकाले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको साहित्यकार सुजित झाले बताए । उनका अनुसार छठ पण्डा, पुरोहित तथा अन्य धार्मिक मध्यस्थहरूको आडम्बरपूर्ण प्रथाबाट मुक्त विशुद्ध सनातनी लोकपर्व हो ।

छठ पर्व श्रद्धा, विश्वास र मनोकामनासँग जोडिएको बताउँदै जनकपुरधाम–२ की व्रतालु कौशल्या शर्माले पुत्र प्राप्ति, श्रीमान्को दीर्घायु, चर्मरोगबाट मुक्ति, सुख, शान्ति तथा समृद्धिको कामनासहित छठ व्रत बस्ने गरिएको बताइन्। भाकल पूरा भएपछि पनि श्रद्धालुहरूले छठ मनाउने परम्परा रहेको उनको भनाइ छ ।

यस वर्ष छठ मनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दम्पती पनि जनकपुरधाम आइपुगेका छन् । उनीहरू जनकपुरधाम–२ निवासी नरेश साहको घरमा बसेर गंगासागर पोखरीमा छठ पर्व मनाउँदैछन् ।

सम्बन्धित खबर