जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेश प्रदेश सरकार जोगाउन कुनै पनि दलसँग सौदावाजी वा अनावश्यक गठजोड नगर्ने बताएका छन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको छ । सरकारलाई निरन्तरता दिन कांग्रेसले सामान्य प्रयास गरिरहेको उल्लेख गर्दै महामन्त्री पौडेलले एमाले, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलसँग छलफल भइरहेको बताए । ‘सरकार जोगाउन कांग्रेसले प्रयास गरिरहेको छ । एमाले, जसपा लगायतका दलसँग यही सरकारलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘तर विगतमा जस्तो सरकार जोगाउन कसैसँग पनि कुनै सौदावाजी वा अनावश्यक गठजोड गर्दैनौँ ।’ नेपाल प्रेस युनियन धनुषाले शुक्रबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले यस्तो बताएका हुन् ।

उनले सरकारले संविधान संशोधनका लागि कार्यदल गठन गरे पनि त्यसले कुनै ठोस काम अघि बढाउन नसकेको आरोप लगाए । संविधान संशोधन, स्थानीय तहको निर्वाचन प्रणाली तथा निर्वाचन विधिमा सुधार गर्ने विषयमा सरकार गम्भीर नरहेको उनको भनाइ थियो ।
स्थानीय तहको निर्वाचन प्रणाली परिवर्तन गर्न संविधान संशोधन आवश्यक भए पनि सरकारले त्यसका लागि कुनै गृहकार्य नगरेको उनले बताए । सरकारले चैतमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा समेत आशंका व्यक्त गर्दै पौडेलले संविधान संशोधनको विषयमा सरकार केवल चर्चा र प्रचारमा सीमित रहेको आरोप लगाए । झण्डै दुई तिहाइको समर्थन रहेको सरकारले संसद् छलेर अध्यादेशमार्फत शासन सञ्चालन गरिरहेको भन्दै उनले आपत्ति जनाए । यसले लोकतान्त्रिक व्यवस्था र जनताको भावनाविपरीत काम भइरहेको उनको आरोप थियो ।
‘यसरी व्यवस्था छलेर र विधि तथा प्रक्रिया मिचेर सरकार अघि बढिरह्यो भने मुलुकमा दुर्घटना निम्तिन सक्छ,’ उनले चेतावनी दिए । यसैबीच, महामन्त्री पौडेलले नेपाली कांग्रेस नफुटेको दाबी गरेका छन् । पार्टीमा दुई सभापति, दुई कार्यालय वा दुई जिल्ला कार्यसमिति हुन नसक्ने उल्लेख गर्दै उनले केही नेताहरू पार्टीबाट अलग भएको मात्रै बताए । अदालतले आफूहरूलाई आधिकारिकता दिइसकेको भन्दै उनले त्यसलाई सबैले स्वीकार गर्नुपर्ने धारणा राखे ।





