सत्तारुढ गठबन्धनबाट एकाएक बाहिरिएको जनता समाजवादी पार्टी जसपा र नेकपा एमालेबीच बितेका दुई दिनमा विकसित संवाद र बनेको चुनावी गठबन्धन अहिले राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।
एमाले अध्यक्ष केपी ओलीलाई मधेशविरोधी तथा प्रतिगामीको संज्ञा दिने जसपा अध्यक्ष उपेन्द्र यादवले एकाएक तिनै ओलीसँग हात मिलाएपछि जसपाका नेताहरु पनि आश्चर्यचकित भएका छन् । तर, पछिल्लो समय विचार, सिद्धान्त, नीतिभन्दा पनि राजनीतिक दलहरु सत्ता र शक्तिलाई बढी महत्व दिने गरेकोले दुई कित्तामा उभिएका एमाले र जसपा दलबीच चुनावी गठबन्धन हुनुलाई राजनीतिक विश्लेषक रोशन जनकपुरी स्वभाविक बताउँछन् ।
जनकपुरीले फैक्ट समाचारलाई भने, ‘राजनीतिक दलहरुले विचार, सिद्धान्त, नीति सबैलाई छोडिसकेका छन् । दलहरु सत्ता र शक्तिकेन्द्रित राजनीति गर्न रुचाउँछन् । यस्तोमा आफ्नो फाईदा देखेर जसपा अध्यक्ष यादवले एमालेसँग तत्काल सम्बन्ध बिस्तार गरेर चुनावी गठबन्धन गरेका छन् ।’
एमाले र जसपाबीच चुनावी गठबन्धन मुख्यतः सिट बाडफाँडकै जगमा भएको बताईन्छ । मधेश प्रदेशमा एमालेभन्दा जसपाको जनाधार बलियो छ । जपसाले आफ्ना आधार क्षेत्रलाई बलियो बनाई राख्न एमालेसँग चुनावी तालमेल गरेको जसपाका नेताहरुको भनाइ छ । मधेश प्रदेशमा प्रतिनिधिसभाको ३२ र प्रदेशसभाको ६४ सिट रहेका छन् । दुई पार्टीबीच जसपाले प्रतिनिधीसभाको १७ र प्रदेशसभाको ३४ सिटमा लिने गरि एमालेसँग चुनावी गठबन्धन गरेको छ ।
जसपाभित्र टिकटका आंकाक्षी धेरै भएको तर सत्तारुढ गठबन्धनमा बस्दा आवश्यकता अनुसार सिट नपाएपछि नेता तथा कार्यकर्तालाई व्यवस्थापन गर्न समस्या भएको थियो । त्यही कारण पार्टी छोडेर हिड्नेहरुको लर्को देखिएपछि पार्टी छिन्नभिन्न हुनसक्ने बाध्यतामा अध्यक्ष यादवले एमालेसँग चुनावी गठबन्धन गरेको जसपाका नेता रामेश्वर यादवले बताए ।
जसपा अध्यक्षलाई देशको राजनीतिभन्दा मधेश प्रदेशमा आफ्नो सरकार र बर्चस्व चाहिएको छ । एमालेलाई मधेश प्रदेशभन्दा पनि प्रतिनिधिसभामा राम्रो उपस्थित चाहिएको छ । यी स्वार्थले दुई दलको मिलनबिन्दु भेटिएको विश्लेषण पनि भइरहेको छ । अर्को कारण मधेश प्रदेशमा जसपा र सत्तारुढ गठबन्धन दलको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबीच बढ्ता प्रतिस्पर्धा रहेको छ । यी दुवै दलको जनाधार क्षेत्र भनेको मधेश हो । यस्तोमा दुवै शक्ति एक भएको खण्डमा त्यसले मधेसकेन्द्रीत आफनो पार्टीलाई बढी क्षति हुने देखेर पनि जसपा सत्तारुढ गठबन्धनबाट बाहिरिएको बताईन्छ ।
स्थानीय तह निर्वाचनमा कांग्रेसले नै बढी धोका दिएको जसपाभित्र एक प्रकारको बहस चलेको थियो । जनकपुर उपमहानगरपालिकामा जसपाका मेयरका उम्मेदवार लालकिशोर साहलाई हराउन कांग्रेसकै नेता बिमलेन्द्र निधिले स्वतन्त्र उम्मेदवार खडा गरेका थिए ।
त्यसैगरी, जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले सत्तारुढ गठबन्धनबाटै विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएका थिए । तर त्यहाँ सत्तारुढ गठबन्धन दल कांग्रेसका उम्मेदवार मेयरमा निर्वाचित भए पनि यादव भने पराजित भए । कांग्रेसको असहयोगकै कारण यादव पराजित भएका थिए। त्यही बेलादेखि जसपा कांग्रेससँग आन्तरिक रुपमा असतुष्ट रहेको थियो । निर्वाचनमा कांग्रेसभन्दा एमाले कार्यकर्ताहरुमा अनुशासित बढी देखिन्छ । एमालेको संगठित भोट कांग्रेसभन्दा बढी रहेको छ । यस्तोमा एमालेले इमान्दारीपूर्वक सहयोगमा थप सहज हुने जसपाको विश्लेषण रहेको छ । पछिल्लो समय जसपाका छाडेर कतिपय सांसद तर नेताहरु अन्य पार्टीमा प्रवेश गरेका छन् ।