
जनकपुरधाम, । नेकपा एमालेबाट मधेश प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार रहेकी फूल कुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् ।नेपाली कांग्रेसका सहमहामन्त्री तथा धनुषा–४ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले उनलाई पार्टीमा प्रवेश गराएका हुन् ।कांग्रेस प्रवेश गरेकी महतोले एमालेभित्र तानाशाही प्रवृत्ति रहेको र मधेशी जनता तथा कार्यकर्तालाई भ्रममा राखेर नेताहरुले राजनीतिक स्वार्थ पूरा गरिरहेको कारण आफू असन्तुष्ट भएर एमाले परित्याग गरेको बताइन् ।देशमा सबैभन्दा बढी नागरिकताबिहीन मधेशमै रहेको र अहिले मधेशको मुख्य मुद्दा पनि नागरिकता नै रहेकाले त्यस विधेयकलाई अड्काएर एमालेले मधेश र मधेशी जनतालाई धोका दिएको आरोप लगाइन् । उनले व्यक्तिगत रुपमा आफुलाई एमालेले समानुपातिक सूचीमा राखे पनि मधेश र मधेशी जनताका लागि एमालेले धोका दिइरहेका कारण एमाले छाडेको बताइन् ।जनकपुरधाम उपमहानगरपालिका २२ मा आयोजित कांग्रेसको घरदैलो अभियानका क्रममा महतोलाई सहमहामन्त्री यादवले पार्टीमा भित्र्याएका हुन् ।