LIVE
जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी तीव्र, १७ बोगीसहितको रेलबाट परीक्षण | एक लाख घुससहित सर्लाहीमा नायव सुब्बा पक्राउ | कर्मचारी सरुवामा विभेद र राजनीतिक हस्तक्षेपको आरोप, चुरे संरक्षण अभियान आन्दोलित | १९ वर्षदेखि अधुरो रामजानकी रंगशाला ः बजेट आयो, खर्च भएन ः अब वार्षिक २५ करोड लगानीको तयारी | विद्युत् प्राधिकरण बाधक बन्दा अलपत्र भयो मधेशको सौर्य सपना | चक्रवातको सम्भावना ः पाकेको धान काटन महोत्तरी प्रशासनको आग्रह | | एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द |

जनकपुरधाम । जनकपुरधाम र भारतको अयोध्याबीच प्रस्तावित रेल सेवा सञ्चालनको तयारीले गति लिएको छ । रामायण सर्किटलाई जोड्ने लक्ष्यसहित अघि बढाइएको योजनाअन्तर्गत बिहीबार १७ बोगीसहितको भारतीय रेल जनकपुरधाम आइपुगेपछि सेवा सञ्चालनको पूर्वतयारीले थप गति लिएको हो ।

भारतीय रेल्वेको डब्ल्यूडीपी–४ डी ४०३७० नम्बरको रेल अयोध्याबाट जनकपुरधामस्थित कुर्था रेल्वे स्टेसन ल्याइएको थियो । रेल सेवा सञ्चालन गर्नुअघि प्राविधिक अवस्था, सुरक्षा व्यवस्था र रेलमार्गको पूर्वाधार परीक्षण गर्न नेपाल र भारतका रेल्वे तथा सुरक्षा निकायका अधिकारीहरूले संयुक्त निरीक्षण गरेका हुन् ।

परीक्षण टोलीमा भारतीय रेल्वेका उच्च अधिकारीदेखि नेपाली रेल्वे र सुरक्षा निकायका प्रतिनिधिसम्म सहभागी थिए । पूर्वमध्य रेल हाजीपुर जोनका उपमहाप्रबन्धक अमरेन्द्र कुमार, मण्डल रेल प्रबन्धक ज्योति प्रकाश मिश्र, रेलवे सुरक्षा बल हाजीपुरका प्रधान मुख्य सुरक्षा आयुक्त अमरेश कुमार, एसएसबीका कमान्डेन्ट सञ्जीव कुमार सिंह, नेपाल रेल्वेका महाप्रबन्धक परिवेश पराजुलीलगायत अधिकारी परीक्षणमा सहभागी भएका थिए ।

जयनगरबाट सुरु भएको निरीक्षण टोलीले नेपालतर्फको वैदेही रेल्वे स्टेसनमा समेत पुगेर स्थलगत परीक्षण गरेको थियो । टोलीले रेलमार्गको अवस्था, स्टेसनको पूर्वाधार र सुरक्षा व्यवस्थाबारे जानकारी लिएको थियो ।

नेपाल रेल्वेका महाप्रबन्धक परिवेश पराजुलीले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको योजनाअनुसार प्रारम्भिक परीक्षण गरिएको बताए । उनका अनुसार सेवा सञ्चालनको मिति, व्यवस्थापन र सञ्चालन प्रक्रियाबारे नेपाल तथा भारतबीच औपचारिक सम्झौता हुन बाँकी छ ।

प्रारम्भिक छलफलमा सातामा एक दिन जनकपुरधामबाट अयोध्यासम्म रेल सञ्चालन गर्ने र अर्को दिन फर्काउने प्रस्ताव गरिएको छ । सेवा सञ्चालनसम्बन्धी औपचारिक सहमति भएपछि नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा सेवाको उद्घाटन गर्ने विषयमा पनि छलफल भइरहेको पराजुलीले जानकारी दिए । यद्यपि, यस विषयमा दुवै देशबीच औपचारिक निर्णय हुन बाँकी छ ।

प्रस्तावित योजनाअनुसार नेपालतर्फ जनकपुरधाम र जयनगरमा रेल स्टेसन रहने प्रारम्भिक खाका तयार गरिएको छ । भारततर्फका स्टेसन र रेलको रुट भने अझै निश्चित भएको छैन । त्यस्तै, सेवा सञ्चालनको तयारीस्वरूप जनकपुरधाम रेल्वे स्टेसनको प्लेटफर्म स्तरोन्नतिको काम भइरहेको छ ।

धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका मिथिला र अवध क्षेत्रलाई रेलमार्गबाट जोड्ने यो योजनाले जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ । तर, यात्रु व्यवस्थापन, सीमासुरक्षा, प्राविधिक मापदण्ड र आवश्यक पूर्वाधारका विषयमा दुई देशबीच सहमति जुटेपछि मात्रै रेल सेवा सञ्चालनको बाटो स्पष्ट हुनेछ ।

अन्तर्राष्ट्रिय रेल सेवाअघि जनकपुर रेल्वेको अवस्था सुधार्न माग

अयोध्या–जनकपुर रेल सेवा सञ्चालनको तयारी भइरहेका बेला जनकपुरधामस्थित नेपाल रेल्वेको वर्तमान अवस्था सुधार्नुपर्ने मागसमेत उठेको छ । जनसरोकार
अभियानले यात्रुले दैनिक भोग्दै आएका समस्या समाधान गर्न नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ ।
अभियानका पदाधिकारीले बुधबार रेल्वे कम्पनीको जनकपुरधामस्थित कार्यालय पुगेर स्टेसन तथा प्लेटफर्मको सरसफाइ, यात्रु सुविधाको व्यवस्थापन, भौतिक संरचनाको मर्मतसम्भार र रेल्वे सेवाको विस्तारलगायत विषयमा तत्काल सुधार गर्न माग गरेका हुन् । अभियानका संयोजक जितेन्द्र महासेठले जनकपुरधाम धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको अन्तर्राष्ट्रिय पहिचानको सहर भएकाले यहाँको रेल्वे सेवा पनि सोहीअनुसार व्यवस्थित र सुविधासम्पन्न हुनुपर्ने बताए ।
उनले जनकपुरधाम माता जानकीको जन्मभूमि तथा भगवान् राम र सीताको विवाहस्थलका रूपमा विश्वभर परिचित रहेको उल्लेख गर्दै भारतबाट आउने धार्मिक पर्यटक तथा तीर्थयात्रीका लागि रेल्वे स्टेसन पहिलो प्रवेशद्वार हुने भएकाले यसको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए ।

सम्बन्धित खबर