जनकपुरधाम ।
सम्भावित चक्रवात आँधी र भारी वर्षाका कारण जनजीवन तथा कृषि क्षेत्रमा असर पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र शक्तिशाली बन्दै चक्रवात आँधीमा परिणत हुन सक्ने र त्यसको प्रभावले नेपालको मौसमसमेत प्रभावित हुन सक्ने सम्भावना रहेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको सूचनाअनुसार कार्तिक ११ गते बुधबारदेखि कार्तिक १५ गते आइतबारसम्म मौसम प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
उक्त अवधिमा भारी वर्षा हुँदा नदी तथा खोलामा पानीको बहाव बढ्ने, बाढी, डुबान, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने जनाइएको छ ।
सम्भावित वर्षाबाट धानबालीमा क्षति पुग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रशासनले किसानलाई कार्तिक १२ गते बिहीबारअघि नै खेतमा पाकेको धान काट्न र भित्र्याउन आग्रह गरेको छ ।
काटिसकेको धानलाई समेत पानीबाट जोगिने सुरक्षित स्थानमा राख्न अनुरोध गरिएको छ ।
त्यस्तै, खराब मौसमका कारण यात्रा प्रभावित हुन सक्ने भएकाले यात्रामा निस्कनुअघि आधिकारिक मौसम पूर्वानुमान तथा यातायातसम्बन्धी सूचना लिन प्रशासनले आग्रह गरेको छ ।
मेघगर्जन र चट्याङसहित वर्षा भइरहेका बेला पक्की घरभित्र बस्न तथा रुख, बिजुलीका पोल र खुला स्थानमा नबस्न पनि सूचनामार्फत अनुरोध गरिएको छ ।
बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको छ ।
सम्भावित विपद्बाट सुरक्षित रहन नेपाल मौसम विज्ञान विभाग, संघीय तथा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वसूचना तथा चेतावनी नियमित रूपमा लिन र सम्बन्धित निकायका निर्देशन पालना गर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।





