
२०६३ को मधेस आन्दोलनबाट उदाएका नेता हुन्, उपेन्द्र यादव । हुनलाई सुनसरीमा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलाल समूहबाट दीक्षित यादवले लामो समय एमाले भएर राजनीति गरे ।
त्यसको केही समयपछि माओवादीसँग जोडिएर पनि काम गरे । केही वर्ष माओवादीमा काम गरेका यादवले बाहिरी सक्रियताका लागि मधेसी जनाधिकार फोरम नामक एनजीओको स्थापना गरेका थिए । यही फोरममार्फत मधेसी नागरिकको उत्पीडिनको मुद्दा उठाउने गरेका थिए ।
माओवादीको सशस्त्र युद्धकै समयमा माओवादी नेता मातृका यादव र सुरेश आलेमगर पक्राउ परे, त्यतिबेला पक्राउ परेर पनि छुटेका उपेन्द्र यादव काठमाडौं फर्केर माओवादीसँग टाढिन थालेका थिए । २०६३ पछि भने पूरै टाढिएका यादवकै कारण रौतहटको गौरमा माओवादी केन्द्रका २७ जना कार्यकर्ता मारिएका थिए । दुवै पक्षको झडपमा माओवादीका कार्यकर्ता मारिएको त्यो घटना अहिलेसम्म विवादमै रहेको छ ।
अर्थात्, कम्युनिस्ट राजनीतिको पृष्ठभूमिबाट उदाएका यादव १५ वर्षदेखि क्षेत्रीय राजनीतिमा सक्रिय थिए । मधेस प्रदेशमा केन्द्रीत भएर राजनीतिक गतिविधि गरिरहेका यादवलाई अहिलेको चुनावमा भने ठूलो झट्का लागेको छ । २०६४ यताका हरेक चुनावमा सानदार जित निकाल्दै आएका यादवका लागि सप्तरी २ योपटक अफापसिद्ध हुने संकेत देखिएको छ ।
अघिल्लो चुनावमा सुनसरी र मोरङ छोडेर सप्तरी २ मा आएका यादवले सानदार जित निकालेका थिए । तर, तिनै यादवलाई यो पटक सीके राउतले पछाडि पारेका छन् । मधेसलाई छुट्टै देश बनाउनुपर्ने मागसहित विखण्डनको नारासहित आन्दोलित राउतको अवतरणले यादवलाई धक्का लागेको छ । यादवलाई धक्का दिनकै लागि राउतले स्थानीय चुनावअघिदेखि जसपाविरुद्ध आन्दोलन केन्द्रित गरेका थिए ।
किसान आन्दोलनको नाममा होस् वा भ्रष्टाचारको मुद्दासँग जोडेर जसपाविरुद्ध आन्दोलित राउतले स्थानीय तहमा गतिलो प्रभाव देखाउन नसके पनि अहिले भने प्रभाव देखाएका छन् । माओवादी केन्द्रमा प्रभावशाली नेता उमेश यादवलाई पराजित गराएर प्रदेशसभामा सीके राउतकै पार्टीका नेता महेश यादव निर्वाचित भइसकेका छन् ।
राउतको उदयसँगै उपेन्द्र यादवको पराजयको यात्रा आरम्भ भएको त होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ । स्थानीय चुनावमा कांग्रेससँगको गठबन्धनमा छोरा अमरेन्द्रलाई विराटनगर महानगरपालिकाको उपमेयर उम्मेदवार बनाएका थिए र पराजित भए ।
अहिले एमालेसँग मिलेर आफू जित निकाल्ने प्रयासमा थिए । त्यो पनि सफल हुने सम्भावना निकै कम छ । अर्थात्, उपेन्द्रको दुर्भाग्य, कांग्रेससँग मिल्दा छोरा पराजित भए, एमालेसँग मिल्दा आफू । मधेस आन्दोलनबाट उदाएका नेता उपेन्द्र यादव चुनावी नतिजामा पछाडि पर्दै जाँँदा त्यही आन्दोलनलाई बल दिन कांग्रेस छोडेका महन्थ ठाकुरको अवस्था पनि कमजोर छ ।
महोत्तरी ३ मा प्रतिस्पर्धामा रहेका ठाकुरलाई रामअवतार रायले पछाडि पारेका छन् । ठाकुर पराजित हुने निश्चित भयो भनेर अहिले भन्न सकिने अवस्था त छैन, तर उनीप्रतिको आकर्षण कमजोर भइसकेको रहेछ भन्नेचाहिँ मतपरिणामले देखाउँछ । ठाकुर चुनावअघि नै कमजोर देखिइसकेका थिए । उनलाई साथ दिएका नेताहरू नै हराउने अभियानमा सक्रिय थिए ।
लामो समय ठाकुरलाई साथ दिएका नेता वृषेशचन्द्र लाल महोत्तरी ३ मा ठाकुरलाई पराजित गराउनकै लागि उम्मेदवार बनेका थिए । ठाकुरका दाहिने हात मानिएका लालले मात्र होइन, गोविन्द चौधरीदेखि विजय सिंहसम्मले साथ छोडेका थिए । मधेस आन्दोलन मात्र होइन, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) स्थापना गर्नका लागि गतिलो आडभरोसा दिएका हृदयेश त्रिपाठीले पनि साथ छोडेको पाँच वर्ष भइसक्यो । निरन्तर ओरालो यात्रामा रहेका ठाकुरलाई अहिले चुनावी नतिजाले पनि साथ दिएको छैन ।
त्यही अवस्था देखिन्छ राजेन्द्र महतोको पनि । अघिल्लो चुनावमा सर्लाहीबाट धनुषा ३ झरेका महतो अहिले सर्लाही नै उक्लेका छन् । तर, अर्का सहकर्मी महेन्द्रराय यादवसँग टक्कर लिइरहे पनि मतपरिणाममा पछाडि नै परेका छन् । हुन त महतोले २०४७ को सद्भावना पार्टीबाट राजनीति आरम्भ गरेका हुन् । उनले सद्भावना पार्टीबाटै प्रशस्त सुविधा लिएका छन् । पटकपटक मन्त्री भएका छन् । तर, २०६३ को मधेस आन्दोलनको ठूलो हिस्सा भने महतोको तर्फबाट पनि थियो । यादव, महतोलाई साथ दिनकै लागि कांग्रेस छोडेर महन्थ ठाकुर, विजय गच्छदार, शरतसिंह भण्डारीसहितको ठूलो पंक्ति मधेस आन्दोलनमा होमिएको थियो ।
त्यही आन्दोलनबाट उदाएका राजकिशोर यादव पनि अहिले सप्तरीमा कांग्रेस नेतृ चित्रलेखा यादवसँग पछाडि परेका छन् । त्यसो त, रौतहट १ बाट धनुषा ३ मा गएका अनिल झा पनि अहिले पछाडि नै परेका छन् । एमालेकी जुली महतोसँग प्रतिस्पर्धा गरिरहेका झाका लागि जित निकाल्न निकै सकस परिरहेको छ । यता, हृदेयेश त्रिपाठी, विजय गच्छदार पनि पछाडि परेका छन् ।