
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले अनलाइन कारोबार र नगद कारोबार दुवै घटेको छ । जनताको हातमा भएको पैसा पनि घटेको छ । भलै बैंकमा केही मात्रामा पैसा बढेको छ । तर, बैंकमा पैसाको माग भने कम छ ।
पछिल्ला केही दिन शेयर कारोबारमा सुधार आए पनि विगत ३ महिनादेखि औसत समयको तुलनामा शेयर, घरजग्गा र सुनको कारोबार घटेको छ । मंसिरमा बिहेको सिजन हुने भएकाले कात्तिकको तुलनामा बढी कारोबार त हुने नै भयो तर गत मंसिरको तुलनामा ५० प्रतिशतभन्दा न्यून मात्रामा बिक्री रहेको व्यवसायीको भनाइ छ ।
पुस लागेपछि त सर्वसाधारण बैंक र सुन पसलमा पैसा बोकेर होइन, सुन बोकेर जान थालेका छन् । सुन पसलले सबै ग्राहकको सुन किन्न पनि सकेको छैन ।
‘पैसाको संकट परेपछि ६ तोला सुन बोकेर पाँचवटा सुन पसल धाएँ, सबैले पैसा छैन भन्छन्, छैटौँले कम पैसा दिने गरी मात्रै राखिदियो’, पर्वतका शिव सापकोटाले भने, ‘आफ्नो कारोबार नियमित सञ्चालन गर्न निकै मुस्किल परिसक्यो, विगत १० वर्षदेखि व्यवसाय गरिरहेको छु । कोरोनाको समयमा पनि यस्तो समस्या भाेगिएकाे थिएन ।’
सामान्यतया मानिस पैसा भएको समयमा सुन खरिद गर्ने गर्छन्, कारण जुनसुकै बेला पनि बेच्न सकिन्छ र औसत भाउ पनि बढेको नै हुन्छ । अहिले सुनको मूल्य आकाशिएको छ । तर, बजारमा सुन बेचेर पैसा पाउन सकिने अवस्था छैन ।
मैतीदेवीमा रहेको पञ्चकन्या ज्वेलर्सका सञ्चालक सुमन श्रेष्ठ सुनचाँदीको कारोबार अहिले ठप्प रहेको बताउँछन् । मानिस किन्न आउने छँदै छैनन्, बेच्न मात्रै आउँछन् । हामी लगानी गर्न सक्ने अवस्थामा छैनाैँ । कारोबार पूर्ण नै ठप्प छ भन्दा पनि हुन्छ ।’उनी सुनसँगै कपडाको व्यापार पनि गर्छन् । कपडाको कारोबारमा पनि त्यस्तै प्रभाव देखिएको उनको भनाइ छ । ‘मानिससँग पैसा नै छैन जस्तो लाग्न थाल्यो । कारोबार नै हुँदैन । बैंककाे ब्याज तिर्नकै लागि पनि पैसा उठाउन नसकिने अवस्था हुन थाल्यो ।
डिल्ली बजारमा लामो समयदेखि ज्वेलरी व्यवसाय गर्ने गणेशप्रसाद लकान्द्रीको पनि यस्तै गुनासो रहेको छ । औसत समयमा दिनको २०/२२ तोला सुन बेच्ने उनी अहिले बिक्रीका हिसाबले ठप्प नै रहेको गुनासो गर्छन् ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका सह-कोषाध्यक्षसमेत रहेका उनले तीनवटा कारण पहिल्याएका छन् कारोबार नहुनुमा ।
१– यो समय अफ सिजन हो ।
२– सुनको मूल्य अत्यधिक बढेकाे छ ।
३– मानिससँग अत्यावश्यक काममा खर्च गर्नेबाहेक पैसा खर्च गर्ने क्षमता नै छैन ।
बिक्री नभए पनि विगतमा किनेकाे सुन फिर्ता गर्ने वा सुन बेच्न आउनेको भने पसलमा भिड नै लाग्ने गरेको उनी बताउँछन् ।
‘अहिले दिनमा १/२ तोला मात्रै सुन बिक्री हुन्छ । त्यो पनि सधैँ हुने गरेको छैन । तर, फिर्ता गर्न आउने सुन दिनमा २४/२५ तोलाभन्दा बढी हुन्छ । सधैँ सबै सुन त सकार्न सकिएको पनि छैन’, उनले थपे, ‘आफैँले बेचेको सुन त फिर्ता गरौँ नै भन्ने हुन्छ तर हामीलाई पनि पैसाको अभाव छ ।’
गौरब सुनचाँदी पसल चितवन टाँडीका सञ्चालक पनि अहिले मानिसहरू सुन बेच्न मात्रै आउने गरेकाे बताउँछन् । उनले निश्चित समयका लागि सुन धितोमा राखेर पैसा लिनेहरूले पनि पैसा फिर्ता गर्न नसकिरहेकाे बताए ।
सुन पसलहरूले सुनको कारोबारसँगै सुन धितोमा राखेर पैसाको कारोबार पनि गर्ने गरेका हुन्छन् । वैधानिक रूपमा यसो गर्न नपाए पनि चिनेजानेको र आफन्तहरूमा भने यसरी पनि काम चलाउनुपर्ने बाध्यता हुने उनीहरूको भनाइ छ । तर, अहिले भने यसरी सुन धितो राखेर रुपैयाँ दिन सकिने अवस्था नरहेकाे व्यवसायी बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मणिकरत्न शाक्य मानिसहरू पैसा खर्च गर्न नसक्ने अवस्थामा रहेकाले व्यवसायीहरूलाई पनि समस्या परिरहेकाे बताउँछन् । उनले १ बराबर १० को रेसियोमा सर्वसाधारणबाट सुन खरिद र बिक्री हुने गरेको बताए ।
‘आधिकारिक तथ्यांक त छैन । व्यवसायीको गुनासो र हाम्रै पसलको कारोबारलाई पनि हेर्ने हो भने एक तोला सुन बिक्री गर्दा हामीले १० तोला फिर्ता गर्नुपरेको छ’, उनले भने ।
अहिले सुन पसलहरूमा र बैंकमा पनि सुन थुप्रिएको व्यवसायी बताउँछन् । यस्तै, अवस्था अझै एक/दुई महिना कायम भयो भने सटर नै बन्द गर्नुपर्ने अवस्था आउने उनीहरूको चिन्ता छ ।