काठमाडौं । गत बुधबारबाट हलमा प्रदर्शन भइरहेको फिल्म ‘पठान’बाट शाहरुख खानको क्रेज फेरि एकपटक स्पष्ट देखिएको छ । यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । सामाजिक सञ्जालमा धेरै भिडियो भाइरल भइरहेका छन् । यीमध्ये धेरैजसो शाहरुख र सलमान खानको एक्सन दृश्य भएका भिडियो छन् ।वास्तवमा पठानमा सलमानको करिब २० मिनेटको केमियो भूमिका छ र फ्यानले दुवैको जुगलबन्दीलाई मन पराइरहेका छन् । पठानमा सलमानले शाहरुखलाई बचाए तर अब पठानको पालो आएको छ । हो, अब शाहरुख सलमानको आगामी फिल्म ‘टाइगर ३’ मा पनि देखिनेछन् ।
शाहरुख र सलमानले ६ महिनादेखि टाइगर ३ को मिति तय गर्ने प्रयास गरिरहेका छन् । दुवै कलाकार आ–आफ्नो प्रोजेक्टको सुटिङमा व्यस्त छन् । सलमान ‘किसीका भाइ किसीकी जान’ मा व्यस्त छन्, जुन यस वर्षको अप्रिलमा इदमा रिलिज हुने तयारीमा छ । जहाँ शाहरुख साउथ निर्देशक एट्लीको फिल्म ‘जवान’ र राजकुमार हिरानीको अर्को फिल्म ‘डंकी’मा काम गरिरहेका छन् । तर पठानमा आफ्नो सिक्वेन्सको सिर्जना भएको क्रेजलाई मध्यनजर गर्दै सलमान र शाहरुखले छिट्टै आफ्नो जासूस सिक्वेन्स सुटिङको मिति तय गर्ने बताइएको छ ।
शाहरुखसहित दीपिका पादुकोण र जोन अब्राहमको प्रमुख भूमिका रहेको पठानले दुई दिनमा भारतीय बक्स अफिसमा आक्रामक माइ गरेको छ । देशका ५ हजार ५०० स्क्रिन र विदेशमा २ हजार ५०० स्क्रिनमा रिलिज भएको सिद्धार्थ आनन्द निर्देशित फिल्मले पहिलो दिन विश्वभर १०० करोड भारुभन्दा बढीको कलेक्सन गरेको छ । दोस्रो दिन यो फिल्मले विश्वभर ११३ करोड भारु कमाएको छ ।