LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

विराटनगर । भारतको बथनहास्थित मीरगञ्ज पुलबाट मालवाहक सवारी आवतजावत गर्न भारतीय पक्षले अनुमति दिएपछि नेपालका व्यापारी खुशी भएका छन् । लामो समयदेखि उक्त पुलमा नेपाली व्यापारी एवं उद्योगीलाई आवतजावत गर्न प्रतिबन्ध लगाएपछि सुनसरीको भण्टाबारीबाट माल आयात गर्ने गरेका थिए । चार लेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक वर्षपछि आधिकारिक रूपमा शुक्रबार सूचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।

मोरङ व्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल सञ्चालन गर्न दिइएको दबाबका कारण अनौपचारिक रूपमा पुल सञ्चालनमा आएको हो । यो अनुमतिले भारतलगायत तेस्रो मुलुकबाट आउने कच्चा पदार्थलगायतको सामग्री बोकेका मालवाहकलाई सुनसरीको भण्टाबारी नाकाबाट आउनुपर्ने बाध्यता हटेको छ ।उक्त पुल सञ्चालनपछि ११६ किलोमिटरको दूरी अब चार किलोमिटरमा झरेको छ । भारतको पटनास्थित कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गरी नयाँ मीरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालवाहक आवतजावत गर्ने अनुमति दिइएको जनाएका छन् ।

यसअघि भारतका जोगबनीस्थित ल्याण्ड कष्टम र आईसीपीबीच समन्वय हुन नसक्दा आंशिक रूपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो । विभागले अब तेस्रो मुलुकबाट आयात निर्यात हुने सामानका लागि भण्टाबारी नाका पुग्नु नपर्ने जनाउँदै मातहतका सबै निकायलाई बोधार्थ दिँदै सूचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । सूचनासँगै विराटनगरको आईसीपीबाटै आयात र निर्यात औपचारिक रूपमा शुरू भएको छ ।

व्यापार संघका अध्यक्ष नवीन रिजालको अगुवाइमा पटक–पटक नेपाल र भारतीय अधिकारीलाई पुल सञ्चालनका लागि अनुरोध गरेपछि अनौपचारिक रूपमा दुई महीनादेखि पुल सञ्चालनमा आएको थियो । पुल सञ्चालनमा आए पनि भारत र नेपालका लागि मात्र कार्गो त्यस मार्गबाट ढुवानी गर्न मिल्थ्यो । तेस्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टाबारी नाका प्रयोग हुँदै आएको थियो ।यसअघि २०२२ जनवरी ११ मा मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गोको आवतजावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरिएको सूचना जारी गरिएको थियो । हाल उक्त प्रतिबन्ध फुकुवा गर्दै भीमनगरतर्फको रुट खारेज गरी पहिलेकै अवस्थामा जोगबनी भन्सार र आईसपीबाट माल आवतजावतका लागि सबैलाई जानकारी दिइएको हो ।

पुल पूर्ण रूपमा सञ्चालनमा आएपछि अहिले दैनिक दुई सयसम्म मालवाहक सवारी साधन भारतीय कष्टम हुँदै विराटनगर आईसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । एउटा मालवाहक सवारी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा रू. १६ हजार अतिरिक्त भाडा तिर्नुपर्थ्यो ।अब एक वर्षमा व्यवसायीले रू. ११ करोड ५२ लाख बराबरको अतिरिक्त ढुवानी भाडा तिर्नुपर्ने बाध्यता हटेको छ । मीरगञ्ज पुल भासिँदा विराटनगर भन्सारबाट एक वर्षमा हुने रू. २२ अर्ब ५० करोड बराबारको कारोबारमा गिरावट आएको थियो । –रासस

सम्बन्धित खबर