
काठमाडौं । प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका चारजना प्रहरी अधिृकतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।आइतबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच एआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णयअनुसार उनीहरु एआईजीमा पदोन्नति भएका थिए ।
प्रहरी महानिरीक्षक कुँवरले आगामी दिन अझ चुनौतीपूर्ण हुनसक्ने उल्लेख गर्दै माथिल्लो विभागले बनाउने योजना, तयारी र नीतिले यस्ता चुनौतीको सामना गर्न सक्षम हुने बताए । साथै सम्भावित अराजकतालगायतका कानुनविरुद्धका गतिविधिको आकलन गरी त्यसलाई निस्तेज गर्नमा केन्द्रित रहन उनले प्रहरी अधिकृतलाई निर्देशनसमेत दिए ।