काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको संसद बैठक अझै सुरु भएको छैन ।मध्यान्ह बैठक सुरु भए लगतै एमाले सांसदहरुले पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा आपत्ति जनाए । १० जेठमा बोलेका दाहालले ‘पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचार’ भनेका थिए ।
२० मिनेटका लागि स्थगित भएको बैठक यो समाचार तयार पार्दासम्म सुरु भएको छैन ।
संसद बैठक स्थगित भएपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए । त्यो छलफलमा एमालेका प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला सहभागी थिए । उनीहरुले माओवादी सांसदले माफी माग्नुपर्ने माग गरेका थिए ।
तर माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय छानबिन समिति बनाउने प्रस्ताव गरे । एमालेले पनि के हो प्रष्ट हुनुपर्ने बताएको र अरुले पनि प्रश्न उठाएकाले संसदीय समिति बनाएर छानबिन गर्न उपयुक्त हुने उनको तर्क थियो । तर सहमति जुटेन ।
स्थगित भएको २ घण्टासम्म पनि सहमति नजुटेका कारण संसद सुरु हुन सकेन र संसद सचिवालयले सूचना निकालेर बैठकको समय सारेको छ । दिउँसो ३ बजे बैठक बस्ने भनिए पनि अझै सुरु भएको छैन ।अहिले फेरि सभामुखले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् ।