
जनकपुरधाम । लामो समयदेखि वर्षाको पखाईमा रहेका मधेश प्रदेशका किसानहरु सोमवार पानी पर्दा हर्षित भएका छन् ।
वर्षा नहुदाँ धान रोपाईन गर्न नसकेका किसानहरुले सोमवार दिउँसो र साँझ परेको पानीले भने केहि राहत महसुस गरेका छन् । दमकल लगायतका मद्दतले धान रोपाई भएका खेतहरुमा पानीको अभावमा गाँज परेको र बेर्ना सुखेकोमा चिन्तामा रहेका किसानहरुले भने सोमवारको वर्षाले हर्षित भएका छन् । पानी नपर्दा खडेरी लाग्ने चिन्ता थियो, धनुषा कमला नगरपालिका सघाराका किसान हविव राईनले भने,‘ आज साँझ भएको वर्षाले केहि राहत महसुस भएको छ ।’
दमकल, खोलानालाको मद्दतले जसोतसो धान रोपिएको खेतमा धानले गाँज हाल्न नपाउँदै पानीको अभावले गवारो किराको प्रकोप देख्न थालेको थियो । धानरोपी सकेपछि पानीको आवश्यकता पर्ने हुँदा रोपाई गरेको खेतमा पानी सुखेपछि गवारो किराको प्रकोप लाग्ने गरेको कृषि विज्ञहरुको भनाई छ । तर सोमवार थोरै पानी परेपछि ति किराको प्रकोपबाट राहत हुने उनीहरुको भनाई छ ।