जनकपुरधाम । कात्र्तिक कृष्ण औँसीका दिन समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ ।
दिपावलीको अवसरमा जनकपुरधामलाई दुल्ही झै सिङ्गारिएको छ । स्थानीय व्यापारीहरु विहानदेखि पसल, व्यापारिक प्रतिष्ठानको सरसफाई तथा त्यसलाई सजाउन विभिन्नि किसिमका इलेट्रिक बल्फहरु लगाईरहेका देखिन्छ ।
त्यसैगरि, आज साँझ पसलको अगाडी केराका डफोर(रुख)मा बाँसको चिरपटलाई लौरो बनाई त्यसमा माटोको दिउरी राख्न अहिलेदेखि नै व्यापारीहरुले तयारी गरिहेका छन् । त्यसैगरि, आज विहानैदेखि फलफुल पसल तथा मिटाईका पसलहरुमा सर्वसधारणहरुको चहलपहलन छ । तर विगतका वर्षहरु भन्दा यस वर्ष बजारमा खासै किनमेल भईरहेको छैन । जनकपुरधामको राम मन्दिरको छेउमा रहेको मिठाईको पसल संचालक संजय साहले भने,‘ यस वर्ष व्यापार छैन । लक्ष्मी पुजामा मिठाई आवश्यक भएकोले थोरै विधि पुर्याउन लिएर जान्छन् । तर विगतका वर्षहरु भन्दा विक्रि छैनन् ।’ उनले आर्थिक मन्दीको कारण सर्वसधारणले विगतका वर्षहरु जस्तो किनमेल गर्न नसकेको बताए ।
लक्ष्मी पुजाका लागि फलफुल लिन आएका जनकपुरधाम– १६ कपिलेश्वरका रामतपेश्वर साहले भने,‘ प्रत्येक वर्ष लक्ष्मीपुजामा ५ किलोभन्दा बढी फलफुल खरिद गर्थे । तर यस वर्ष आर्थिक मन्दी छ । कुनै कारोवार छैन । त्यसले स्याउ, अंगुर, सन्तुला, अनार सबैबाट मिलाएर २ किलो मात्रै खरिद गरेको छु । पैसा भए पो मान्छेले खर्च गर्छन । तर अहिले आर्थिक मन्दीको कारण सबै अस्तव्यस्थत छ ।’
आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यसै विश्वासका कारण आज घरघरमा दीप बालेर दीपावली गरिन्छ । घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ ।
यसरी अङ्कित गरिएको पाइलामा कमलको फूलको शय्या बनाइदिएमा त्यस घरलाई लक्ष्मीले कहिल्यै छोड्दिनन् भन्ने विश्वास रहेको छ ।
लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति भित्रियो, लक्ष्मी स्थिर भइरहून् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने शास्त्रीय विधि रहेको धर्म गुरुहरु बताउछन् ।