
फाएजा फहमीदा
जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा भव्य तथा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठका अवसरमा जनकपुरधामका सरोवर तथा पोखरीहरूलाई नव दुल्ही जस्तै सिंगारिएका छन् । विभिन्न युवा क्लब तथा स्थनीय युवा सामुहिक रुपमा त्यसका लागि सक्रयि भएका छन् । जनकपुरधामका करिब दुई दर्जन पोखरी, दूधमति नदी र बिग्ही नदीका डिलहरूलाई सजाउने काम भइरहेको छ ।
सो कामका लागि स्थानीय युवा क्लबहरू तथा युवाहरू जोडतोडका साथ लागेका छन् । त्यस्तै यहाँका गंगासागर, धनुषसागर, महराजसागर, अग्निकुण्ड, गोरधोइ पोखरी, दशरथ तलाउ, अंगराजसर, बिहार कुण्डलगायतका पोखरीको डिलहरू पनि सजाइने काम तीव्र रुपमा भइरहेको छ ।
जनकपुरधाम उपमहानगरपालिका –१० की स्थानीय पुर्व प्रदेशसभा सदस्य प्रमिला देवि दासका अनुसार चार दिनसम्म मनाइने छठ पर्वको प्रत्येक दिन एउटा पर्व भएको हुनाले यसपर्वमा शुद्धता र सावधानी अत्यन्त जरुरी छ । शुक्रबारदेखि विधिवत् रुपमा छठपर्वको सुरु भएको छ । पहिलो दिन ब्रतालुहरू स्नान गरी शाकाहारी तथा शुद्ध भोजन गर्ने गर्छन् । जसलाई ‘नेहाइ खाइ’ पनि भन्ने गरिएको छ । यसलाई अरबा– अरबाइन पनि भनिन्छ । खरनाका दिन ब्रतालु महिलाहरू दिनभरि ब्रत बसी साँझमा सूर्य देउताको पूजा गरी सख्खर मिलाएको गम्हरीको खिर र रोटी आदि खाने चलन छ । सो पश्चात ब्रतालुहरू बिना अन्नजलको निराहार ब्रत सुरु गर्छन् । जुन ब्रत आइतबार अस्ताउँदो सूर्यलाई र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र समाप्ति हुन्छ ।
छठ पर्वमा ब्रतालुहरू दुई दिनसम्म बिना अन्नजल बस्नुपर्ने भएकोले यसलाई कठिन पर्वको रुपमा लिने गरेको महिला अधिकारकर्मी मुन्नी दासले बताइन् । चार दिनसम्म छठ पर्वको पहिलो दिन श्रद्धालु भक्तजनहरूले नुहाई खाई, दोस्रो दनि खरना, तेस्रो दिन अस्ताउदै गरेको सूर्यलाई र त्यसको भोलिपल्ट उदाउदै गरेको सूर्यलाई अर्घ दिई यो पर्व सम्पन्न हुन्छ ।
छठ पर्व मनाउने महिला वा पुरुष व्रतालुले औँशी तिथि लागेसँगै माछामासु वामनसाहारी भोजन त्याग गर्छन् । तिहारको चौथौ दिन नित्यकर्मपछि ब्रतमा बस्नेहरू लसुन, प्याज, उसिना चामलको भातबाहेक शुद्ध शकाहारी खाना, खीर, दूध, केरा खान्छन् । पञ्चमी तिथिमा दिनभरि निराहारपछि रातिमा गर्ने पूजा र फलाहारको यस दिनलाई खर्ना भनिन्छ । षष्ठीका दिन ब्रत बसिन्छ र ब्रत बस्नेहरूले अन्नजल ग्रहण गर्दैनन् ।
बिहानैदेखि स्वच्छापूर्वक छठका लागि परिकारहरू भुस्वा, टकुवा, लड्डुलगायतका तयार पार्छन् । करिव ४० घण्टासम्म भोकै बस्ने ब्रातालुले घण्टौसम्म पानीमा उभिएर अस्ताउदो सूर्य र उदाउदो सूर्यलाई अर्घ दिन्छन् ।
केही दशकअघि नेपालको तराई र भारतका बिहार, उत्तर प्रदेश लगायतका राज्यहरूका मनाइने यो पर्व पछिल्लो समय काठमाडौंसहित नेपालका पहाडी जिल्लाहरूमा पनि मनाइन्छ ।
छठमा प्राकृतिकका साथै एकता र अस्थााको पर्व भएकोले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको राजनीतिक विश्लेषक सिके लालले बताए । छठ पर्व पण्डा, पुरोहित, मन्त्र बिना तथा देदान्तिहरूको आडम्बरी प्रथाबाट मुक्त राखी विशुद्ध रुपमा लोक पर्व रहेको उनले बताए ।
छठ पर्वलाई अझ भव्य बनाउन जनकपुरमा रहेका आठवटा एफ।एम।, रेडियोमा पनि समाचारका समयबाहेकका समयमा छठ पर्वका गितहरू बज्ने गरेको सहजै सुन्न सकिन्छ ।
पुत्र प्राप्ति, पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पूरा होस् भने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा तराईका नदी, तलाउमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ ।
चैत महिनाको शुक्ल पक्षमा ‘चैती छठ’ कात्तिक महिनाको शुक्ल पक्षमा कात्तिकी छठ मनाउने परम्परा रहेको छ । तर कात्तिकी छठलाई बढी नै महत्वका साथ मनाउने गरिएको छ । यस पर्वअन्तर्गत षष्ठी तिथि अर्थात् पर्सी मंगलबार साँझ जलाशयमा नुहाएर ठकुवा, भुसवा ९चामलको पीठो र सख्खरको लड्डु०, ऊखु, नरिवल, बेसारको बोट, निम्बु, केरासहित मिष्ठानलाई बाँसले बनाइएको ढकिया, नाङलो, सुपती आदिमा राखेर नदी, पोखरी,नहरको छेउमा अस्ताउँदै गरेको र त्यसको भोलिपल्ट उदाउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ ।
छठ पर्व कारण बजारमा बढ्यो चहलपहल
तराई मधेशका प्रमुख पर्वमध्येको एक हो छठ पर्व । छठ पर्व नजिकिएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ । दिउँसै सुनसान देखिने जनकपुरधामका बजारमा छठका लागि सरसमान किनमेल गर्ने सर्वसधारणको चहपहल बढेको हो । आर्थिक मन्दीका कारण अन्य पर्व दसैँ, दिपावलीमा खासै व्यापार नभए पनि छठमा भने व्यापारमा केही सुधार देखिएको स्थानीय व्यापारीहरू बताउँछन् । छठ पर्वमा कपडादेखि माटोको भाँडो, बाँसबाट बनेका समाग्री नाङ्गगो, चंगेरासहितका सामानको माग बढेको छ । त्यसैगरी, खाद्यन्न समाग्रीहरू चिनी, पिठो, खाने तेलको माग बढेको छ ।
जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साहले दिपावलीदेखि बजारको आर्थिक कारोवारमा विस्तारै सुधार आएको बताए । ‘दसैँसम्म बजारमा सर्वसधारणको चहलपहल भए पनि आर्थिक करोवार खासै देखिएको थिएन’, उनले भने, ‘तर दिपावलीदेखि छठसम्म तुलनात्मक रुपमा सुधार देखिएको छ ।’
छठ पर्वमा अन्य सामग्रीभन्दा केरा, सन्तुला, स्याउसहितका फलफूलको कारोवार अत्यधिक हुने गरेको छ । यस वर्ष छठ पर्वलाई मध्यनजर गर्दै जनकपुरधामा झण्डै ४ करोड मूल्य बराबरको फलफूल भित्रिएको जनकपुरधाम फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवले बताए ।
जनकपुरधामको छठ पर्वलाई मात्रै लक्षित गरी ७० ट्रक केरा, १२ ट्रक स्याउ, ४ ट्रक अनार र ५ ट्रक सन्तुला ल्याएको अध्यक्ष यादवले जानकारी दिए । धनुषा, महोत्तरी र सिरहा गरी तीन जिल्लाका उपभोक्ताले छठमा जनकपुरधामबाटै केरा लगायतका सामग्री खरिद गर्ने गरेको उनले बताए । एउटा केराको घडीको मूल्य ४ सयदेखि ८ सम्म रहेको उनले बताए । उनले गत वर्षभन्दा यस वर्ष २० प्रतिशत बढी फलफूल मागाइएको बताए ।
भारतको असाम, मद्रास, हाजीपुर, बीरपुर,नेपालको भन्टावारी, इनरुवालगायतका स्थानबाट केरा ल्याउने गरेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघका पूर्व महासचिव भुनेश्वर पुर्वेले जानकारी दिए । केही केराहरू नेपालका सप्तरी, इनरुवासहितका स्थानबाट ल्याउने गरेको उनले बताए ।