जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेतृत्वको सरकारले एक वर्षमा गरेको प्रगतिको विवरण सार्वजनिक कार्यक्रममा सत्ता साझेदार दल जनमत पार्टीका कार्यकर्ताहरूले विरोध गरे । उनीहरूले आफ्नै पार्टी सहभागी भएको सरकार भ्रष्ट भन्दै विरोध प्रदर्शन गरेका थिए ।
मुख्यमन्त्री यादवले गत २९ पुसमै आफ्नो सरकारको एक वर्ष पूरा भएको अवसरमा वार्षिक प्रगति विवरण सार्वजनिक गरेका थिए । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामकरण र स्थायी राजधानी पाएको दिनलाई स्वाभिमान दिवसका रूपमा मनाउन सल्लाह दिएपछि २९ पुसमा तय गरिएको कार्यक्रम मुख्यमन्त्री यादवले स्थगित गरेका थिए । र, आज स्वाभिमान दिवसमा सरकारको एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्न कार्यक्रम राखेका थिए ।
सरकारको वार्षिक प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रमपश्चात् सोही मञ्चमा स्वाभिमान दिवसको कार्यक्रम पनि गर्ने तयारी थियो । स्वाभिमान दिवस कार्यक्रमको प्रमुख अतिथिको रूपमा मुख्यमन्त्री यादवले जसपा अध्यक्ष उपेन्द्र यादवलाई आमन्त्रण गरेका थिए ।
यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्ता साझेदार दल माओवादी केन्द्र, जनमत र लोसपाले संयुक्त रूपमा मधेश प्रदेशसभामा स्वाभिमान दिवस मनाउने तयारी गरिरहेका थिए । मुख्यमन्त्री यादवले आफूहरूलाई बेवास्ता गरेको भन्दै उनीहरूले प्रदेशसभा परिसरमा नै कार्यक्रमको आयोजना गरेका थिए ।
सत्ता गठबन्धनसँग असन्तुष्ट बनेका जनमतका कार्यकर्ताहरूले सरकारको वार्षिक प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम सम्पन्न भई दोस्रो कार्यक्रमको रूपमा स्वाभिमान दिवस मनाइरहेको र त्यसको प्रमुख अतिथिमा उपेन्द्र यादवलाई बनाएको ठानेर कार्यक्रमस्थलमै गएर सरकारविरुद्ध नाराबाजी गर्न थाले ।
जनमतका एक नेता भने, ‘हामीले स्वाभिमान दिवसको प्रमुख अतिथि उपेन्द्र यादवलाई बनाएको ठानेर सभा हलमा प्रवेश गरी नाराबाजी ग¥यौँ । तर, त्यहाँ त पहिलो कार्यक्रम प्रगति विवरण सार्वजनिक कार्यक्रम नै भइरहेको थियो । हाम्रो उद्देश्य उपेन्द्र यादवको विरोध गर्नु थियो तर झुक्किएर आफ्नै पार्टीका मन्त्रीहरू सहभागी सरकारको विरोध गर्न पुग्यौँ ।’
प्रदेश सरकारले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा स्वास्थ्य, भौतिक पुर्वाधार, कृषि लगायतका क्षेत्रमा उल्लेखनिय सुधार दावि गरेका थिए । तर संचारकर्मीले सरकारले प्रस्तुत गरेको विकास निर्मार्णको विवरण तत्कालीन लालबाबु राउत नेतृत्वकै सरकारको पालामा भएको विकास निर्माणको तथ्याङ्क समावेश गरेको भन्दै प्रश्न उठाएका थिए । सोही प्रश्नको जवाफ दिइरहेको बेलामा जनमतका कार्यकर्ताहरूले एक्कासि प्रदर्शन गरेपछि मुख्यमन्त्री आक्रोशित भए । भ्रष्ट सरकार पनि भन्ने र सरकारमा पनि बस्ने भनेर मुख्यमन्त्री यादवले जनमतको दोहोरो नीतिको विरोध गरे ।
‘भ्रष्ट सरकार हो भनेर भ्रष्ट सरकारमा किन बस्नुप¥यो ?,’ मुख्यमन्त्री यादवले आगाडि भने, ‘यसको जवाफ जनमतबाट मन्त्री भएका साथीहरूले दिनुपर्छ ।’ त्यतिबेला जनमत पार्टीका संसदीय दलका नेता तथा शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह मञ्चमै थिए । तर, उनीहरूले जवाफ नदिँदै कार्यक्रम समापन गरिएको थियो ।
आफैँ सहभागी रहेको सरकारको विरुद्धमा जनमतले प्रदर्शन गरेपछि कार्यक्रमस्थल तनावग्रस्त र प्रभावित भएको थियो । जनमत जसपा नेतृत्वको सरकारले साइकल खरिदमा अनियमितता, स्वच्छता अभियान, बेटी पढाऊ बेटी बचाऊ अभियानअन्तर्गत बीमा कार्यक्रममा अनियमितता, जानकी मन्दिरमा विद्युतीकरण तथा सौन्दर्यकरण, झलनाथ खनाल स्वाथ्य विज्ञान प्रतिष्ठान सर्लाहीमा भएको १७ करोड ९८ लाखको अनियमितता, शहीद परिवारमा गाईभैँसी वितरणमा अनियमितता, सर्लाहीको भरत ताल, कोल्ड स्टोर तथा मधेश प्रदेश परिवहन खरिद तथा नियम मिचेर अर्थ विधिको शीर्षकको अर्बौं रुपैयाँको रकमान्तरसहितका काण्डका छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै आएको छ ।
जनमतका सचिव बीपी साहको नेतृत्वमा विरोध प्रदर्शन गरिएको थियो । आफ्नै पार्टी सहभागी रहेको सरकारको विरोध किन गरेको भन्ने प्रश्नमा साहले भने, ‘हामी सरकारमा छौँ । यसको मतलब सरकारको गलत क्रियाकलापको समर्थन गर्दैनौँ । हामी त्यसको खुलेर विरोध गर्छौं । हाम्रो पार्टीले दुईवटा मन्त्रालय पाएको छ । हाम्रो पार्टीबाट मन्त्री भएकाहरूले अनियमितता गरेको छ भने हामीलाई सप्रमाण देखाउनुस्, हाम्रो पार्टीले कारबाही गर्छ । तर, समग्र सरकारले गर्ने क्रियाकलापको हामी साक्षी बस्ने होइन । जसपाको कृपाले हामी सरकारमा सहभागी भएको होइन, केन्द्रीय गठबन्धनका आधारमा हामी सरकारमा छौँ ।’
उनले थपे, ‘मुख्यमन्त्री यादवले आफ्नै पार्टीको बहुमतले मुख्यमन्त्री बनेको होइन, अन्य पार्टीकै सहयोगले उहाँ मुख्यमन्त्री बन्नुभएको हो । यसकारण सरकारबाट निकालिदिनेजस्ता घुर्की लगाउन सुहाउँदैन उहाँलाई ।’
स्वाभिमान दिवसमा विभाजित दलहरू
प्रदेश सरकारले स्वाभिमान दिवस मनाउने निर्णय गरेपछि यहाँका राजनीतिक दलहरू दुई कित्तामा विभाजित देखिएका छन् । जसपा, कांग्रेस र एकीकृत समाजवादी पार्टीले महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा स्वाभिमान दिवस मनाएका छन् भने प्रमुख प्रतिपक्षी दल एमाले, माओवादी केन्द्र, जनमत र लोसपाले मधेश प्रदेशसभा परिसरमा मनाएका छन् ।
सरकारले अन्य पार्टीका शीर्ष नेताहरूलाई कार्यक्रममा नबोलाई जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि एमाले, माओवादी केन्द्र, जनमत र लोसपाका नेताहरू चिढिएका हुन् ।
प्रदेशको नामकरण उपेन्द्र यादवले चाहेर मात्र नभएको बताउँदै लोसपाका एक सांसदले भने, ‘मधेश प्रदेश नामकरणमा उपेन्द्र यादवको मात्र योगदान छैन, अन्य पार्टीहरूको पनि छ । तर, मुख्यमन्त्री यादवले अन्य पार्टीलाई कुनै वास्ता नै गर्नु भएन ।’
प्रमुख प्रतिपक्षी दल एमाले, माओवादी केन्द्र, जनमत र लोसपाका नेता तथा सासदहरूले मधेश प्रदेशसभा परिसरमा स्वाभिमान दिवस मनाइरहेको खबर पाएपछि अर्थमन्त्री सञ्जयकुमार यादव सभा परिसरमै पुगेर उनीहरूलाई महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमै आउन आग्रह गरेका थिए । तर, उनीहरूले कार्यक्रम सुरु भइसकेको भन्दै केन्द्रमा आयोजना गरिएको कार्यक्रममा जान अस्वीकार गरे ।