जनकपुरधाम । मधेश प्रदेश सरकारबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएसँगै सत्ता गठबन्धन दलहरूमा सरकारको नेतृत्वको विषयले पुनः चर्चा पाएको छ । गत मंगलबार अर्थात् ९ माघमा जनता समाजवादीसँगको एकवर्षे सत्ता सहकार्य तोड्दै जनमत पार्टीले सरकारले दिएको समर्थन लिँदै आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको थियो । जनमत पार्टीले सरकार छोडेपछि अहिले मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षा तथा सांस्कृतिक मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय आफैँसँग राखेका छन् ।
खाली रहेका दुई मन्त्रालय कुन दललाई दिने भन्ने विषयमा अहिले सत्ता गठबन्धन दलहरूबीच छलफलसमेत सुरु भएको छैन । तर, सत्ता गठबन्धन दलहरूका मन्त्रीका आकाङ्क्षी सासदहरूले आफ्नो पक्षमा लबिङका लागि काठमाडौंमा पार्टीका शीर्ष नेताहरूसँगको भेटघाट तीव्र बनाएका छन् । नेपाली कांग्रेस, जसपा, माओवादी केन्द्र र लोसपाका मन्त्रीका आकाङ्क्षी सांसदहरूले सत्ता गठबन्धन दलको बैठकअघि नै काठमाडौंको दौडधुप बढाएका छन् ।
एकातिर मन्त्रीका आकाङ्क्षी सांसदहरूले पार्टीका शीर्ष नेताहरूसँग भेटघाट तीव्र बनाएका छन् भने अर्कोतिर पार्टीका संसदीय दलका नेताहरूले प्रदेश सरकारको गठन नयाँ शिराबाट हुनुपर्नेमा जोड दिएका छन् । माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले भने, ‘यो गठबन्धन सरकार हो । खाली रहेका दुई मन्त्रालय कुन पार्टीलाई दिनेभन्दा पनि अब नयाँ शिराबाट अगाडि बढ्नुपर्छ । सरकारको नेतृत्व आलोपालो गर्ने सहमति विगतमा भएको हो । यसमा पुनस् छलफल गरेर नयाँ शिराबाट मन्त्रालयको बाँडफाँट हुनुपर्ने विषयमा दलहरूबीच छलफल भइरहेको छ ।’
ुमधेश सरकार गठन भएको पछिल्लो ६ वर्षदेखि जसपाले गठबन्धनको सरकार चलाउँदै आएको छ, ुनेता साहले भने, ‘अब जसपाले सरकारको नेतृत्व छोडी अन्य पार्टीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।’
नेता साहको भनाइमा जोड दिँदै लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद तथा मधेश प्रदेश अध्यक्षसमेत रहेका जितेन्द्र सोनलले पनि जनमत पार्टीले गठबन्धन दल छोडेपछि गठबन्धन भत्किएकाले अब नयाँ शिराबाट पुनः गठबन्धन बन्नुपर्ने बताए ।
बाराको उपचुनावताका नै जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा मधेश प्रदेश सरकारको विषयमा ुओपनु रहेको भनेर अभिव्यक्ति दिएको स्मरण गराए । उनले भने, ‘त्यस कारण अब मधेश सरकारको नेतृत्वदेखि वर्तमान सरकारको एकवर्षे कार्यकालको समीक्षा, विभिन्न पार्टीहरूका भागमा परेका मन्त्रालयको समीक्षालगायतका विषयमा प्याकेजमा गठबन्धन दलबीच पुनस् छलफल हुनु आवश्यक छ ।’
नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले पनि खाली रहेका दुई मन्त्रालयमा मन्त्रीको पदपूर्ति गर्नुअघि गठबन्धन दलहरूबीच पुनः छलफल हुनुपर्ने बताए । विगतमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको उल्लेख गर्दै उनले भने, ‘सोही सहमतिअनुसार गठबन्धन दलहरूबीच सरकारको नेतृत्वको विषयमा पुनः छलफल हुनुपर्छ ।’ गठबन्धन दलको बैठकका लागि आफू काठमाडौंमा रहेको बताउँदै उनले भने, ‘एकरदुई दिनमै बैठक बस्दै छ । त्यसमा यी विषयहरूमा छलफल हुन्छ ।’
यता, जसपाका प्रमुख सचेतक रामआशिष यादवले दलहरूबीच मन्त्रालय बाँडफाँट भए पनि सरकारको नेतृत्वको विषयमा अहिले कुनै चर्चा नरहेको बताए । विगतमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि अहिले आलोपालोको समय नआएको दाबी गर्दै उनले भने, ‘कांग्रेस, माओवादीलगायतले विभिन्न प्रदेशहरूमा सरकारको नेतृत्व गरिरहेका छन् । यो प्रदेशको नेतृत्व तत्काल जसपाले नै गर्छ ।’
जनमत गबठन्धनबाट अलग भए पनि यो गठबन्धनमा उसको बहिर्गमनले कुनै असर नपरेको उनको दाबी छ । यसैबीच, मुख्यमन्त्री सरोजकुमार यादवले जसपाको एकल नेतृत्वको सरकार नरहेकाले गठबन्धन दलहरूबीच छलफल गरेर मात्रै खाली रहेका मन्त्रालय बाँडफाँट गर्ने गरिने बताएका छन् ।