जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल विभाजन गरी अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेपछि जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव पहिलोपटक मधेश झरेका छन् । मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको महाधिवेशनमा सहभागी हुन यादव शनिबार जनकपुरधाम आइपुगेका हुन् । पार्टी विभाजनअघि घोषणा गरिएको फोरमको महाधिवेशनमा सहभागी हुन आएका अध्यक्ष यादवलाई विगत झै पार्टीका नेता तथा कार्यकर्ताहरू उल्लेखनीय संख्यामा स्वागत गर्न जनकपुरधाम विमानस्थलमा पुगेका थिए ।
दृश्य हेर्दा लाग्थ्यो पार्टी विभाजनको असर मधेश प्रदेशका परेको छैन । पार्टी विभाजनपछि नेता तथा कार्यकर्ताहरूमा एक प्रकारको निरशा देखिँदा आफूहरू जसपा नेपालमै रहेको सन्देश दिन उनीहरू विमानस्थलमै पुगेका हुन् ।
जसपा नेपालका लागि मधेश प्रदेश अधार क्षेत्र हो । जसपा नेपालका देशभरिमा करिब १ लाख २५ हजार सक्रिय सदस्य रहेका छन् । त्यसमध्ये झण्डै एक लाख ५ हजार सक्रिय सदस्य मधेश प्रदेशमै रहेको जसपा नेपालका एक नेताले जानकारी दिए । त्यसकारणले पनि अध्यक्ष यादवको प्राथमिकतामा मधेश प्रदेश रहेको छ । अवैधानिक रुपमा पार्टी विभाजन गराइएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने घोषणा गरेका अध्यक्ष यादव तत्काल पार्टी जोगाउने कानुनी दाउपेच छोडेर पार्टीको भ्रातृ संगठनको कार्यक्रममा सहभागी भएका हुन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गर्दै सनाखतका लागि १३ जेठसम्मको समय दिएको छ । पछिल्लो ६ वर्षदेखि मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जसपा नेपालमा विभाजन हुँदा अहिले मधेशका चियापसलदेखि कार्यालयहरूमा जसपा नेपालको विभाजनकै चर्चा भइरहेको छ । गत निर्वाचनमा प्रदेशसभाका १६ सिट जितेको जसपा नेपालले स्वतन्त्रबाट निर्वाचित ३ जनालाई पार्टी प्रवेश गराएर आफ्ना सांसदको संख्या १९ पु¥याएको छ ।
केन्द्रमा पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा प्रतिनिधिसभाका ७ सासद र कार्यकारिणी समितिका ३० सदस्यको बहुमत पु¥याएर ‘नेपाल’ छोडेर जनता समाजवादी पार्टी नाममा नयाँ दल निर्वाचन आयोगमा दर्ता गराएपछि त्यसको प्रभाव मधेश प्रदेशमा पनि पर्छ ? कि पर्दैन ? भन्ने चासोको विषय बनेको छ । तर केन्द्रमा सांसद तथा नेताहरू जसपा नेपाल र जसपाको पक्षमा खुले पनि मधेश प्रदेशसभामा अहिलेसम्म अशोक राई नेतृत्वको पार्टीमा कोही खुलिसकेका छैनन् ।
नयाँ दल गठनमा सक्रिय भूमिका निर्वाह गरेका पर्साबाट निर्वाचित सांसद प्रदिप यादव, जसपाकी सहअध्यक्ष तथा पूर्वमन्त्री रेणु यादव, जसपाका महासचिव इस्तियाक राईसहितले प्रदेशका सांसद तथा नेताहरूलाई फोन गरेर फकाइरहे पनि अहिलेसम्म कुनै सांसद उनीहरूको पक्षमा खुल्न सकेका छैनन् ।
दुईपटक निर्वाचित भए पनि मन्त्री नबनाएकोमा असन्तुष्ट भएका भनिएका मधेशका सांसदहरू सरोज सिंह कुशवाह, रामअशिष यादव, बच्चा राउत अहिर, पूर्वमुख्यमन्त्री लालबाबु राउतलगातय अहिले अध्यक्ष यादवकै पक्षमा देखिएका छन् । पार्टी विभाजनको असर कस्तो पर्छ त्यसको अन्तिम परिणाम अगामी १३ जेठमासम्म हुने सनाखतले देखाउनेछ ।
जसपाका महासचिव, इस्तियाक राई, सहमहासचिव प्रदिप यादवसहितले मधेश प्रदेशका १९ मध्ये ८ देखि १० जना सांसद आफूहरूको सम्पर्कमा रहेको दाबी गरिरहेका छन् । उनीहरूले बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गरे पनि अहिलेको परिदृश्य यस्तो देखिएको छैन । बहुमत सांसद राई नेतृत्वको जसपातर्फ लाग्ने सम्भावना न्यून छ । मुख्यमन्त्री सरोज कुमार यादव र पूर्वमुख्यमन्त्री राउत अहिले जस्तै जसपा नेपालको पक्षमा अडिग रहेको खण्डमा राई नेतृत्वको जसपामा प्रदेशसभाका सांसदहरू जाने सम्भावना कम रहन्छ ।
िमुख्यमन्त्री यादवलाई दबाबमा पार्न बिहीबार सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिने हल्ला फैलाइएको थियो । त्यसपछि मुख्यमन्त्री यादवले सत्ता रहोस् वा नरहोस् जसपा नेपाल नछोड्ने प्रतिक्रिया दिएका थिए ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले केही साथी पार्टी छोडेर नयाँ पार्टी बनाए पनि जसपा नफुटेको दाबी गरे । ‘जसपा फुटेको होइन, केही साथीले आसन्न पार्टीको महाधिवेशनमा पद नपाउने सम्भावना देखेर नयाँ दलको खोल्ने निर्णय गरेका हुन् । तर त्यसले पार्टीलाई कुनै असर पर्दैन’, उनी अगाडि भन्छन्, ‘प्रदेशका सबै सांसद, नेता तथा कार्याकर्ताहरू विभाजनको विपक्षमा छन् । हामी सबै एक ढिका छौँ । प्रदेशमा त्यसको कुनै प्रभाव परेको छैन । पर्दैन पनि ।’
जसपा नेपलाका एक प्रदेश सांसद भन्छन्, ‘अशोक राई नेतृत्वको जसपामा यहाँका कोही सांसद जादैनन् । एक÷दुई जना सत्ताका लोभीहरू जान सक्छन्, तर बहुसंख्यक मधेशका सांसद वा नेता जाँदैनन् । हामी मधेश आन्दोलनबाट राजनीतिमा आएका हौँ । हामी मधेशको एजेण्डा स्थापित गराउन राजनीतिमा आएका छौँ । सत्ताका लागि मात्रै राजनीतिमा आएका छैनौँ ।’
‘अशोक राई पक्षसँग कुनै एजेण्डा छैनन् । उनीहरूले कुन एजेण्डा लिएर पार्टी विभाजन गरे ? राईसँगै गएको खण्डमा उनी मधेशको मुद्दामा कति इमनदार रहन्छन् ?’ प्रश्न गर्दै उनी अगाडि भन्छन्, ‘पार्टीमा हुदाँ उनले एकपटक पनि मधेशको मुद्दाका सवालमा पनि बोलेनन् । अब अध्यक्ष हुँदा उनले जनजातीको मुद्दा उठाउँछन् कि मधेशी को ?’
ती सांसदले जसपाकी अध्यक्ष रेणु यादव भएको भए एकछिनका लागि सोच्न सक्ने भए पनि राईसँग आफूहरूको राजनीतिक कल्चर नै नमिल्ने बताए ।
मधेश प्रदेशमा जसपाका १९ सांसद छन् । त्यसमध्ये ७ जना समानुपातिक सासद हुन् । ती सांसद भन्छन्, ‘केही समानुपातिक सांसदहरूको त भन्न सकिन, तर अधिकांश समानुपातिक सांसद जसपा नेपालमै बस्ने जस्तो देखिन्छ ।’
‘राईको नेपालको राजनीतिमा असफल नेताको रुपमा गणना हुन्छ’, उनी भन्छन्, ‘उनी नेपालको राजनीतिमा लामो समय रहे पनि न आदिवासी जनताजातीका मुद्दा उठाउन सके न त जसपा हुँदा मधेशका मुद्दा अगाडि बढाउन सक्छन् । चुनावमा जनताले उम्मेदवारको पार्टीको एजेण्डा, पार्टीको नेतृत्वको व्यक्तित्व र उम्मेदवारको छविलाइे हेरेर मतदान गर्छन् । त्यसकारण सत्ता स्वार्थमा पार्टी विभाजन गर्नेहरूसँग गएर आफ्नो राजनीतिक भविष्य समाप्त गर्न कोही चाहँदैनन् ।’
‘जसपा नेपालको नेतृत्व, मधेश प्रदेश सरकारका मुख्यमन्त्री र अर्थमन्त्रीसँग अनकेन असन्तुष्टिहरू छन्’, अर्का एक प्रदेश सांसद भन्छन्, ‘अध्यक्ष यादवको कार्यक्रममा पनि जाँदैनन् । एक सालदेखि मुख्यमन्त्री र अर्थमन्त्रीसँग भेट्न पनि गएको छैन । पार्टी नेतृत्वको सरकार भए पनि त्यस्तो कुनै अनुभूति अहिलेसम्म हामीले गर्न सकेका छैनौँ । तर पनि पार्टीभित्र रहेर संघर्ष गर्छौं । कारण मधेशका मुद्दा अझै पनि उपेन्द्र यादवले छोडेका छैनन् । समावेशिता, संघीयता, मधेश मुद्दा समाप्त गर्ने विभिन्न षडयन्त्र भइरहेको छ । त्यसको सिकार पटकपटक उपेन्द्रजीको पार्टी भएको छ । र अहिले पनि त्यही भएको छ ।’
जसपा नेपालबाट लोसपा अलग हुदाँ तत्कालीन राजपा रहेका वर्तमान मुख्यमन्त्री सरोज कुमार यादवसहित १० जना सांसद जसपा नेपाल अर्थात् उपेन्द्रसँगै बसे । तत्कालीन राजपाका २५ जना सांसदमध्ये १५ जना मात्रै लोसपामा गए ।
अहिले जसपा नेपालबाट जसपा बन्दा किन सांसदहरू जादैनन् ? भन्ने जिज्ञसामा ती सांसद भन्छन्, ‘लोसपा र जसपा नेपालको राजनीतिक कल्चर मिल्छ । लोसपा र जसपाको राजनीतिक मुद्दा पनि उस्तै हो । भूगोल र विचारधारा पनि उस्तै उस्तै हो । जसपा नेपालबाट लोसपा बन्दाको अवस्था र जसपा नेपालबाट जसपा अलग हुँदा अवस्था धेरै फरक छ । अवस्था त्यही भएको भए बहुमत मात्रै होइन मसहित दुई तिहाई सांसद जसपा नेपाल छोडेर जसपामा जान्थ्यौँ होला । मुख्यमन्त्री यादव, अर्थमन्त्री संजय कुमार यादवसँग सांसदहरू असंतुष्ट छन् । तर अहिलेको अवस्था फरक हो ।’
पार्टी विभाजनको अवस्थामा किन पुग्यो भन्ने प्रश्नमा उनी भन्छन्, ‘अध्यक्ष यादवको ढिलासुस्ती र अर्थमन्त्री संजय यादव सामु मुख्यमन्त्री सरोज कुमार यादव निरीह हुदाँको परिणाम पार्टी विभाजन हो ।’
‘मधेश प्रदेशको पहिलो सरकारको नेतृत्व लालबाबु राउतले गर्नुभयो । उहाँको कार्यकाल ठिकै थियो । शून्यबाट सुरु भए पनि उहाँको सरकारले बलियो जग बसाउने काम गरेको थियो । त्यसलाई निरन्तता दिन पार्टीले उहाँकै नेतृत्वको सरकार बनाउनुपर्थ्यो । त्यसमा धेरै सांसदहरू सहमत पनि थिए । तर अध्यक्ष उपेन्द्रजी सप्तरीबाट पराजित भएपछि बाराबाट चुनाव लड्नुपर्ने अवस्था आएकोले सरोजजीलाई उहाँले मुख्यमन्त्रीमा अगाडि सार्नुभयो । यहाँसम्म पार्टी ठिकै थियो,’ ती सांसदले भने ।
ती सांसदले भने, ‘गत आर्थिक वर्ष २०७९÷०८० मा अर्थमन्त्री यादवले आफ्नै पार्टीका सांसदहरूको योजनामा कमिसन माग्ने, बिना कमिसव योजना नराख्ने, आफ्नै पार्टीले जितेका स्थानीय तहमा पनि कमिसन बिना समपुरक, विशेष लगायतका योजनाहरूको रकम नपठाउने, आफ्नै जिल्लामा बढी योजनाहरू लगिने, मोटो कमिसन लिएर गैरकानुनी रुपमा रकममान्तर गर्ने जस्ता कार्यहरू भयो ।’
‘उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको ४३ वटा योजनाको करिब ४५ करोड रकम आर्थिक ऐन नियमविपरीत रकमान्तर गरेको पाइयो । सो विषयमा प्रदेशसभाबाट छानबिन समिति पनि बन्यो । तर अर्थमन्त्रीले समितिलाई फाइल दिएर सहयोग गर्नुको साटो उल्टै फाइलहरू नदिएर अल्झाई राख्ने कामहरू गरे । त्यसले पार्टीको छवि पनि खराब हुँदै गयो ।’
‘यो विषयमा मुख्यमन्त्री यादवले अर्थमन्त्री यादवलाई हटाउने चेतावनी दिए । तर उल्टै अर्थमन्त्री यादवले मुख्यमन्त्री यादवलाई हटाउने षड्यन्त्रहरू गरे । त्यसपछि मुख्यमन्त्री यादव अर्थमन्त्रीको सामु निरीह भए । यो विषयमा अध्यक्ष यादवलाई सांसदहरूले गुनासो नगरेका होइनन् । तर उहाँले टाल्ने काम गर्नुभयो । अर्थात् कारवाही गर्नुपर्ने ठाउँमा उहाँहरूलाई संरक्षण गर्ने काम अध्यक्षबाटै भयो’, ती सांसदले भने, ‘यस्तो अवस्थामा पार्टीका सांसदहरूमा चरम असन्तुष्टि बढेर गयो ।’
एक टेलिभिजनको अन्तर्वार्ता कार्यक्रममा प्रदिप यादवले भनेका थिए, ‘मेरो पर्सा जिल्लामा १ सयभन्दा बढी योजनाहरू एउटै व्यक्तिले पाए । तर त्यहाँका अन्य कार्यकर्ताहरूले एउटा पनि योजनाहरू पाएनन् । यो विषयमा अध्यक्ष यादव र मुख्यमन्त्री यादवसँग गुनासो गर्दा पनि कुनै सुनावाइ भएन । सत्तामा पनि उहाँ नै बस्ने ? योजनाहरूमा खरिद बिक्री गर्ने र आम कार्यकर्ताको सानो काम पनि नगरिदिने भनेपछि त्यो पार्टीमा बस्नु औचित्य नै रहेन ।’
अध्यक्ष उपेन्द्र यादवले सरोज कुमार यादव नेतृत्वको सरकारलाई दिशा निर्देश गर्न, अवश्यक सल्लाह सुझाव दिन तथा निगरानी गर्न पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा स्टेरिङ्ग कमिटी गठन गरेका थिए । तर मुख्यमन्त्री यादवले उक्त स्टेरिङ्ग कमिटीसँग अहिलेसम्म एकपटक पनि सुझाव लिएका छैनन् । ‘कुनै विषयमा दिशा निर्देश गर्दा पनि मुख्यमन्त्री यादवले सो कार्यान्वयन गरेनन् । उल्टै यो विषयमा अध्यक्षसँग सल्लाह गरेर नै काम गरेको भनेर जवाफ दिन्थे,‘ ती सांसदले भन्छन्, ‘यस्तो अवस्थामा त्यो स्टेरिङ्गको के औचित्य हुन्थ्यो । पछि राउतले पनि कुनै मतलव नै राख्न छोडनुभयो ।’
पटकपटक विभाजनको चोट
उपेन्द्र यादव नेतृत्वमा रहेको पार्टी विभिन्न कालखण्डमा फुट्दै आएको छ । मधेशी जनअधिकार फोरमदेखि जसपा हुने यात्रासम्म यादव नेतृत्वको पार्टी ९ पटक विभाजन भइसकेको छ ।
मधेशी जनअधिकार फोरम हुँदा नै भाग्यनाथ गुप्ताको नेतृत्वमा मधेशी जनअधिकार फोरम मधेश विभाजित भएको थियो । त्यसपछि अमर यादव र उपेन्द्र झा पार्टी फोडेर अगल भएका थिए । २०६७ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेलामा विजय कुमार गच्छदारले मधेशी जनअधिकार फोरमको ५३ सिटबाट २८ सिट लिएर पार्टी विभाजन गरी मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए । त्यसको करिव ६ महिनापछि मात्रै जयप्रकाश गुप्ताले बाँकी रहेका २५ सिटमध्ये १३ सिट लिएर मधेशी जनअधिकार फोरम गणतन्त्रिक दर्ता गराएका थिए ।
त्यसपछि उपेन्द्र यादवले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरी नेपाल संघीय समाजवादी पार्टी गठन गरे । त्यसको केही वर्षपछि फेरि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्तिसँग एकता गरी समाजवादी पार्टी बनाए । समाजवादी पार्टीमा डा. भट्टराई लामो समय टिक्न सकेन् । उनले पछि पार्टी छोडेर नयाँ पार्टी गठन गरे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला समाजवादी पार्टी पुनः पार्टी विभाजनको संघारमा पुगेको थियो । अहिले पार्टी विभाजन गरी नयाँ दल बनाएका रेणु यादव, इस्तियाक राई, प्रदिप यादवले त्यतिबेला पनि विभाजनको प्रयास गरेका थिए । तर त्यो प्रयास सफल हुन सकेन । र पार्टी जोगाउन उपेन्द्रले तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)सँग एकता गरे ।
राजपासँग एकतापछि जनता समाजवादी पार्टी नेपाल अस्तित्वमा आयो । तर राजपासँगको एकता पनि लामो समय चलन र फेरि जसपा फुटेर महन्थ ठाकुरको नेतृत्वमा नयाँ पार्टी लोसपाको जन्म भयो ।
यसरी नौपटक पार्टी विभाजन हुँदा एउटा समानता देखिन्छ । विगतमा उपेन्द्र यादवलाई छोडर गएका नेताहरू सबै राजानीतिमा ओरालो लागेका छन् । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भयो भने फोरम गणतान्त्रिकका तत्कालीन अध्यक्ष राजकिशोर यादव राजपा हुँदै पुनः उपेन्द्र यादव नेतृत्वको जसपामा छन् । त्यसैगरी जसपाबाट टुक्रिएर बनेको लोसपा राष्ट्रिय पार्टीसमेत बन्न सकेन ।