जनकपुरधाम । नेकपा एमाले र माओवादी केन्द्रको समर्थन फिर्ता सँगै अल्पमतमा परेका जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको मधेश प्रदेश सरकारले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेको छ ।
४ बैशाखमा चौथौ पटक विश्वासको मत लिएका मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो नेतृत्वको सरकार अल्पतमतमा परेपनि तत्कालन राजिनामा नदिएर काँग्रेससहित दलको सहयोग लिएर विश्वासको मत सिद्ध गर्ने दावि गरेका छन् । जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवका अनुसार दुई÷तीन दिन भित्र काँग्रेससहितका दललाई लिएर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी भईरहेको छ ।
चौथो पटक विश्वासका मत दिएका मध्ये नेकपा एमाले र माओवादी केन्द्रले आईतवार समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको मधेश प्रदेश सरकार अल्पमतमा परेको हो । चौथो पटक विश्वासको मत लिदा मुख्यमन्त्री यादवले एमाले, माओवादी केन्द्रसहित सांसदसहित ६१ मत पाएका थिए । भने काँग्रेस, जनमत र लोसपाले बैठक नै बहिस्कार गरेका थिए ।
एमालेले यादव नेतृत्वको सरकारमा भौतिक पुर्वाधार, स्वास्थ्य तथा जनसंख्या, गृह कानुन तथा संचार र शिक्षा तथा संस्कृति मन्त्रालय पाएका थिए । त्यसैगरि, मुख्यमन्त्री यादवले माओवादी केन्दलाई उद्योग वाणिज्य तथा पर्यटन र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर माओवादीका संसदीय दलका नेता साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिएका थिएन । उनी अर्थ मन्त्रालय पाउनुपर्ने अडानमा रहेका थिए ।
एमाले, माओवादी केन्द्र नयाँ गठबन्धनको तयारीमा
जनता समाजवादी पार्टी (जसपा) नेपालको विभाजनसँगै त्यसको असर मधेश सरकारमा परेको छ । केन्द्रमा जसपा नेपालबाट पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा प्रतिनिधी सभामा ७ जना सांसद जसपामा गएपनि मधेश प्रदेशका सांसदहरु अहिले जसपाको पक्षमा खुल्न सकेको छैन ।
सांसद तथा पार्टीका पदाधिकारीलाई जसपा नेपालमा बस्ने वा जसपामा जाने भनेर सनाख्तको लागि निर्वाचन आयोगले १३ जेष्ठ सम्मको समय दिएकोले अहिले पार्टीको विभाजनको असरको आंकलन गर्न मुस्किल छ ।
जसपाको पक्षमा मधेश प्रदेशका सांसदहरु खुल्न नसकेको अवस्थामा एमाले, माओवादी केन्द्र, जनमत र लोसपाले नयाँ सरकार गठनको लागि तयारी थालेको छ । एमाले र माओवादी केन्द्रले आईतवार सरकारबाट राजिनामा र समर्थन फिर्ता लिदै नयाँ सरकार गठनका लागि जनमत र लोसपाका संसदीय दलका नेताहरुसँग छलफल समेत गरेको छ ।
समर्थन फिर्ता पश्चात संचारकर्मीसँग कुराकानी गर्दै एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले भने,‘ मुलुकमा देखिएको विकसित राजनीतिक घटना क्रममा अनुसार हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौ । अव मुख्यमन्त्रीलाई विश्वासको मत सिद्ध गर्न ३० दिन बाँकी छ । त्यो समयमा विश्वासको मत लिन नसकेको अवस्थामा ठुलो पार्टीको हैसितले नेकपा एमाले आफ्नो नेतृत्वको सरकार गठनको लागि पहल गर्छन् ।’
माओवादी केन्द्रका संसदीय दलका भरत प्रसाद साहले मुख्यमन्त्री यादवले विगतका गरेको सहमति कार्यान्वयन नगर्ने, गठबन्धनको सरकार भएपनि एकलौटी रुपमा संचालन गर्न खोज्ने तथा सरकार भष्टाचारमा लिप्त रहेकोले आफुहरुले समर्थन फिर्ता लिएको बताए ।
एमाले, जनमत, लोसपा दलहरुसँग मिलेर सरकारको लागि नयाँ समिकरण बनाईने उनले बताए ।
सरकारको नेतृत्वको कुन पार्टीले गर्छन भनेर विषयमा अहिले तय भईनसकेको बताउँदै उनले भने,‘ यो पछि दलहरुको छलफलमा टुंगो लगाउँछौ । तर हामिले नयाँ सरकार गठनको लागि एकजुट रहन्छौ भने विषयमा सम्झदारी भएको छ ।’ एमाले, जनमत, माओवादी केन्द्र र लोसपा मिलेको खण्डमा सरकारको लागि सुविधाजन मत पुग्छ । प्रदेश सभामा १०७ जना सांसद रहेकोमा लोसपाका संसदीय दल नेता अभिराम शर्मा अहिले निलम्बनमा परेका छन् ।
सरकार बनाउन अहिले ५४ मतको आवश्यकता रहेकोमा अहिले एमालेको २५, जनमतको १३, माओवादी केन्द्रको ९ र लोसपाको ८ गरी ५५ जना सांसद रहेको छ । यसमा जसपा नेपाल प्रदेशमा भिवाजित भएको खण्डमा जसपा तर्फ लाग्ने सासद जोडिएमा त्यो संख्या बढ्ने छ ।
एमाले र माओवादी केन्द्रले नयाँ सरकार नेतृत्व कस्ले गर्ने तय नभएको बताएपनि जनमतले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने शर्तमा मात्रै एमाले र माओवादी गठबन्धनमा सहभागि भएको बताईएको छ ।
एमाले, माओवादी र जनमत बीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको माओवादी केन्द्रका एक साँसदले बताए । तर पहिलो खेप जनमतलाई सरकारको नेतृत्व दिने सहमति भएको ति साँसदले बताए ।