जनकपुरधाम । नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अगामी २३ जेठमा विश्वासको मत लिने आफ्नो तयारी रहेको बताएका छन् ।
१३ जेठमा बसेको मधेश प्रदेश मन्त्रिपरिषदको बैठकले २१ जेठदेखि बजेट अधिवेशनको सुरुको सिफारिस गर्ने र र २३ जेठमा प्रदेश सभाबाट विश्वासको मत लिने निर्णय भएको मुख्यमन्त्री यादवले बताए ।
एमाले, माओवादी केन्द्र, जनमत र लोसपाले सरकार अल्पमतमा रहेकोले स्थानीय तहलाई सर्शतको रकम नपठाउ र मन्त्रालयको बजेट रकमान्तर नगर्न माग गर्दै मुख्यमन्त्री यादवलाई सोमवार नै ध्यानकर्षण पत्र बुझाएका थिए ।
ध्यानकर्षण बुझे पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले भने,‘ मैले अहिलेसम्म इमानदारी र निष्पक्ष रूपमा काम गर्दै आएको छु । मेरो नेतृत्वको सरकार अल्पमतमा छैन, एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएकोले छैठौ पटक विश्वासको मत लिन्छु ।’
सर्शत, विशेष तथा समुपुरकको बजेट पठाउन स्थानीय तहहरुले ताकेता गरिरहेको बताउँदै मुख्यमन्त्री यादवले कानुनअनुसार नै सरकारले स्थानीय तहलाई ससर्त अनुदान वितरण र विभिन्न मन्त्रालयबाट रकमान्तर हुने बताए ।
काँग्रेस, लोसपा र नेकपा एसले सहयोग गर्ने सरकारको दावि
एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले नेपाली काँग्रेस, लोसपा र नेकपा एसको सहयोगले बहुमत सिद्ध गर्ने रणनीति बनाएका छन् ।
केन्द्रमा काँग्रेस, लोसपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिएपछि ति पार्टीहरुले आफ्नो सरकारलाई सहयोग गर्नेमा मुख्यमन्त्री यादव ढुक्क छन् । नेकपा एस केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागि भएपनि अहि
ले मधेशमा आफ्नो गठबन्धनमा रहेकाले आफुलाई विश्वासको मत दिने मुख्यमन्त्री यादवको दावि छ । काँग्रेसको २२, लोसपाको ८, एसको ७ र आफ्नो १९ गरि ५६ मत सहित आफ्नो सरकारले निरन्तरता पाउनेमा मुख्यमन्त्री यादवको रणनीति छ । तर लोसपाले भने अहिले सम्म वर्तमान अवस्थामा मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने अडानमा रहेको छ ।
त्यसैगरि, एस अहिले मधेशमा जसपा नेपालको गठबन्धनमा रहेपनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न सकेको छैन ।
यता, एमाले (२५), माओवादी केन्द्र(९) र जनमत (१३)ले प्रदेशमा नयाँ गठबन्धन गरि मुख्यमन्त्री यादवको सरकार ढाल्ने रणनीतिमा रहेका छन् । केन्द्रमा आफ्नो गठबन्धनमा रहेकोले मधेशमा पनि आफ्नो गठबन्धमा बस्ने उनीहरुको तर्क छ । एसले एमाले, माओवादी गबठन्धनलाई सहयोग गरेको खण्डमा सरोज कुमार यादवको सरकार ढल्ने निश्चत छ ।
प्रधानमन्त्री र ओली विरुद्ध खनिए मुख्यमन्त्री यादव
संचारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री यादव प्रधानमन्त्री पुष्पकमल दहाल र एमाले अध्यक्ष संघीयता विरोधी रहेको आरोप लगाए ।
ओली जी संघियता विरोधी रहेको पहिला देखि नै थाहा थियो, मुख्यमन्त्री यादवले भने,‘ प्रचण्ड जि संघियता विरोधी हुन्छ भन्ने थाहा थिएन । आफ्ना सरकार बचाउन संघीयता विरोधीहरुसँग गठबन्धन गरी संघियता पक्षधर पार्टीहरुलाई वाईपास गर्छन् भने हामीले सोचेका थिएनौ ।’