
जनकपुरधाम । यस क्षेत्रका चर्चित जानकी आँखा अस्पताल यतिवेला विवादको केन्द्र विन्दु बन्न पुगेको छ ।
करिव ४० वर्ष पुरानो जानकी आँखा अस्पतालमा नेपालको मात्र नभई भारत विहार राज्यका विरामीहरु पनि उपचारका आउने गरेका छन् । नेपाल रेड क्रस सोसाईटी धनुषाद्वारा संचालित यस अस्पतालमा व्यवस्थापन समिति भित्रैका विवादका कारण पछिल्लो एक सप्ताहदेखि अस्पतालको सेवा प्रभावित रहेको छ । बाहिरबाट उपचारका लागि आउने विरामीहरु उपचार नै नपाई पर्केने गरेका छन् ।
अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष नरेश प्रसाद सिंह र कोषाध्यक्ष धिरेन्द्र मोहन झा बीचको विवाद ठुलो रुप लिएपछि नागरिक समाजले उक्त विवादका अगाडी आएका छन् । पुर्व स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवको नेतृत्वको सर्वदलीय सर्वपक्षिय संघर्ष समिति नै गठन भएको छ । कोषाध्यक्ष झालाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरेश सिंहले अस्पतालमा व्यापक आर्थिक हिनामिना गरेको तथा अस्पतालमा आफुखुसी कर्मचारी राख्ने गरेको भन्दै नागरिक समाजलाई गुहार लगाएपछि संघर्ष समितिले कोषाध्यक्ष झालाई बल मिलेको छ ।
बिहिवार दुवै समुहले छुटाछुट्ट पत्रकार सम्मेलन गरि आफ्नो बचाउ गरेका छन् । संषर्घ समितिले विभिन्न ६ सुत्रिया माग राखि अस्पताल परिषदमै धर्ना दिएको छ । संषर्घ समितिले जानकी आँखा अस्पालका काम गरेका चिकित्सहरुको तबल तथा भत्ता दिनुपर्ने, नेपाल रेडक्रम सोसाईटी धनुषाको सदस्यता खोल्नुपर्ने, अध्यक्ष सिंह र निर्देशक बोहोरालाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।
त्यसैगरि, अस्पतालमा भएको अनियमितताको छाबबिन गर्न समिति गठन हुनुपर्ने, अस्पतलाई रेड क्रस मातहतबाट हटाएर स्वायत संस्था कायम गर्नुपर्ने र अस्पतालको वर्तमान समितिलाई विघटन गरि प्रदेश सरकार मातहत ल्याउनुपर्ने माग गरेको छ ।
समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा कोषाध्यक्ष झाले अध्यक्ष सिंहले लामो समयदेखि अस्पतालको करोडौ रकम अनियमितता गरेको र आफुखुसी कर्मचारी भर्ना गर्ने तथा आफ्नो अनुकुल काम नगर्ने कर्मचारी तथा चिकित्सकलाई हटाउने गरेको आरोप लगाए ।
संघर्ष समितिका संयोजक पुर्व राज्यमन्त्री यादवले अस्पताल कानुनी प्रक्रियाअनुसार सञ्चालन नभइ अस्पतालका अध्यक्ष नरेश सिंहले अपारदर्शी , स्वेच्छाचारी ,नातावाद ,कृपावादका भरमा कर्मचारी नियुक्ति गर्ने तथा हटाउने जस्ता क्रियाकलाप गरी आफ्नो कब्जामा राखेको , रेडक्रस सोसाइटीको सदस्यता वितरणमा मनोमानी गरेका कारण अस्पतालको गौरवमाथि नै प्रश्न चिन्ह खाडा भएकोले आफु संघर्षमा उत्रेको बताए ।
अध्यक्ष सिंहले अस्पतालको आम्दनीबाट ३ करोड़ रुपैयाँ नेपाल रेडक्रस सोसाइटीमा पठाइ केन्द्रलाई आफ्नो प्रभावमा पारी आफू अनुकुल केन्द्रबाट निर्णय गराइ व्यापक भ्रष्टाचार गरेको उनले आरोप लगाए । रेडक्रस सोसाईटीको केन्द्रिय कार्यालयले सहयोग गर्नुपर्ने ठाउँमा अध्यक्ष सिंहले अस्पतालको आम्दनीको पैसा केन्द्रिमा पठाई केन्द्रका पदाधिकारीहरुलाई आफ्नो प्रभावमा पारेर गलत मननरि गर्ने गरेको उनले बताए ।
अस्पतालमा औसत रुपमा ७ सय विरामी आउने गरेका छन्, उनले भने,‘ ति आम्दनीबाट अस्पतालको लागि नयाँ नयाँ उपकरण खरिद तथा दक्ष जनशक्ति भर्ना गर्नुको साट्टो पुरानै मेसिनहरु राखेर नक्कली बिल बनाई मोटो रकम अनियमितता गर्ने गरेको छ । त्यसकारण हामीले अस्पतालमा भएको भष्टाचारको छानबिनको माग गरेका छौ ।’
स्थानीय लक्ष्मण साह कानुले आँखा अस्पतालका लागि दिएको करिव ढेड कठ्ठा जग्गा सभापति सिंहले नै भोगचलन गरिरहेकाको उनले आरोप छ । त्यसैगरि, प्रशासनिक सहायक तह पाँचौमा कार्यरत दीपेन्द्रकुमार सिंहले अस्पतालका मेडिकल डाइरेक्टर डा आशीष बोहरालाई आफ्नो प्रभावमा लिइ बिना निर्णय नियम विपरीत का.मु. प्रशासकीय अधिकृत बनाएको उनले बताए ।
कोषध्यक्षको हस्ताक्षरले चल्ने आर्थिक कारोवार अध्यक्ष सिंहले नियमत विपरित रेड क्रस सोसाईटीको केन्द्रबाट काज सरुवामा केन्द्रका लेखा अिधकृत सचिन राउतलाई आर्थिक प्रशासन चलाउन जिम्मेवारी तोकिएको उनले बताए ।
डा. सन्तोष साह र डा.अमित यादवको अध्यक्ष सिंहको स्वार्थ अनुसार काम नगर्दा लामो समयदेखिको तलब नै रोकिएको उनले बताए ।
यता, अध्यक्ष सिंह र अस्पतालका मेडिकल डाईरेक्टर डा. आशिष बोहराले भने पत्रकार सम्मेलन गरि आफ्नो बचाउ गरेका छन् । आफुमाथि लगाएको आरोप निराधार रहेको दावि गर्दै उनले केहि व्यक्ति अस्पताललाई बदनाम गर्ने नियतले अस्पतालमा यस्तो हर्कत गरेको बताए ।
केहि निजी अस्पताल बालाहरुको उकाहटमा केहि जानकी आँखा अस्पतालको गरिमा घटाउन अस्पताललाई अस्तव्यस्त बनाएको दावि गर्दै उनले भने,‘ अस्पताल धेरै पुरानो छ । जनताको जानकी आँखाको सेवा प्रति विश्वास छ । यस्तोमा अन्य अस्पतालहरुमा विरामी नगएर जानकी मै आउने गरेको देखेर केहि निजी अस्पताल संचालकहरुले केहि चिकित्सक र स्थानीय केहि व्यक्तिलाई प्रयोग गरेर अस्पतालका चिकित्सकहरुलाई कुटपिट गर्ने, धम्काउने जस्ता क्रियाकलाप गरिरहेको छन् ।’
केन्द्र रेडक्रसलाई आफुले पैसा पठाएको स्वीकार गर्दै उनले भने,‘ विगतमा केन्द्र रेडक्रसले हामीलाई आर्थिक सहयोग गरेको थियो । अहिले आएर केन्द्रले सहयोग मागेपछि पैसा पठाईयो हो ।’ विभिन्न स्थानमा अस्पतालको सेवाहरु विस्तार गरेको दावि समेत गरे ।