
जनकपुरधाम । मधेश आन्दोलनका क्रममा आन्दोलनकारीबाट मारिएका सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणको मुद्दामा आज उच्च अदालत जनकपुरधाममा साधक सुनुवाइ हुने भएको छ ।
२८ मंसिर २०८० मा विक हत्या प्रकरणमा लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)का प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको फैसला सुनाइएको थियो । नेकपा एमालेका नेता लक्ष्मी महतो कोइरी र पवन कापडलाई भने जिल्ला अदालत महोत्तरीले सफाइ दिएको थियो ।
महतो महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाबाट निर्वाचित भएका हुन् । सफाइ पाएका महतो र कापडविरुद्ध नेपाल सरकारको तर्फबाट सरकारी वकिलको कार्यालय जनकपुरले ९ वैशाख २०८१ मा उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेको थियो ।
उक्त मुद्दामा ९ जेठ २०८१ मा उच्च अदालत जनकपुरधामका न्यायाधीश बलभद्र बास्तोला र नरवहादुर खड्काको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश गरेको थियो । सोही मुद्दामा २० जेठ २०८१ मा महतो र ३१ जेठ २०८१ मा कापड उच्च अदालत जनकपुरधाममा हाजिर भई सधारण तारेखमा बसेका छन् ।
यता, विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का संसदीय दलका नेता अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वमेयर तथा लोसपाका नेता शंकर शाही भनिने रामशंकर मिश्र, लोसपाका नेता तथा जलेश्वर अस्पताल विकास समितिका पूर्वअध्यक्ष सुरेश पाण्डे, प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर र धर्मेन्द्र रायलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाइएको थियो ।
उनीहरूलाई कर्तव्य ज्यान मुद्दाको ज्यान सम्बन्धी महलको १ र १३ नम्बर कसुर गरेको र सोही महलको कसुर ठहर भई जन्मकैदको फैसला गरिएको थियो । त्यसैगरी, असई विक चढेको एम्बुलेन्समा आगजनी मुद्दामा जन्मकैदको सजाय पाएका सातै जनालाई जनही ६ महिना कैद र क्षतिपूर्तिवापत दामासाहीको हिसाबले १० लाख रुपैयाँ तिर्नुपर्ने जिल्ला अदालतले फैसला सुनाएको थियो ।
जन्मकैदको सजाय पाएका नेता शर्मा, मिश्र, पाण्डेय, धमेन्द्र रायसहितले उच्च अदालत जनकपुरधाममा पुनरावेदन नगरी फरार छन् । उनीहरूले पुनरावेदनको म्याद ७० दिन र थमाउने म्याद ३० दिन गरी एक सय दिन समाप्त भइसक्दा पनि उच्च अदालतमा पुनरावेदन गरेनन् ।
पुनरावेदनको म्याद समाप्त भएपछि उच्च अदालत जनकपुरले सो मुद्दामा साधक सुनुवाइ गर्ने भएको छ । उच्च अदालत जनकपुरधामका अनुसार अदालतले सो मुद्दाको साधक पेसी बुधवार तोकेको छ । जन्मकैद तथा २० वर्ष वा २० वर्षभन्दा माथिको सजाय पाएको मुद्दामा साधक सुनुवाइ गर्ने कानुनी प्रावधान रहेको छ ।
विक हत्या प्रकरणमा साधक बहस हुने भएपछि जन्मकैदको सजाय पाएका परिवारजनहरूले न्याय प्रशासन ऐन २०७३ को दाफा १०(४) बमोजिम उच्च अदालतमा निवेदन दिएका छन् । जन्मकैदका सजाय पाएका नेता अभिराम शर्माका बुवा महेन्द्र शर्मा र पूर्वमेयर मिश्रका पत्नी संगिताकुमारी मिश्रले आफ्ना मान्छे निर्दोष रहेको भन्दै ९ वैशाख २०८१ मा उच्च अदालत जनकपुरधाम निवेदन दर्ता गराएका छन् ।
जन्म कैदका सजाय पाएका सुरेश पाण्डेकी छोरी प्रियंका पाण्डे र धमेन्द्र रायका दाजु अरविन्द कुमार रायले १० वैशाख २०८१ मा समेत उच्च अदालत जनकपुरधाममा निवेदन दिएका थिए । सोही मुद्दामा जन्मकैदको सजाय पाएका प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरका परिवारजनले भने उच्च अदालतमा निवेदन दिएका छैनन् ।
सोही मुद्दामा अभियुक्त भई फरार रहेका रमेशप्रसाद साह, सतेन्द्र चौधरी भन्ने सविन्द्र चौधरी, चन्देश्वर साह मेहत्तरी, राजु चौधरी भन्ने राजा चौधरी, देवेन्द्र चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओम कुमार भगत, रवीन्द्रराम चमार, रंजित साह, विकी साह, फुले यादव, रोहितकुमार शर्मा, ललवा भन्ने लालबाबु बिन, शम्भु साह, अनिल ठाकुर, देवेन्द्र यादव र कौशलकुमार यादवको हकमा मुद्दा जिल्ला अदालत महोत्तरीले मुलतवी राखेको थियो । तर नेता कौशलकुमार यादव गत असारमै सवारी दुर्घटनामा पक्राउ परेपछि जिल्ला अदालत महोत्तरीले थमन विक मुद्दामा पूर्पक्षको लागि थुनामा समेत पठएको थियो ।
विक हत्या प्रकरणमा जन्मकैदका सजाय पाएकाहरूले समयभित्र पुनरावेदन नगर्दा उक्त मुद्दाको साधक सुनुवाइ तोकिएपछि लोसपाका नेताहरू सक्रिय भएका छन् ।