
जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारीले विजयी भएका छन् ।
अध्यक्ष पदमा आफ्ना निकटतम प्रतिद्वन्द्वी मनिष रमण साहलाई ७२ मतले पराजित गर्दै भण्डारीले १ हजार ६ सय ४४ मत ल्याएर जित हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी मनिषले १ हजार ५७२ मत पाएका छन् भने जितेन्द्र प्रसाद साहले २९३ मत प्राप्त गरेका छन् । अध्यक्षमा ६३ वटा मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए ।
त्यसैगरि, संघको बरिष्ठ उपाध्यक्षमा मनोज साह र महिला उपाध्यक्षमा रिंकु साह, महासचिवमा फुल्देव पण्डित, सचिवमा नरेन्द्र विक्रम साह र कोषाध्यक्षमा परमेश्वर साह विजयी भएका छन् । संघको बरिष्ठ उपाध्यक्षमा मनोज साह आफ्ना प्रतिद्वन्द्वी अम्भु प्रसाद साहसँग ६ सय ८५ मतान्तरले विजयी भएका छन् । उनले १ हजार ८ सय ११ मत ल्याएर जीत हात पार्दा उनका प्रतिद्वन्द्वी अम्भु प्रसाद साहले १ हजार १ सय २६ र विकास कुमार चौधरीले ५५० मतमा चित्त बुझाएका छन् । बरिष्ठ उपाध्यक्षमा ८३ वटा मत बदर भएको छ ।
चुनाव अघि नै संघको उपाध्यक्ष पदमा भने लक्ष्मण साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्यस्तै, महिला उपाध्यक्षमा रिंकु साह १ हजार ६७२ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धी माया साहले १ हजार १४४ तथा सरिता ठाकुरले ६ सय ५५ मत पाएकी छन् । आफ्ना प्रतिद्धन्द्धी माला साहलाई ५२८ मतले पराजित गर्दै रिंकु विजयी भएकी छन् । महिला उपाध्यक्षमा ७४ वटा मत बदर भएको निर्वाचन समितिका अध्यक्ष ललित कुमार साहले जानकारी दिए ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा ४ हजार ७६ जना मतदाता थिए । शनिबार भएको मतदानमा ३ हजार ५ सय ७४ मत खसेको थियो ।
जनकपुरधाम उद्योग वाणिज्य संघ यहाँ क्रियाशील राजनीतिक दलहरूको ‘शक्ति परीक्षण’ गर्ने थलो बन्यो । उद्योगी–व्यवसायीहरूको हितमा काम गर्ने छाता संस्था भनिए पनि शुरुवातदेखि नै संघमा राजनीतिक प्रतिस्पर्धा हुँदै आएको छ । उक्त शिलशिला अहिले पनि जारी छ । जसमा यसपटक नेकपा एमालेले आफ्नो दबदबा कायम राख्न सफल भएको छ ।
जउवा संघ व्यापारीहरुको साँझा संगठन भएपनि यसमा कुनै खास समुदायका व्यक्तिले नेतृत्व गर्दै आएका थिए । तर पहिलो पटक बैश्य समाजभन्दा फरक समुदायका व्यक्तिले संघको नेतृत्वको पाएका हुन् । त्यसैगरि, संघको महासचिवमा पनि वैश्य सामुदायभन्दा फरक समुदायक व्यक्तिले जीत हात पारेका छन् । यसले के देखाउँछन भने विगतको जस्तो वर्तमानमा युवाहरु जतीयभन्दा पार्टी तथा आफ्ना अनुकुलका व्यक्तिलाई नेतृत्वको लागि चुनिने गरेका छन् ।