जनकपुरधाम । जनकपुरधामका अर्थशास्त्र विषयमा लामो समयदेखि प्राध्यापन गर्दै आएका उज्ज्वल दाहाल वर्षभरि हुने घरायसी खर्चको एकतिहाइ दसैँमा खर्च हुने गरेको बताउँछन् । उद्योगी–व्यवसायीले दसैँ, तिहार र छठ पर्वसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँनयाँ छुटका कार्यक्रमहरूसहित ग्राहकलाई लोभ्याउने गर्दा पनि खर्च गर्ने क्रम अन्य समयको तुलनामा बढी नै हुने गरेको उनको भनाइ छ ।
साउने सङ्क्रान्तिपछि विस्तारै चाडपर्व सुरु हुन थालेसँगै बजार चलायमान हुने गर्छ । मधेश प्रदेशको राजधानी जनकपुधामलगायत देशका मुख्य सहरका पार्टी प्यालेसले पनि यस अवधिमा राम्रै आम्दानी गर्ने गर्छन् । यतिबेला किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, हल्का पेयपदार्थ, मोबाइल, टेलिभिजन, कपडा धुने मेसिन, फ्रिजलगायत विद्युतीय उपकरणका पसलहरूमा किनमेल गर्नेहरूको भिड अत्यधिक देखिएको छ । वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी देखिएको छ ।
दसैँ, दीपावली र छठ पर्वको व्यापारले वर्षभरिको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्ने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी बताउँछन् । फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेटलगायतका खरिदकर्तालाई दसैँ, तिहारको बेला दिने छुट नै पर्खेर बस्ने बानी लागिसकेको उनको भनाइ छ । अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, सञ्चार सेवाप्रदायक तथा होटल रेस्टुरेन्टले दसैँदेखि छठसम्म छुट र उपहारका विविधि योजना ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजिरहेको हुँदा हरेक बजार मात्र होइन, सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा किनमेलको चाप बढ्दो छ ।
अर्थविद्हरूका अनुसार दसैँ, तिहारअघिका दुई(तीन हप्ताको अवधिमा वर्षभरिको कुल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ । दसैँ(तिहारलाई लक्षित गरी नयाँ सवारीसाधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको अर्थशास्त्रका प्राध्यापक प्रभात घिमिरे बताउँछन् । ुकतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता विकसित भएको देखिन्छ,ु उनी भन्छन् ।
रोजगारी वा अध्ययनका लागि नेपालबाहिर रहेका व्यक्तिहरू पनि दसैँ, तिहार र छठ पर्व मनाउन आ–आफ्नो गाउँघर आउने गर्दछन् । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । सरकारले दसैँको अवसर पारेर आफ्ना कर्मचारीलाई एक महिनाको तलब दिने गर्दछ भने अन्य संघसंस्था, बैंक तथा वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानहरूले पनि कर्मचारी, कामदारलाई केही खर्च दिने हुँदा बजारमा पैसा लेनदेन हुने भएकाले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अर्थशास्त्री डा। सुरेन्द्र लाभको भनाइ छ ।
दसैँ, तिहार र छठ पर्वसम्म बजारमा करिब पाँच अर्बको कारोबार हुने डा। लाभ बताउँछन् । मुलुकमा निजामती, शिक्षक, सेना, प्रहरीलगायत करिब पाँच लाख सरकारी कर्मचारी छन् । प्रतिकर्मचारीको मासिक तलब सरदर ३५ हजारका दरले हिसाब गर्दा एकमुष्ट १७ अर्ब ५० करोड रुपैयाँ हुन्छ । एक महिनाको तलब बराबर दसैँ खर्च पाइन्छ । त्यसैगरी, करिब सवा नौ लाख उद्योग, प्रतिष्ठान, कलकारखाना, साना तथा मझौला व्यवसायमा कार्यरत ३२ लाख कर्मचारी छन् । ती कर्मचारीले सरदर मासिक तलब १५ हजार रुपैयाँका दरले हिसाब गर्दा एकमुष्ट ४८ अर्ब रुपैयाँ हुन्छ । उनीहरूले तलबका अतिरिक्त दसैँ भत्ता मात्रै करिब ६६ अर्ब रुपैयाँ पाउँछन् ।
यसबाहेक व्यापार(व्यवसाय, खेतीपाती गर्नेले पनि दसैँमा राम्रै खर्च गर्छन् । वैदेशिक रोजगारीमा गएकाले दसैँ, तिहार र छठ पर्व मनाउन घरमा पैसा पठाउने गर्छन् । विदेश बस्ने नेपालीले यही समयमा बढी विप्रेषण पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दसैँमा करिब २५ देखि ३० प्रतिशत बढी रकम विप्रेषण आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउन र भदौमा विप्रेषणमार्फत दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष विप्रेषण आप्रवाह १५।२ प्रतिशतले बढेको हो । औसतमा दसैँताका मात्र करिब १०(१५ अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दसैँमा घर फर्किंदा लिएर आउने रकम भने जोडिएको छैन । भारतमा हजारौँको संख्यामा नेपाली कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ ।