LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । लोक आस्था, सामाजिक एकता तथा प्रकृति पूजाको पर्व छठअन्तर्गत आज बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै छ । गएराति खराना सकिएलगत्तै बाँसको डालोमा छठका लागि बनाएका परिकारहरू भुस्वा, टकुवा, लड्डु, केरासहितका सामग्री लिएर श्रद्धालुहरू छठ घाट अर्थात् पोखरी, नदी तथा जलाशय भएको ठाउँमा पुगेका छन् ।

जनकपुरधाममा गंगासागर, अरगजा पोखरी, धनुष सागर, दशरथ तलाउसहितमा गएरातिदेखि नै श्रद्धालुहरू पुगेका छन् भने ग्रामीण क्षेत्रमा आज बिहानैदेखि सर्वसाधारण बाँसको डालोमा विभिन्न सामग्री राखेर छठघाटमा जाँदै छन् । केही दशकअघि तराईमा मनाइने छठ पर्व अहिले राजधानी काठमाडौंलगायत पहाडी क्षेत्रमा पनि फैलिएको छ ।

छठको लोकप्रियता दिनानुदिन बढ्दै गएको बताउँछन् साहित्यकार उपेन्द्रभगत नागवंशी । छठ हिन्दुहरूको भन्ने गरिए पनि हरेक वर्गमा यो लोकप्रिय रहेको उनको भनाइ छ । नागवंशी भन्छन्, ‘हिन्दुहरूको हरेक पर्वहरूमा ईश्वरको साक्षीको रूपमा कुनै न कुनै देवी–देवताको प्रतिकात्मक चित्र कोरेर, प्रतिमा वा मूर्ति बनाएर पूजापाठ गर्ने चलन छ । तर, छठमा त्यस्तो केही हुँदैन । यसमा विशुद्ध रूपमा प्रकृतिको पूजा हुन्छ । त्यसैले विगतमा यो पर्व मुस्लिमसहितका समुदायले पनि मनाउने गर्थे ।’

छठ पर्वका बारेमा विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । यसमा छठीमाता र सूर्य दुवैको पूजा एकसाथ गरिन्छ । षष्ठी शब्द अपभ्रंश हुँदै ‘छठी’ र छठीबाट छठ पर्व भएको जानकारहरू बताउँछन् । छठ पर्वको अवसरमा गरिने षष्ठी देवीको पूजाको सम्बन्धमा पुराणमा पनि वर्णन पाइन्छ ।

छठमा गरिने सूर्यको पूजा रामायणसँग जोडिएको छ । रामले १४ वर्षको वनबासको अवधिमा रावणको वध गरेका थिए । १४ वर्षको वनबासको अवधि पूरा गरेर औँसी तिथिमा अयोध्या फर्केपछि अयोध्यामा दीपावली मनाइएको रामायणमा उल्लेख छ । दीपावलीको आठौँ दिन छठ पूजा गरिन्छ । भगवान् राम अयोध्या फर्केपछि राज्यारोहण गर्नुभन्दा पहिले ब्राह्मण ९रावण० को हत्याको पापबाट मुक्त हुन ऋषिहरूले सूर्यदेवको पूजा गर्न सल्लाह दिएका थिए ।

शुक्ल षष्ठी र सप्तमीमा भगवान् रामले सूर्यदेवको पूजा गरेकाले सोही दिनदेखि छठमा सूर्यको पूजा हुन थालेको विश्वास गरिन्छ । दुई घटना एउटै तिथिमा भएकाले षष्ठी देवी अर्थात् छठी माता र सूर्यदेवको पूजा एकैसाथ हुन थालेको विश्वास गरिन्छ ।

छठ मनाउने महिला वा पुरुष व्रतालुले औँसी तिथि लागेसँगै माछामासु वा मांसहारी भोजन त्याग गर्छन् । तिहारको चौथो दिन नित्य कर्मपछि व्रत बस्नेहरू लसुन, प्याज, उसिना चामलको भातबाहेक शुद्ध शाकाहारी खाना, खीर, दूध, केरा खान्छन् ।

करिब ४० घण्टासम्म भोकै व्रत बसेकाहरूले घण्टौँसम्म पानीमा उभिएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । आज बेलुका अस्ताउँदो र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्वको समापन हुन्छ ।

सम्बन्धित खबर