काठमाडौं ।
नेपाली क्रिकेटको सबैभन्दा प्रतिक्षा गरिएको प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) टी२० फ्रेन्चाइज लिग आज देखि सुरु हुँदैछ ।
एनपीएल–फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।
स्टार स्पोर्ट्सबाट पहिलो पटक प्रत्यक्ष प्रशारण, पहिलो पटक फ्रेन्चाइज लिगमा ८ टिम सहभागि, टीयू मैदानमा विभिन्न खालका सुविधा, करोडौँ लगानी देखि स्टार विदेशी खेलाडीको आगमनले एनपीएले सुरु हुनु अघि नै निकै ठूलो हाइप पाइसकेको छ ।
सहभागि टिम र खेलाडीहरुका साथै लगानीकर्ता अनी क्रिकेटका क्रेजी समर्थकहरु आज देखि हुने एनपीएलका लागि तयार छन् र निकै उत्सहित भएर बसेका छन् । अब त्यो प्रतिक्षाको घडी सकिन केही घण्टा मात्र बाँकी छ ।
आयोजक नेपाल क्रिकेट संघले दुई वर्षअघि नेपाल टी२० लिग गरेपनि त्यसलाई निरन्तरता दिन सकेन र नयाँ शैलीमा एनपीएल आयोजना गर्न लागेको जनाइसकेको छ । क्यानले एनपीएलको पहिलो संस्करण भनेको छ ।
एनपीएलको पहिलो संस्करणको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
त्यसअघि टीयू मैदानमा उद्घाटन समारोह हुने क्यानले जनाएको छ । जसमा केही प्रस्तुती पनि हुने जनाइएको छ ।
विराटनगर किंग्सको कप्तानी लेगस्पीनर सन्दीप लामिछाने र जनकपुरको कप्तानी टप अर्डर ब्याटर अनिल शाहले गर्नेछन्
सन्दीप विराटनगरका मार्की खेलाडी पनि हुन् । जनकपुरको मार्की आसिफ शेख हुन् तर अनिललाई कप्तान चयन गरेको हो । जनकपुरले मात्र मार्की बाहेक फरक खेलाडी कप्तान बनाएको हो ।
उद्घाटन खेलका लागि दुवै टोली तयार रहेको कप्तानले बताएका छन् ।
विराटनगरका कप्तान सन्दीपले टिमले धेरै लगानी गरेको र जितकै लागि खेल्ने बताए । ‘निश्चित रुपमा हामी जितकै लागि खेल्नेछौँ । मैदान उत्रेपछि जसले पनि जित्न नै चाहन्छ ।’
मैदान बाहिर सबै जना राम्रो साथी भएपनि मैदान भित्र राइभलरी हुने र सबैले जितका लागि नै खेल्ने सन्दीपले बताए ।
यस्तै जनकपुरका कप्तान अनिल शाहले पनि बोलेर भन्दा मैदानमै खेलेर देखाउने बताए । ‘हामीले जनकपुर मैदान नभएर काठमाडौंमा आएर मात्र तयारी ग¥यौं, अभ्यास खेलमा पनि राम्रो भयो, विदेशी खेलाडी आएर टिम पनि राम्रो देखिएको छ।’
आईपीएल देखि विश्वका चर्चित सबै लिग खेलेको अनुभव रहेको सन्दीपले एनपीएलका लागि सबै जना उत्सहित रहेको र आफ्नै लिग खेल्ने सपना पूरा भएको बताए । ‘अरु लिग खेलिरहँदा आफ्नै लिग होस् भन्ने चाहना थियो, त्यो पूरा भएको छ । आगामी ३–४ वर्षमा एनपीएल कस्तो हुन्छ त्यसले पूरा नतिजा देखाउने छ । सपना पूरा भएको जस्तो लागेको छ’ उनले भने ।
यसैगरी जनकपुरका कप्तान अनिलले अहिले एनपीएलले माहोलले सबैलाई उत्सहित बनाएको बताए । ‘एनपीएलको हाइपले गर्दा उत्साहित छौं।’
यसैगरी अनिलले मार्की खेलाडी नै कप्तान हुनुपर्ने जरुरी नरहेको र आसिफसँग सल्लाहमै कप्तानको निर्णय भएको बताए । ‘म घरेलु खेलाडीसँग धेरै कुरा गर्ने भएर मलाई दिनुभएको होला, आसिफसँगको सहकार्यमा नै टिमको निर्णयहरु गरिने छ । मार्की नै कप्तान हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण होइन । कप्तान जो भए पनि त्यस्तो केही फरक पर्दैन ।’
अनिलले पहिलो पटक फ्रेन्चाइज लिगको कप्तानी गर्दैछन् । उनले इपीएल, डीपीएल र पीपीएल खेलिसकेका छन् । राष्ट्रिय टिममा पछिल्ला खेलमा आसिफ र अनिलले ओपनिङ गरेका थिए । जनकपुरमा पनि यहि जोडीले ओपनिङ गर्नेछन् ।
संयोगवस दुवै खेलाडी मधेश प्रदेशका हुन् र आफ्नै क्षेत्रलाई प्रतिनिधित्व गरेर खेल्न पाउँदा खुशी छन् ।
सन् २०२२ मा भएको नेपाल टी२० का विजेता लुम्बिनी अल स्टार्सकै व्यवसथ्पनले जनकपुर बोल्ट्सको टिम लिएकोले लुम्बिनी अल स्टार्सको लेगेसी कायम राख्ने लक्ष्यमा छन् ।
त्यस बेला अनिल सहित अल स्टार्सबाट खेलेका ललित राजवंशी र किशोर महतो अनी विदेशी लाहिर अहिले पनि जनकपुरमा सँगै छन् । यस बाहेक जनकपुरमा यू१९ टिमका कप्तान हेमन्त धामी र आकाश त्रिपाठी छन् ।दुवै खेलाडी अहिले यू१९ एसिया कप खेल्ने युएईमा छन् ।
किंग्स र बोल्ट्स दुवै जितसहित लिग सुरु गर्ने लक्ष्यमा छन् ।
दुवै टोद्यीमा विदेशी खेलाडीहरुको राम्रो साथ छ । विराटनगर किंग्समा विश्व चर्चित ब्याटर मार्टिन गप्टिलसहित ओमानका आकिब इल्यास, क्यानडाका निकोलस किर्टोन र स्कटल्याण्डका क्रिस सोल छन् । पहिलो खेलमा यही चार जना खेल्नेछ ।
यस्तै जनकपुरको टिममा न्युजलियाण्डकै अलराउण्डर जिम्मी निसम देखि पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकन लाहिरु मिलान्था र जोसुअ ट्रोम्प, इंग्ल्याण्डका बेन माइक र क्यानडाका अलराउण्डर हर्श थाकेर छन् । निसम र ट्रोम्प बाहेक बाँकी चार खेलाडी नेपाल आइसकेका छन् र पहिलो खेलमा स्पीन अलराउण्डर मोहसिन, टप अर्डर ब्याटर लाहिरु तथा अलराउण्डरद्वय बेन र थाकेर खेल्नेछन् ।
एनपीएलमा हरेक टिमले चार खेलाडी पहिलो रोजाईँमा खेलाउनुपर्नेछ । टिममा भने ६ जना सम्म विदेशी खेलाडी राख्न पाउनेछ । नाम चलेका स्टार विदेशी खेलाडीहरु आउँदा नेपालका युवा खेलाडीहरुका लागि सिक्ने अवसर हुनेछ ।
विराटनगरमा राष्ट्रिय टिमका सन्दीप सहित राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश बम प्रतिश जिसी र बसिर अहमद जस्ता खेलाडी छन् । यस्तै २०१४ को विश्वकप खेलेका जितेन्द्र मुखिया पनि छन् ।
किग्स र बोल्ट्स दुवैमा टप अर्डर स्पीन अट्याक राम्रो देखिएको छ । जनकपुरमा नेपाली ओपनिङ जोडी अनिल र आसिफ छन् । यस्तै लहिरु मिलान्थ मुख्य ब्याटरको रुपमा छन् । तीनै जनाले ओपनिङ र टप अर्डरमा खेल्ने अनी विकेटकिपर समेत हुन् ।
त्यसपछि भने मध्यक्रममा जनकपुरको भर विरेशी खेलाडीमा हुनेछ । पहिलो खेलमा निसम उपलब्ध हुने छैनन् । अमजन बोल्ट्सबाट टि२० लिग खेलिरहेका निसम उता खेल छाडेर एनपीएलका लागि नेपाल आउँदैछन् । पहिलो खेलमा जनकपुरका विदेशी खेलाडीमा लाहिरु मिलान्थासँगै अलराउण्डरहरु मोहसिन, बेन माइक र थाकेरले खेल्नेछन् ।
यस्तै विराटनगरमा मार्टिन गप्टिलसहित ओमानका आकिश इल्यास र नेपालकै लोकेश बम छन् ।
स्पीनतर्फ विराटनगरमा कप्तान सन्दीप लामिछाने सहित स्पीन अलराउण्डर बसिर अहमद, युवा स्पीनरद्वय सुवास भण्डारी र अनिल खरेल छन् । पेस बलिङका स्कटिस क्रिस सोलसहित नेपालका प्रतिशत जिसी र जितेन्द्र मुखिया छन् ।
यसैगरी जनपुरमा ललित राजंवक्कीको नेतृत्वमा रहेको स्पीन अट्याकमा मोहसिन र शेर मल्लको साथ हुनेछ । पेस बलिङमा अष्ट्रेलियाबाट आएका किशोर महतो छन् । उनलाई बलिङ अलराउण्डर बेन माइक र हर्श थाकेरले साथ दिनेछन् ।