जनकपुरधाम । गाडीको ठकरबाट मृत्यु भएका सशस्त्र प्रहरी सई लक्ष्मण यादवको घटनालाई लिएर आज मधेश प्रदेशका सुरक्षा निकाय बीच गहन छलफल भएको छ ।
सिरहा जिल्लामा कार्यरत सशस्त्र प्रहरी सई लक्ष्मण यादवको आईतवार विहान बरियारपट्टी गाउँपालिका–१ कचनारी बोर्डर नजिक गाडीको ठकरबाट मृत्यु भएको थियो । सई यादवलाई कुन गाडीले ठोके ? वा घटना कसरी भयो ?खुल्न नसक्न सुरक्षा निकायले यो विषयलाई गम्भिरता पुर्वक लिदै आज मधेश प्रदेशका गृह कानुन तथा संचारमन्त्री राजकुमार लेखीको अध्यक्षतामा सोमवार नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश स्तरीय सुरक्षा समितिको वैठक बसेको थियो । वैठकमा मृतक सई यादवको मृत्यु विषयमा अनुसन्धान गर्न छलफल भएको छ ।
त्यसैगरि, वैठक प्रदेशमा आयोजना भएको दुई ठुलो मेला जनकपुरको रामजानकी विवाहपञ्चमी महोत्सव र बाराको गढीमाईमा लागेको मेलाको सुरक्षाको विषयमा समेत छलफल भएको छ ।
पाँच वर्षको अन्तरालमा बाराको गढी माईमा ठूलो धार्मिक मेला लाग्नुका साथै जनकपुरधाममा भारतको अयोध्याबाट श्रीसीतराम विवाह पञ्चमी महोत्सवमा सहभागी हुनका लागि पाँच सयको सङ्ख्यामा विशिष्ट व्यक्तिहरू सहित जन्ती आउने र लाखौँ व्यक्तिहरू मेलामा सहभागी हुने कार्यक्रम रहेको छ ।
बैठकमा दुवै मेला तथा महोत्सवमा आउने भक्तजन तथा आगन्तुकहरूको सुरक्षा सुनिश्चितता गर्ने, जोखिम क्षेत्रको पहिचान गरेर त्यसै अनुसारको सुरक्षा व्यवस्था मिलाउने, मेलामा हुने भिडको व्यवस्थापन, चोरी र दुर्घटनाको विषयमा बृहत् छलफल भएको मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ ।
बैठकमा विगतको अनुभवहरूको विषयमा समीक्षा गर्नुका साथै मेलाको व्यवस्थापनका लागि कार्ययोजना तथा जिम्मेवारी निर्धारण गर्ने, मेला तथा महोत्सवको व्यवस्थापनका लागि प्रमुख कर्मचारी टोलीहरूलाई जिम्मेवारी दिने जस्ता विषयमा छलफल भएको छ ।
सुरक्षा व्यवस्था योजना, ट्राफिक व्यवस्थापन, भीड व्यवस्थापनका साथै मेलामा सिसिटिभी क्यामराको व्यवस्थापन, ड्रोन निगरानी, गस्ती तालिका, वाकी टकीज, मोबाइल कमाण्ड इकाईहरू, समन्वय बैठकहरू व्यवस्थापन विषयमा बृहत् छलफल भएको गृह कानुन तथा संचार मन्त्रालयका सुचना अघिकारी टेकविक्रम शाहले जानकारी दिए ।
मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीको अध्यक्षतामा भएको बैठकमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाल, मध्य पृतना हेड क्वाटर बर्दिबासका उपरथी सुदर्शन सिलवाल, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया, मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणि अर्चाय, सशस्त्र प्रहरीका नायव महानिरीक्षक कालीदास धौवजी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक माधव तिमिलसिना, धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीसहितको सहभागिता रहेको थियो ।