LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । राष्ट्रिय सभाका ४ सिटका लागि मधेश प्रदेशबाट ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस–एमाले गठबन्धन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराएका हुन्।

राष्ट्रिय सभाको अन्य क्लस्टर अन्तर्गत लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। उनका प्रतिद्वन्द्वीका रूपमा नेकपाका तर्फबाट लक्ष्मण पौडेल उम्मेदवार बनेका छन्। उक्त क्लस्टरमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालले लोसपाका ठाकुरलाई समर्थन गर्ने सहमति गरेका छन्।

ठाकुरको उम्मेदवारीमा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता जयनुल राइन प्रस्तावक र मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी समर्थक रहेका थिए।

यसैगरी, जसपा नेपालबाट मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसपा नेपालबाट अल्पसंख्यक कोटामा शैलेश चौधरी, महिला कोटामा चन्द्रकला देवी साह र दलित कोटामा चमेली देवी दास उम्मेदवार बनेका छन्। कांग्रेस–एमाले गठबन्धनबाट दलित कोटामा कांग्रेसका अमरेन्द्र पासवान, अल्पसंख्यक कोटामा कांग्रेसका रञ्जित कर्ण र महिला कोटामा एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट दलित कोटामा शम्भु पासवान, अल्पसंख्यक कोटामा रामनन्दन प्रसाद र मधेशी कोटामा समी कुमारी अग्रवाल उम्मेदवार बनेका छन्। राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, एमाले, जसपा नेपाल र लोसपाबीच सहकार्य भए पनि जसपा नेपालले तीन र लोसपाले एक सिटमा उम्मेदवारी दर्ता गराएका छन्। जबकि १३ पुसमा जसपा नेपाल र लोसपाबीच पार्टी एकीकरण भइसकेको छ। यद्यपि, जसपा नेपालले महन्थ ठाकुरको क्लस्टरमा उम्मेदवारी दर्ता गराएको छैन।
कांग्रेस, एमाले, जसपा नेपाल र लोसपाबीचको सहकार्यमा दरार

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सहकार्य गर्ने सहमतिमा जसपा नेपालको उम्मेदवारीले दरार सिर्जना गरेको छ।
कांग्रेस र एमालेले लोसपालाई एक सिट दिने सहमति जनाए पनि लोसपासँग एकीकरण प्रक्रियामा रहेको जसपा नेपालले तीन सिटमा उम्मेदवारी दर्ता गराएपछि राष्ट्रिय सभा निर्वाचनका लागि यी दलहरूबीच भएको सहकार्य कमजोर बन्ने सम्भावना बढेको छ।
जसपा नेपालका सचिव शैलेन्द्र कुमार साहले कांग्रेस, एमाले, जसपा नेपाल र लोसपाबीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सहमति भए पनि सिट बाँडफाँटको विषय टुंगो नलागेकाले तत्काल उम्मेदवार खडा गरिएको बताए।


उनले मधेशका चार सिटमध्ये कांग्रेस, एमाले, जसपा नेपाल र लोसपालाई एक–एक सिट दिनुपर्ने अडान रहेको उल्लेख गर्दै भने, ‘कांग्रेस र एमाले अहिलेसम्म यसमा सहमत हुन नसक्दा जसपा नेपालले महन्थ ठाकुर बाहेकका सिटमा उम्मेदवारी दिएको हो।’
सचिव साहका अनुसार जसपा नेपालले दुई सिटको माग गरेको छ। “महन्थ ठाकुरको सिटमा सबै दल सहमत छन्, तर अन्य क्लस्टरमा सहमति नजुट्दा अहिले उम्मेदवारी दर्ता गरिएको हो,’ उनले भने, ‘अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमालेसँग छलफल गरेपछि टुंगो लगाएर उम्मेदवारी फिर्ता लिइनेछ।’

यता, नेकपा एमालेका मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज यादवले कांग्रेस, एमाले र लोसपाबीच सहकार्य रहेको दाबी गरे। उनले भने, ‘लोसपासँग हाम्रो सहकार्य भएको छ। जसपा नेपाल लोसपासँग एकीकरण प्रक्रियामा रहेर मात्र आएको हो।’ उनले मधेशमा कांग्रेस र एमाले मिलेको खण्डमा सबै सिटका लागि बहुमत पुग्ने दाबी समेत गरे।

सम्बन्धित खबर