LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेश अन्तर्गतका आठवटै जिल्लाका जिल्ला सभापतिहरूले पार्टी विधानविपरीत हुने कुनै पनि महाधिवेशन वा विशेष महाधिवेशनमा सहभागी नहुन सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आग्रह गरेका छन् ।

आठै जिल्लाका सभापतिहरूले आ–आफ्ना जिल्लाका पार्टी लेटरप्याडमा अलग–अलग प्रेस विज्ञप्ति जारी गर्दै पार्टी विधानविपरीत हुने गतिविधिमा सहभागिता जनाउन नहुने स्पष्ट पारेका हुन् । विज्ञप्तिमा पार्टी विधानअनुसार ‘महाधिवेशन’ वा ‘विशेष महाधिवेशन’ बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको उल्लेख गरिएको छ ।

कुनै पनि पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा महाधिवेशन वा विशेष महाधिवेशनको नाममा कार्यक्रम वा गतिविधि सञ्चालन गर्नु विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरिएको छ । विज्ञप्तिमा जिल्ला, प्रतिनिधिसभा क्षेत्र, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्र, पालिका, वडा तथा टोल तहका समिति, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई पार्टीको निर्णय, नीति र अनुशासनको पालना गर्न आह्वान गरिएको छ ।

यसैगरी, मिति २०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य तथा २०८२ फागुन २ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका आधिकारिक उम्मेदवारहरूलाई विजयी गराउन एकताबद्ध र सशक्त रूपमा अभियानमा जुट्न सबै नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई आग्रह गरिएको छ ।

संयुक्त विज्ञप्तिमा महोत्तरी जिल्ला सभापति नागेश्वर प्रसाद यादव, सप्तरी जिल्ला सभापति रामदेव साह, सर्लाही जिल्ला सभापति डा. सरोज कुमार यादव, बारा जिल्ला सभापति राजेश राय यादव, सिराहा जिल्ला सभापति रामचन्द्र यादव, रौतहट जिल्ला सभापति सुनिल कुमार यादव, पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री तथा धनुषा जिल्ला सभापति योगेन्द्र पञ्जियारले हस्ताक्षर गरेका छन् । विज्ञप्तिको अन्त्यमा पार्टीको हित, प्रतिष्ठा र संगठन सुदृढीकरणका लागि अनुशासन, एकता र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै ‘जय नेपाल’ भनिएको छ । पार्टी विधानअनुसार एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर २५ जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ । सोही आधारमा मधेस प्रदेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट करिब ८ सय महाधिवेशन प्रतिनिधि रहेका छन् ।

पार्टी संस्थापन पक्षको दबाबका कारण मधेस प्रदेशका कुनै पनि जिल्लाका सभापति महाधिवेशनको पक्षमा खुलेर नआएको बताइन्छ । तर महाधिवेशनको पक्षमा रहेका नेताहरूले मधेसका ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको दाबी गरेका छन् ।

सप्तरी जिल्ला सभापति रामदेव साहले जारी गरेको एक प्रेस विज्ञप्तिमा पार्टी विधानविपरीत हुने महाधिवेशनमा सहभागी नहुन जिल्लाका सबै महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । तर महाधिवेशनको पक्षमा रहेको समूहले जारी गरेको विज्ञप्तिमा पनि उनको हस्ताक्षर देखिएको छ । यसले उनी पक्ष वा विपक्षमा रहेको विषयमा अन्योल सिर्जना गरेको छ । यस सम्बन्धमा सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ रहेको बताइएको छ ।

महाधिवेशनको पक्षमा रहेका नेताहरूले मधेस प्रदेशबाट कुल ८ सयमध्ये ४ सय २० जना प्रतिनिधिले समर्थनमा हस्ताक्षर गरेको दाबी गरेका छन् । उनीहरूका अनुसार सप्तरीमा ४०, सिरहामा ५५, धनुषामा २५, महोत्तरीमा ५३, सर्लाहीमा ७१, रौतहटमा ७०, बारामा ७२ र पर्सामा ३४ जना विशेष महाधिवेशनको पक्षमा छन् । नेपाली कांग्रेस महोत्तरीका जिल्ला सभापति नागेश्वर यादवले मधेसका आठवटै जिल्लाका सभापति पार्टीको निर्णय र विधानसँगै रहेको दावि गरेका छन् ।

सम्बन्धित खबर