जनकपुरधाम ।ऐलानी जग्गा अतिक्रमण गरी सतलोक आश्रम ९रामपाल आश्रम० निर्माण गरिएको आरोपसँगै सुरु भएको विवाद उग्र बन्दा शनिबार जनकपुर–ढल्केवर सडक खण्ड तनावग्रस्त बनेको थियो।
धनुषाको मिथिला नगरपालिका–२ मा रहेको उक्त आश्रमलाई लिएर स्थानीय बासिन्दा र आश्रम पक्षबीच झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएको हो। स्थानीयका अनुसार ऐलानी जग्गा कब्जा गरी आश्रम निर्माण गरिएको भन्दै लामो समयदेखि विरोध हुँदै आएको थियो।

शनिबार विरोध प्रदर्शनका लागि आश्रम पुगेका स्थानीयमाथि आश्रमभित्रबाट आक्रमण भएपछि अवस्था थप तनावपूर्ण बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ। जसअन्तर्गत नेपाल प्रहरीले ७ र सशस्त्र प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता एवम् डीएसपी गणेश बमले जानकारी दिए।
झडपमा एक प्रहरीसहित ९ जना घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। प्रवक्ता बमका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ।
प्रहरीले अश्रुग्यास प्रहार गरेपछि दुवै पक्षका प्रदर्शनकारी तितरबितर भएपछि ठप्प रहेको यातायात सुचारु भएको उनले बताए ।






