जनकपुरधाम । निर्वाचन आयोगले जारी गरेको चुनावी आचारसंहिता छल्न मधेश प्रदेशमा स्वतन्त्र उम्मेदवारीको नामा अत्यधिक ‘डमी’ उम्मेदवार खडा गरिएको पाइएको छ । जनकपुधाम स्थित मधेश प्रदेश निर्वाचन कार्यालयकाका अनुसार प्रदेशभरिमा १ हजार ४८ उम्मेदवारमध्ये ५ सय ६४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यसरी कुल उम्मेदवारको आघिभन्दा बढी संख्या स्वतन्त्र उम्मेदवारको रहेको देखिन्छ ।
धनुषामा एक सय ५८ जना उम्मेदवारी दिदाँ १ सय ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सबभन्दा बढी धनुषा जिल्लामा डमी उम्मेदवार खडा गरिएको छ । भने सबैभन्दा कम सप्तरी जिल्लामा ४२ जनाले मात्र स्वतन्त्र उम्मेदवारी दिएका छन्। सप्तरीमा कुल उम्मेदवार १०५ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी सिरहामा ८५, बारामा ४७, पर्सामा ४७, रौतहटमा ७८, सर्लाहीमा ७२ र महोत्तरीमा ८७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यि जिल्लाहरुमा क्रमश १३९,११२,१०९, १४३, १३३ र १४३ जनाले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिनेहरूमा कुनै दलका विद्रोहीभन्दा पनि एउटै दलका धेरै उम्मेदवार रहेको देखिन्छ। यस्ता स्वतन्त्र उम्मेदवारहरूले मतदानको केही दिनअघि मात्र सम्बन्धित दलका उम्मेदवारलाई समर्थन जनाउने गरेका छन्। पार्टीगत उम्मेदवारसरह नै स्वतन्त्र उम्मेदवारले पनि निर्वाचनका विभिन्न सुविधा पाउने भएकाले प्रतिस्पर्धी उम्मेदवारहरूले ती सुविधा उपभोग गर्ने गरेका छन्। अधिकांश अवस्थामा प्रतिस्पर्धी उम्मेदवारहरूले नै स्वतन्त्र उम्मेदवार खडा गर्ने गरेको पाइन्छ।
स्वतन्त्र उम्मेदवार खडा गरेर सवारी साधन, मतदानको दिन बुथ प्रतिनिधि तथा मतगणनाका प्रतिनिधिको संख्या बढाई आचारसंहिता छल्न पार्टीहरुकै उम्मेदवारहरुले यस्तो डमीको रुपमा स्वतन्त्र उम्मेदवार खडा गर्ने चलन गरेको जानकारहरुको भनाई छ । राजनीतिक विशलेषक राकेश मिश्राले भने,‘“स्वतन्त्र उम्मेदवारी दिनेहरूमध्ये अधिकांश प्रतिस्पर्धी दलका सहयोगी हुन्छन्। चुनावमा उनीहरुलाई सहयोग गर्न उठेका हुन्छ । नत यतिका उम्मेदवार खडा भएपनि बागि उम्मेदवार रुपमा किन देखिदैनन् ?’
विगतका चुनावमा पनि अधिकांश स्वतन्त्र उम्मेदवारले दोहोरो अंकको मतसमेत ल्याउन नसकेको तथ्यांक छ । कतिपय उम्मेदवारको चुनाव चिह्नमा १० भन्दा कम मतसमेत परेको थियो।
उम्मेदवारको संख्या धेरै देखिए पनि मधेशका ३२ वटा निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा सीमित उम्मेदवारबीच मात्र हुने देखिएको छ। कतिपय क्षेत्रमा अघिल्लो चुनावका विजेता र उपविजेताबीच नै प्रतिस्पर्धा हुने सम्भावना छ।
स्रोतका अनुसार स्वतन्त्र उम्मेदवार खडा गर्नेमा एमाले अगाडि देखिएको छ। प्रतिस्पर्धामा रहेका एमाले उम्मेदवारहरूले अन्य दलको तुलनामा बढी डमी उम्मेदवार खडा गरेको बताइन्छ। निर्वाचन अधिकृतहरूका अनुसार स्वतन्त्र उम्मेदवारले पनि दलगत उम्मेदवारसरह नै सुविधा पाउने व्यवस्था छ। कानुनले सबै उम्मेदवारलाई समान अधिकार दिएकोले निर्वाचन कार्यालयको यसमा भूमिका नरहने जनाइएको छ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सबै उम्मेदवारका लागि समान रूपमा लागू हुने र उल्लंघन गरे कारबाही हुने व्यवस्था रहेको निर्वाचन अधिकृतहरूले बताएका छन्। आचारसंहिताको अनुगमनका लागि विभिन्न पर्यवेक्षण टोली, प्रहरी तथा निर्वाचन कार्यालय सक्रिय रहने जनाइएको छ।
निर्वाचन आयोगमा हाल १ सय ३७ राजनीतिक दल दर्ता छन्, जसमध्ये केही यसैपटक मात्र दर्ता भएका हुन्। देशभरमध्ये मधेश प्रदेशमा स्वतन्त्र उम्मेदवारको संख्या सबैभन्दा बढी रहेको छ। दलगत उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारले प्रचार गरेको दृश्य सामान्य बन्दै गएको छ।
स्वतन्त्र उम्मेदवारको नाममा पाउने सुविधा प्रतिस्पर्धी उम्मेदवारहरूले प्रयोग गर्ने भएकाले आचारसंहिता उल्लंघन भएको स्पष्ट प्रमाण फेला पार्न कठिन हुने उनको भनाई छ ।






