जनकपुरधाम । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका एक मतदान अधिकृतको मंगलबार निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहटको माधव नारायण नगरपालिका–६ निवासी ४२ वर्षीय रघुनाथ महतोको मृत्यु भएको हो। उनी सिनियर अहेबका रूपमा कार्यरत थिए र निर्वाचन ड्युटीका लागि उक्त मतदान केन्द्रमा खटिएका थिए ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार मंगलबार दिउँसो करिब २ बजे मतदान केन्द्रमै महतो अचानक बेहोस भएका थिए। त्यसपछि उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। अस्पताल पु¥याएको करिब आधा घण्टापछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

महतो सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबका रूपमा कार्यरत थिए। उनको निधनबारे अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको जनाएको छ ।
घटना भएको जिगडवा आधारभूत विद्यालय मतदान केन्द्र जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट करिब १० किलोमिटर पूर्वमा पर्छ । मृत्युको यकिन कारण खुल्न बाँकी रहेको र पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने चिकित्सकहरूले बताएका छन् । पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको छ ।






