जनकपुरधाम । धनुषा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएसँगै चुनावी समीकरण एकाएक फेरिएको छ । ‘परिवर्तन’को नारा लिएर मैदानमा उत्रिएका साह बाहिरिएपछि अब परिवर्तनको मत कसतर्फ मोडिन्छ भन्ने प्रश्न चुनावी बहसको केन्द्रमा आएको छ ।

निर्वाचनसम्बन्धी कानुनी प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाको कालो सूचीमा नाम रहेकाले साहको उम्मेदवारी खारेज गरिएको हो । साह अबको रणनीतिबारे पार्टीसँग छलफल गरिरहेका छन् । उनी कानुनी परामर्शसमेत लिइरहेका छन् ।

उम्मेदवारी खारेजसँगै रास्वपाको ‘घण्टी’ चिह्नमा केन्द्रित मत अब अन्य दलतर्फ सर्न सक्ने आकलन सुरु भएको छ । रास्वपाको उम्मेदवारी खारेज भएपछि त्यसको फाइदा कांग्रेसका उम्मेदवार रामपल्टन साह, नेकपाका मातृका यादव, एमालेका उम्मेदवार रामचन्द्र मण्डल र जसपा नेपालका दीपक कार्कीसहितले उठाउन सक्छन् ।

कांग्रेसका उम्मेदवार रामपल्टन साह आफूलाई मुख्य प्रतिस्पर्धीमध्ये एक्लो ‘नयाँ अनुहार’का रूपमा प्रस्तुत गरिरहेका छन् । रास्वपाको उम्मेदवारी खारेजपछि कंग्रेसले ‘परिवर्तन’को एजेन्डा आफ्नो पक्षमा तान्ने रणनीति बनाएको छ । कांग्रेस आफैँ परिवर्तन भएको पार्टी भएकोले रास्वपामा जाने मत अब कांग्रेसमै आउने स्थानीय नेताहरूको दाबी छ । ुजसले रास्वपाको घण्टीमा भोट हाल्ने सोच बनाएका थिए, उनीहरू अब विकल्प खोज्दा कांग्रेसतर्फ आउन सक्छन्,’ कांग्रेसका एक नेताले भने ।

कांग्रेसका साह भ्रष्टाचार नियन्त्रण, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण र मधेशका मुद्दालाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा छन् । स्थानीय तहको २०७९ सालको मतपरिणाम हेर्दा ४४ वडामध्ये १५ वडा र चार पालिकामा नेतृत्व जितेको कांग्रेस यहाँ संगठनात्मक रूपमा बलियो देखिन्छ ।

२०७९ को निर्वाचनमा २१ हजार ४८३ मत प्राप्त गरेका नेकपाका यादव यसपटक ‘उपलब्धि रक्षा’को नारासहित मैदानमा छन् । उनका अनुसार वर्तमान राजनीतिक परिस्थिति अस्थिर भएकाले मतदाताले स्थिरता रोज्नेछन् । शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धतासहित उनी विगतको गठबन्धन इमानदार नभएकै कारण आफू पराजित भएको दाबी गर्छन् । यसपटक परिणाम आफ्नो पक्षमा आउने उनको विश्वास छ ।

यता एमालेका रामचन्द्र मण्डल प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर संघतर्फ उम्मेदवार बनेका छन् । प्रदेशमा दुई कार्यकालको अनुभवलाई उनले संघीय नीति निर्माणमा उपयोग गर्ने दाबी गरेका छन् ।

रास्वपाका किशोरी साह २०७४ मा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । २०७९ सालमा जनमत पार्टीबाट प्रतिनिधिसभा लडेका उनी यसपटक रास्वपाबाट मैदानमा थिए । दल परिवर्तनका कारण उनी चर्चामा रहे पनि अन्ततः उम्मेदवारी नै खारेज भएपछि समीकरणमा ठूलो फेरबदल आएको छ ।

धनुषा– १ मा १ लाख २६ हजार ४० मतदाता छन् । ८५ मतदानस्थल र १६३ मतदानकेन्द्र तोकिएका छन् । ४२ उम्मेदवार मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा केही परिचित अनुहारबीच सीमित छ ।

सम्बन्धित खबर