राजनीतिकभन्दा व्यक्तिगतजस्तो इगोबाट उठ्दै नेपाली कांग्रेसका सभापति गगन थापाले सबैभन्दा ठूलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा शुभकामना सन्देश दिने भएका छन् । केही वर्षयता रास्वपाका सभापति रवि लामिछानेसँग सौहार्द सम्बन्ध नभइरहेको बेला उनैको निमन्त्रणमा थापा शुभकामना सन्देश दिन चितवन जान लागेका हुन् ।
नेपाली राजनीतिमा जति नै कटुता भए पनि यस्ता अवसरमा मञ्च शेयर गर्ने पुरानो अभ्यास हो । तर, पुराना दलविरुद्ध नै फरक भाष्य बनाएर आएको रास्वपाको राजनीति अलग देखिएको छ । यद्यपि, देशकै पुरानो प्रजातान्त्रिक र ठूलो पार्टी कांग्रेसका सभापति थापाले यसपटक फरक निर्णय लिएका हुन् ।

अघिल्लो चुनाव, संसदीय राजनीति, रास्वपा सभापति लामिछानेमाथि लागेका सहकारी ठगी प्रकरणमा थापाले संसदको रोस्ट्रमबाट गम्भीर प्रश्न उठाएका थिए । संसदीय छानबिन समिति गठन गरी सहकारी प्रकरणमा छानबिन गर्नुपर्ने मागलाई थापाले निकै जोडतोडले उठाएका थिए ।
सहकारीको विषयले लामिछानेमाथि अदालतमा मुद्दा पनि अघि बढ्यो । तर, गत भदौ २३ र २४ को जेन–जी विद्रोह, गत २१ फागुनको निर्वाचनपछि मुलुकको राजनीतिक चित्र अलग छ । पुराना दल कांग्रेस, एमाले र नेकपा अस्वाभाविक रूपमा साना भएका छन् । रास्वपा झण्डै दुईतिहाइ मतसहित पहिलो दल भएको छ ।
रास्वपाको यही बलियो उपस्थितिपछि हुन लागेको महाधिवेशनमा थापा सम्बोधनका लागि जान तयार भएका हुन् । चितवन जानुअघि उनले आइतबार बिहान रास्वपालाई शुभकामना पनि दिए ।
‘प्रिय रवि लामिछानेजी, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी तथा रास्वपा परिवार, हार्दिक शुभकामना १’ भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा रविसहित सम्पूर्ण रास्वपा परिवारलाई शुभकामना दिएका थिए । पार्टी स्थापनाको छोटो समयमै पाएको अवसर भन्दै उनले रास्वपाको प्रशंसा पनि गरेका थिए ।
‘पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ । तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ,’ थापाले भनेका थिए, ‘यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो ।’
शुभकामना दिँदै गर्दा उनले जवाफदेही र उत्तरदायी बन्न पनि सुझाएका छन् ।
‘यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी बनाउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु,’ उनले सन्देशमा भनेका छन्, ‘तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु।’







